नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन्।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए।
‘समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ। समझदारीबाट अरुनै हुन पनि सक्छ,’ प्रचण्डले भने।
गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको पनि उनले बताए। ‘गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ।’
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताए।
गठबन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उनले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने बताए।
आफूहरु गठबन्धनमा भएको भन्दै उनले गठबन्धन कायम रहने प्रचण्डले बताए। ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन।’ उनले भने।
आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताए। ‘तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन।’
निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको उनले बताए।
अध्यक्ष दाहालले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पारे। ‘जिम्मेवारी आयो भने लिने काम हुन्छ।’
राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल गरेका छैनौँ भने। त्यो अहिले सम्भव पनि नरहेको उनको भनाइ थियो।
नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए।
नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताए। ‘औपचारीक र आधिकारिक रुपमा कुरा भएको छैन।’ सरकारले ल्याएको अध्यादेशको विषयमा उनले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताए।
नेपाल सरकारले विगत कालमा मधेश केन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रक्रिया मात्रै भएको उनले बताए।
विसं २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताए। समानुपातिकमा केही घटेको तर नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको उनले बताए। सङ्घमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उहाँले यसको समीक्षासमेत भइरहेको बताए।
‘यो समीक्षाबाट पार्टीलाई अझ बलियो बनाउन अवसर आएको हामीले ठानेका छौँ’, उनले भने, ‘माओवादी केन्द्र एकदमै कमजोर भयो भन्ने भन्न खोजिएको छ। त्यो सत्य होइन।’
Shares

प्रतिक्रिया