नेपालस्थित कार्यवाहक चिनियाँ राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी सफलताका लागि बधाई र शुभकामना दिए। उनले अबका दिनमा राप्रपा कसरी अघि बढ्छ भन्ने चासो राखेको स्रोतले जनाएको छ।
घुमाउरो हिसाबले वाङले नयाँ सरकारमा राप्रपाको सहभागिता हुने वा नहुनेबारे चासो राखेका थिए।
राप्रपाले हालै सम्पन्न चुनावमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेर प्रतिनिधिसभामा पाँचौ शक्ति बनेको छ। राप्रपाले सरकारमा जाने वा नजाने विषयमा स्पष्ट बताएको छैन।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले चिनियाँ कूटनीतिज्ञ र अध्यक्ष लिङदेनबीच शिष्टाचार भेट भएको बताए।
भेटमा अध्यक्ष लिङदेन र नेताद्वय ध्रुवबहादुर प्रधान र भुवन पाठक सहभागी थिए।
भेटवार्ता बिहीबार साँझ भएको हो।
Shares
प्रतिक्रिया