ad ad

राजनीति


कांग्रेस संसदीय दलमा ‘नम्बर गेम’ : संस्थापन इतरबाट शेखर कि गगन?

कांग्रेस संसदीय दलमा ‘नम्बर गेम’ : संस्थापन इतरबाट शेखर कि गगन?

केशव सावद
पुस १, २०७९ शुक्रबार २१:४५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर प्रतिनिधि सभा निर्वाचनमा होमिए। उनी चिरपरिचित प्रतिद्वन्द्वी नेकपा एमाले नेता डा. राजन भट्टराईलाई झण्डै साढे ७ हजार मतअन्तरले हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी भए।

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ। आयोगले निर्वाचनको अन्तिम परिणामबारे उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि औपचारिक रुपमै जानकारी गराइसकेको छ। 

संविधानले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था बमोजिम अब राष्ट्रपतिबाट केही दिनमा दलहरुलाई सरकार गठनका लागि आह्वान हुने छ। 

निर्वाचनबाट कुनै पनि दलको सुविधाजनक बहुमत नआए पनि प्रधानमन्त्री देउवा सत्ता गठबन्धनमा रहेका दलसँगै निर्वाचनबाट उदाएका अन्य दुई दल (जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी) मिलाएर सरकार गठन गर्ने तयारीमा देखिएका छन्। 

उनी आफू छैटौंपल्ट प्रधानमन्त्री बनेर शासन सम्हाल्नका लागि संसदीय दलको नेताका लागि आन्तरिक तयारी गरिरहेका छन्। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि सोमबार आह्वान गर्ने तयारी छ। राष्ट्रपति भण्डारीबाट नयाँ सरकार गठनका लागि आह्वान हुने दिन नजिकिँदै जाँदा पनि कांग्रेसको संस्थापन इतर समूहले भने पार्टी संसदीय दलको नेताका लागि उम्मेदवार टुंग्याउन सकेको छैन।

यद्यपी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त हुनका लागि संसदीय दलको नेता हुन अनिवार्य छैन।

निर्वाचन अगावै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका महामन्त्री थापा र समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला दुवैले दलको नेतामा आकांक्षा राखेपछि इतर समूहलाई उम्मेदवार टुंग्याउन सकस परेको हो। इतर समूहका नेताहरु दलको नेताका लागि सभापति देउवाविरुद्ध डा. कोइराला र महामन्त्री थापामध्ये कुनै एक जनालाई अघि सार्न प्रयासरत छन्। 

इतर समूहनिकट समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यसमेत रहेका सहमहामन्त्री जीवन परियार दलको नेताका लागि कसलाई अघि सार्ने भन्ने विषयमा छलफल जारी रहेको बताउँछन्। उनका अनुसार डा. कोइराला र महामन्त्री थापामध्ये कुनै एक जना दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिने छन्। 

‘दलको नेतामा कसले उम्मेदवारी दिने भन्नेबारेमा टुंगो लागिसकेको छैन। हामी छलफलमै छौं,’ सहमहामन्त्री परियारले नेपालखबरसँग भने, ‘शेखर डाक्टरसाप र गगनजीमध्ये कुनै एक जना उम्मेदवार बन्नुहुन्छ। अहिले नै को उम्मेदवार बन्नु हुन्छ भन्ने अवस्था बनिसकेको छैन।’

इतर समूहका अर्का एक केन्द्रीय सदस्य पनि दलको नेताका लागि नेता कोइराला र महामन्त्री थापाबीच सहमतिको प्रयास जारी रहेको बताउँछन्। 

‘गगन थापाले चुनावअघि नै आफू भावी प्रधानमन्त्री हो भनेर भोट मागिसक्नुभएको छ। शेखर दाइ पनि दलको नेताको तयारीमा हुनुहुन्छ,’ ती केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘दुवै जनाले चाहना राख्नुभएको छ। कुनै एक जना लड्नु पर्छ भनेर हामी प्रयास गरिरहेका छौं।’

यद्यपि, ती केन्द्रीय सदस्यका अनुसार नेता कोइरालाले निककवर्ती नेता–कार्यकर्ता सामु दलको नेताका लागि प्रतिस्पर्धा गर्नेबारे मुख खोलिसकेका छैनन्।

‘शेखर दाइले मुखै त खोल्नुभएको छैन। तर, उहाँमा इच्छा देखिएको अनुमान त गर्न सकिहालिन्छ नि,’ उनले भने। 

भावी प्रधानमन्त्रीबारे कोइरालाले पछिल्लो समय दिएका अभिव्यक्तिहरुबाट पनि उनी आफैँ संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गर्न इच्छुक देखिन्छन्। प्रतिनिधि सभा निर्वाचन जितेर काठमाडौं फर्किनुअघि गृहनगर विराटनगरमा उनले दलको नेताका सन्दर्भमा अंकगणित स्मरण गरेका थिए।

‘प्रधानमन्त्री हुन कसैले चाहँदैमा मात्रै हुँदैन। संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ। पहिले संसदीय दलको नेता हुनुपर्यो नि। यसबारे अहिलेसम्म कुरा भएको छैन,’ कोइरालाले महामन्त्री थापालाई इंगित गर्दै भनेका थिए, ‘पहिले त यसमा हामी कुरा गर्छौं। त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निर्क्यौल हुन्छ। दलको नेता हुन मुख्य नम्बर गेम नै हो। हामीले कोसिस गर्ने हो नम्बर पुर्याउन। नम्बर गेम लिन प्रयास गर्ने हो, तर नम्बर पुगेन भने शिथिल भएर बस्ने होइन।’

काठमाडौं फर्किएर महामन्त्री थापासँग छलफल भइसक्दा पनि उनी आफ्नो पुरानो अडानमा यथावत देखिन्छन्। उनले दलको नेतामा थापालाई सघाउने वा आफू नै चुनावी प्रतिस्पर्धामा उत्रिने भन्नेबारे मुख खोलेका छैनन्। 

महामन्त्री थापानिकट एक केन्द्रीय सदस्यले पनि इतर समूहबाट दलको नेतामा कसले प्रतिस्पर्धा गर्ने भन्नेबारेमा टुंगो नलागेको पुष्टि गरे। 

‘महामन्त्रीले चुनावअघि नै लड्ने घोषणा गर्नुभएको हो। उहाँ ब्याक हुने अवस्था छैन भनिरहनुभएको छ,’ ती नेताले भने, ‘फेरि आजबाट शेखर डाक्टरसापको कुरो पनि थप बलियो रुपमा आएको छ। उहाँ (कोइराला) विराटनगर जानुभएको छ। फर्किएपछि छलफल होला।’

पार्टीमा पनि भएको छैन छलफल
नेपाली कांग्रेसमा संसदीय दलको निर्वाचनका विषयमा अहिलेसम्म औपचारिक छलफलले प्रवेश पाएको छैन। संस्थापन र इतर समूहले दलको नेताका लागि आन्तरिक तयारी तीव्र पारे पनि निर्वाचनबारे औपचारिक छलफल भएको छैन। 

कांग्रेस सहमहामन्त्री परियारले दलको निर्वाचनका बारेमा अनौपचारिक रुपमा छलफल भए पनि औपचारिक रुपमा कुनै छलफल नभएको प्रतिक्रिया दिए। उनले पुस ३ गतेपछि मात्रै दलको नेता चयन प्रक्रिया सुरु हुन सक्ने बताए। 

‘निर्वाचन आयोगले ३ गते प्रमाण पत्र दिएपछि दलको नेता चयन प्रक्रिया सुरु होला,’ परियारले भने, ‘अहिलेसम्म यसबारेमा औपचारिक रुपमा कुनै छलफल भएको छैन।’

आयोगले प्रतिनिधि सभामा समानुपातिकतर्फ चुनिएका सदस्यहरुलाई पुस ३ गते प्रमाण पत्र दिँदैछ। समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढ्ने परियारको भनाइ छ। 

सभापति देउवाका कानुनविज्ञ केशवराज जोशीले पनि संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा छलफल सुरु भइनसकेको बताए। उनले राष्ट्रपति भण्डारीले सरकार बनाउने आह्वान पहिला गरे छिट्टै दलको नेता चयन हुने र पहिला प्रतिनिधि सभा बैठक बोलाए ढिलो गरी चयन हुने बताए। 

‘दलको नेता चयनका विषयमा छलफल सुरु भइसकेको छैन। राष्ट्रपतिबाट विगतमा जस्तै दलहरुलाई सरकार गठनको आह्वान भए चाँडो होला,’ जोशीले नेपालखबरसँग भने, ‘प्रतिनिधि सभा बैठक बोलाइए ढिलो गरी दलको नेता चयन हुन्छ। शपथ खाइसकेपछि दलको चुनाव गर्दा राम्रो हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .