नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले रेशम चौधरी र जनयुद्धकालिन मुद्धालाई अध्यादेशबाट नभई राजनीतिक रुपमा रिहा हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्दै सापकोटाले अफताव आलम र रेशम चौधरीलाई एटै बास्केटमा राख्नु ‘अपराध’ भनेका छन्।
‘अध्यादेशको अप्रिय बाटोबाट होइन, जनयुद्दकालिन मुद्दा र रेशम चौधरीलाई राजनीतिक रुपमा रिहा गर्नुपर्छ,’ सापकोटाले भनेका छन्, ‘यी मुद्दा कानुनी र अपराधिक होइनन्, राजनीतिक हुन्। अफताव आलम र चौधरीलाई एउटै बास्केटमा राख्नु अर्को अपराध हो।’
वाइसिएल नेपालका पूर्व अध्यक्ष समेत रहेका सापकोटाले राजनीतिक स्वार्थ अनुसार राजनीतिक मुद्धालाई अपराधिक र अपराधिकलाई राजनीतिक बनाउन नहुने टिप्पणी गरेका छन्।
‘चौधरी अपराधिक हुने भए, ०१७ मा कांग्रेसले बन्दुक बोकेको ‘अपराध’ र झापामा सामन्तको टाउको गिडेको ‘अपराध’ को दण्ड ककसले लिने?,’ उनले भनेका छन्, ‘माओवादी जनयुद्दको त भनिरहन र खोजिरहनै परेन। हामी राजनीतिक स्वार्थअनुसार राजनीतिक मुद्दालाई अपराधिक र अपराधिकलाई राजनीतिक नबनाऔं।’
Shares

प्रतिक्रिया