राजनीति


कमल थापाको सुझाव :  च्याँखे थाप्नेलाई छाडेर कांग्रेस र एमालेको सरकार बनाऊ

कमल थापाको सुझाव :  च्याँखे थाप्नेलाई छाडेर कांग्रेस र एमालेको सरकार बनाऊ

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०७९ बुधबार १९:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मंसिर ४ को निर्वाचनपछि पहिलो र दोस्रो बनेका नेपाली कांग्रेस र नेकपा एमालेलाई मिलेर नयाँ सरकार बनाउन सुझाव दिएका छन्। 

मकवानपुर १ बाट पराजित भएपछि पहिलो पटक राजनीतिक धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने क्रममा उनले दुई ठूला पार्टीलाई यस्तो सुझाव दिएका हुन्। 

'जसरी संविधान निर्माणका बेला देशका दुई प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त सरकार बनाएर महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गरेका थिए', उनले भनेका छन्, 'अहिले फेरि एकपटक संविधानको रक्षाका निमित्त, संविधानको भावनाअनुसार राज्य सञ्चालनको आधार, मुलुकमा शान्ति र स्थायित्व कायम गर्न तथा र आर्थिक सम्वृद्धिको लक्ष्य हासिल गर्न कांग्रेस र एमालेले मिलेर, दिगो समझदारी कायम गरि पाँच वर्ष संयुक्त सरकार सञ्चालन गर्नु देश र जनताको हितमा हुनेछ।'

उनले अपवित्र गठबन्धन बनाएर वा लोभलालच र प्रलोभनको आधारमा सांसदहरुलाई आफ्नो पक्षमा पारेर देशले भोग्नु परेको संकट समाधान नहुने पनि बताएका छन्। 'च्याँखे थापेर स्वार्थसिद्ध गर्न चाहने अवसरवादीहरुलाई निरुत्साहित गर्नु जरुरी छ', उनले भनेका छन्। 

अहिले देश संकटमा रहेको पनि उनले बताएका छन्। 'राष्ट्रियता कमजोर भएको छ, बाह्य शक्तिहरुको चलखेल र प्रभाव बढेको छ, नेपाल अन्तर्राष्ट्रिय महासक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत हुने सम्भावना टडकारो देखिन्छ', उनले भनेका छन्, 'दलहरुप्रति आमजनताको वितृष्णा बढेको छ, लोकतन्त्र संस्थागत हुन सकेको छैन। भ्रष्टाचार व्यापक भएको छ, बेरोजगारीले विकराल रुप लिएको छ। अर्थतन्त्र धराशायी हुने खतरा बढेको छ। धर्म परिवर्तनको डढेलोमा राष्ट्रिय पहिचान गुम्ने अवस्था सिर्जना हुँदैछ। यस्तो अवस्थामा देशलाई संकटबाट मुक्त गर्न दलहरुले नै इमान्दार प्रयास गर्नुबाहेक अर्को विकल्प छैन।'

उनले  कांग्रेस र एमालेको संयुक्त सरकार बनेको अवस्थामा युवाहरुको नवोदित दलहरुले पनि प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने र भविष्यमा राष्ट्रको नेतृत्व लिने अनुभव हासिल गर्न सक्ने तर्क गरेका छन्।

'के कांग्रेस र एमालेले यो समयको माग र राष्ट्रिय दायित्व निर्वाह गर्ने आँट गर्न सक्छन्? मलाई विश्वास त लागेको छैन', उनले भनेका छन्, 'चुनावमा खर्चपानी दिने र गठबन्धन निर्माणमा सहयोगी भूमिका खेल्ने देशीविदेशी शक्तिहरुले नेपालको भलो हुने, नेपालमा शान्ति र स्थायित्व कायम हुने काम गर्न दिन्छन् जस्तो लाग्दैन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .