ad ad

राजनीति


समाजवादीको निष्कर्ष : थ्रेस होल्ड कट्छ, यही गठबन्धनको सरकार बन्छ

समाजवादीको निष्कर्ष : थ्रेस होल्ड कट्छ, यही गठबन्धनको सरकार बन्छ

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १५:४७, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अहिलेकै गठबन्धनको सरकार बन्ने निष्कर्ष निकालेको छ।

४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा गठबन्धन बहुमतको नजिक पुगेको छ।

तर, नेकपा एमालेलेसमेत सरकार बनाउने प्रयासमा लागिसकेको छ।

एकीकृत समाजवादीले एमालेसहितको सरकारका लागि अहिले परिस्थिति नबनेको विश्लेषण गर्दै अहिलेकै पाँच दलीय गठबन्धनको सम्भावना बलियो रहेको जनाएको हो।

 चुनावी समीक्षा गर्न मंगलबार आलोकनगरमा बसेको सचिवालय बैठकमा अध्यक्ष नेपालले यसबारेमा ब्रिफिङ गरेका थिए।

‘प्रारम्भिक रुपमा गठबन्धनलाई कायम राख्ने गरी जनमत आएको छ, त्यसैले गठबन्धनकै सरकार बन्छ,’ एकजना सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘अर्को ढंगले जाने परिस्थिति पाकेकै छैन।’

आफ्नो पार्टीले समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएर थ्रेस होल्ड कटाउने समाजवादीको विश्लेषण छ। त्यसबेला गठबन्धनलाई आवश्यक बहुमत संख्या पुग्ने उसको ठम्याई छ।

एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० क्षेत्र जितेको छ। समानुपातिकतर्फ ९८ लाख ८ हजार मत गणना हुँदा २ लाख ७७ हजार मत पाएको छ। 

यदि थ्रेस होल्ड कटाएको अवस्थामा समाजवादीको ३ सांसद समानुपातिक तर्फबाट पाउनेछ।

‘हामीले सुरुदेखिको मत परिणाम नियालिरहेका छौँ, थ्रेस होल्ड पार गरेर राष्ट्रिय दल बन्छौं,’ उपाध्यक्ष प्रमेश हमालले भने, ‘तर, पछिल्लो पटक मत सोचेजस्तो भइरहेको छैन। हामीले सोचेजस्तो मत देखिएन, अब विभिन्न क्षेत्रमा प्राप्त मत र आयोगमा प्रविष्ट भएको मत रुजु गर्न सुझाव दिन्छौँ।’

सचिवालय बैठकमा नेताहरुले विभिन्न जिल्ला र प्रदेशका चुनावी परिणामबारे आफ्ना अनुभव र पाठबारे जानकारी गराएका थिए।

त्यसक्रममा चुनावमा गठबन्धनका अन्य घटकबाट मत ट्रान्सफर भए पनि सोचेजति नभएको बताएका थिए।

‘जुन रुपमा मत ट्रान्सफरको अपेक्षा गरेका थियौं, त्यसो भएन, हामीले केही क्षेत्र त्यसकै कारण हारेको देखिएको छ,’  उपाध्यक्ष हमालले थपे। 

बैठकले चुनावमा सहयोग गर्ने गठबन्धन दल लगायत सबैलाई धन्यवाद दिएको छ। 

‘आजको बैठकमा चुनावको प्रारम्भिक समीक्षा भयो। प्राप्त तथ्यांकबारेमा जानकारी लियौँ,’ सम्मानित नेता झलनाथ खनालले भने, ‘गठबन्धन बहुमत नजिक पुगेको छ, अन्तिम परिणाम आएपछि यसैले सरकार बनाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .