ad ad

राजनीति


तनहुँ छाड्न बाध्य भए, ‘टुरिस्ट’ को आरोप झेल्दै एमालेका ‘सेकेन्डम्यान’ लाई हराए

तनहुँ छाड्न बाध्य भए, ‘टुरिस्ट’ को आरोप झेल्दै एमालेका ‘सेकेन्डम्यान’ लाई हराए

केशव सावद
मंसिर ६, २०७९ मंगलबार २२:३२, काठमाडौँ

प्रदीप पौडेल आफ्नो जन्मस्थान तनहुँ–२ बाटै चुनाव लड्न चाहन्थे। र, त्यसैको तयारी गरिरहेका थिए। तनहुँ–२ मा उनका लागि अनुकूल वातावरण थियो। तैपनि उनलाई त्यो ठाउँ छाड्न बाध्य पारियो।

उनलाई तनहुँ छाड्न बाध्य पार्न प्रमुख भूमिका निर्वाह गरेका थिए– वरिष्ठ नेता रामचन्द्र पौडेलले। रामचन्द्रले आफू तनहुँ–१ मा सुरक्षित हुन क्षेत्रीय कार्यसमितिबाट सिफारिस नै नभएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ–२ मा टिकट दिलाउन नेतृत्वसँग ‘लबिइङ’ गरेका थिए। 

प्रतिनिधि सभा र प्रदेश सभाको टिकट बाँडफाँटमा संलग्न एक नेताले तत्कालीन समयमा नेपालखबरसँगको कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलको हस्तक्षेपका कारण प्रदीप गृहजिल्ला तनहुँ छाड्न बाध्य हुनु परेको बताएका थिए। 

‘तनहुँ–२ मा प्रदीपजीको परिस्थिति अनुकूल र चाहना हुँदाहुँदै पनि जिल्ला छाड्न बाध्य पारियो,’ तनहुँ–२ को टिकट भण्डारीलाई दिइएपछि ती नेताले भनेका थिए, ‘यसमा रामचन्द्र दाइले आफू सुरक्षित हुन क्षेत्रीय समितिबाट सिफारिस नै नभएका शंकर भण्डारीलाई टिकट दिलाउन लबिइङ गर्नुभयो।’

ती नेताले तनहुँको टिकट बाँडफाँटका क्रममा  सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अगाडि पौडेलले वरिष्ठ नेता पौडेलप्रति चर्काे असन्तुष्टि व्यक्त गरेको पनि बताएका थिए।

यद्यपि, त्यसअघि भने उनलाई  सभापति देउवा र वरिष्ठ नेता पौडेलले तनहुँ–२ बाट प्रतिनिधि सभा सदस्यका लागि टिकट दिने आश्वासन दिएका थिए। तर, पछि दुवै शीर्ष नेतृत्वले प्रदीपलाई काठमाडौं–५ का लागि टिकट दिएर पठाएका थिए। 

उम्मेदवारी मनोनयनकै दिन अर्थात् गत असोज २३ गते नै उनलाई पार्टीले काठमाडौं–५ का लागि प्रतिनिधि सभामा टिकट दिएर पठाएको थियो। बिरानो भूगोलमा आएर मनोनयन दर्ता गरेसँगै उनलाई कमजोर पार्न विपक्षीहरुले प्रदीप ‘टुरिस्ट’ उम्मेदवार भएको नारा लगाए। 

तर, राजनीतिमा अनेक हण्डर खाँदै आएका प्रदीप विपक्षीको प्रचारबाजीलाई चिर्दै काठमाडौं–५ मा नेकपा एमालेका दोस्रो वरीयताका नेता (वरिष्ठ उपाध्यक्ष) ईश्वर पोखरेललाई पराजित गरेका छन्।

निर्वाचन आयोगका अनुसार उनी पोखरेललाई ५ हजार ६५ मतअन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो। जसमध्ये प्रदीपले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन्। 

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पोखरेलले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए। २३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। तेस्रो भएको विवेकशील साझाका उम्मेदवार स्व. उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।

२०७४ मा सम्पन्न निर्वाचनमा प्रदीप तनहुँ–२ ‘क’ मा मात्र ५ मतले प्रदेश सभा सदस्यमा पराजित भएका थिए। नेकपा माओवादी केन्द्रकी नेतृ आशा कोइराला १६ हजार ६४६ मतसहित प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए।

२०३१ साल चैत १ गते तनहुँको शुक्लागण्डकी–८ मा जन्मिएका प्रदीप पौडेल काठमाडौंको बानियाँटार (जाल्पाचोक) का स्थायी बासिन्दा हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका पौडेलले अस्कल क्याम्पसबाट बीएस्सी र सिद्धार्थ वनस्थली इन्स्टिच्युट, बालाजुबाट एसएलसी पास गरेका थिए। 

२०६७ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका प्रदीप अहिले तेस्रो कार्यकाल पनि केन्द्रीय सदस्य छन्। उनी १४ औँ महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका उम्मेदवार थिए। प्रदीप २०६४ मा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए। नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५३ मा अस्कल क्याम्पसको स्ववियु सभापति भएका थिए। 

प्रदीपले २०४६ सालको जनआन्दोलनमा सिद्धार्थ वनस्थली इन्स्टिच्युट हुँदै उपत्यकाका स्कुले विद्यार्थीको नेतृत्व गरेका थिए। २०५९–०६२ सम्म संयुक्त विद्यार्थी आन्दोलनका संयोजक रहेका बेला उनलाई राजद्रोहको मुद्दा लगाइएको थियो। प्रदीपले संविधान निर्माणका क्रममा भएका ढिलाइको विरोधमा दबाब दिन मेची–महाकाली अभियानको नेतृत्वसमेत गरेका थिए। 

उनले २०७२ मा विनाशकारी भूकम्प प्रभावित क्षेत्र र जिल्लामा १ हजार ७ सयभन्दा बढी अस्थायी घर एवं पक्की विद्यालय भवन निर्माणका साथै तत्काल राहत र उद्धारमा युवा परिचालन गरेका थिए। 

कोभिड संक्रमितलाई रगतको सहजताको लागि प्रदीपले प्लाज्मा एप निर्माणसमेत गरेका थिए। कोभिड महामारीको बेलामा ३०० बेडभन्दा बढी क्षमताको आइसोलेसन सेन्टर निर्माण तथा अत्यावश्यक उपकरण र औषधि आदि वितरण गरेका थिए। 

गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा उनी प्रधानमन्त्री शेरबहादुर देउवाको टिमबाट महामन्त्रीका उम्मेदवार थिए। महाधिवेशनमा प्रधानमन्त्री देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेपछि उनलाई महामन्त्रीको उम्मेदवार बनाइएको थियो। 

देउवाले आफ्नो समूहका चार जना आकांक्षीलाई छाडेर सिटौलानिकट प्रदीपलाई महामन्त्रीको उम्मेदवार बनाएका थिए। देउवाको टिमबाट हालका पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पनि महामन्त्रीका उम्मेदवार थिए। तर, उनीहरु पराजित भएका थिए।

महाधिवेशनमा गगन थापा ३ हजार २३ र विश्वप्रकाश शर्मा १ हजार ९८४ मत ल्याएर महामन्त्रीमा विजयी भएका थिए। थापा शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार थिए। 

कोइराला समूहकै अर्का उम्मेदवार डा. मिनेन्द्र रिजाल, विमलेन्द्र निधि प्यानलका उम्मेदवार राजाराम कार्की पनि थापा र शर्मा महामन्त्रीमा विजयी हुँदा पराजित हुुनुपरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .