ad ad

राजनीति


मतदान बहिष्कार गर्न भाषण गर्दै विप्लवका नेता, धमाधम भोट हाल्दै थवाङ्गी जनता

मतदान बहिष्कार गर्न भाषण गर्दै विप्लवका नेता, धमाधम भोट हाल्दै थवाङ्गी जनता

थवाङमा मतदान बहिष्कार गर्न आग्रह गर्दै विप्लव समूहका नेता जयप्रकाश रोका। तस्बिर : गोविन सहयात्री


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:३३, काठमाडौँ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहिष्कार आह्वानका बाबजुद रोल्पाको थवाङ्गमा विस्तारै मतदाताहरु लाइनमा लाग्न थालेका छन्। 

मतदान सुरु भएको एक घण्टाभित्र निकै कम खसे पनि दिउँसो लाग्दै गर्दा थवाङ्गी मतदाताहरु मतदानस्थल पुग्न थालेका हुन्। 

विप्लव नेतृत्वको नेकपाको प्रभाव रहेको थवाङ्गमा मतदान बहिष्कार अभियानलाई सफल पार्न सो पार्टीका नेता जयप्रकाश रोका (प्रताप) खटिएका छन्। थवाङ्ग घर भएका रोका नेकपा प्रतिबन्धित हुँदा सो पार्टीको रोल्पा जिल्ला सेक्रेटरी थिए। 

नेकपामाथिको प्रतिबन्ध लागेका बेला पक्राउसमेत परेका उनले २ वर्ष जेलमा बिताएका थिए। सो पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि उनी रिहा भएका हुन्। 

मतदानस्थलमा रहेका पत्रका गोविन सहयात्रीका अनुसार, थवाङ्ग– २ वडा कार्यालय नजिकै रहेको मतदानस्थलमा पुगेका मतदाताहरुलाई नेकपा नेता रोकाले भाषणमार्फत बहिष्कार गर्न आह्वान गरिरहेका छन्।

‘वास्तविक हतियार भन्दा वैचारिक हतियार बलियो हुन्छ भन्ने उहाँको भनाइ छ’ सहयात्रीले भने, ‘त्यसैले, आफूहरु भौतिक बहिस्कार भन्दा बैचारिक बहिस्कारको पक्षमा रहेको उहाँले बताउनुभएको छ।’  

नेता रोकाले आफू वैचारिक बहिष्कारको पक्षमा रहे पनि देशभर विप्लव नेकपाले ‘भौतिक बहिष्कार’ नै गरिरहेको छ। यसक्रममा ठाउँठाउँमा विप्लवका कार्यकर्ताहरुले बम विस्फोटसमेत गराएका छन्। 

विप्लव समूहको प्रभाव रहेको मूल थवाङ्गको वडा नं २ मा बिहान ८ बजेसम्म जम्मा ६ मत खसेको थियो। एक घण्टाभित्र त्यति कम मत खसे पनि बिहान साढे ९ बजेसम्म २ नं वडामा ९० मत खसे भने १ नं वडामा ९६ मत खसेका थिए।

‘बिहानको तुलनामा अहिले धेरै खसे पनि मतदाता संख्याको तुलनामा यो पनि कम मत खसेको हो’, उनले भने, ‘किनभने, थवाङ्ग– १ मा १ हजार ५ सय ७७ र थवाङ– २ मा १ हजार ३ सय १४ मतदाता छन्।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिस्कार गरे पनि विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ता भने स्थानीय तह निर्वाचन– २०७९ मा सहभागी थिए। थवाङ गाउँपालिकामा एमाले र नेपाली कांग्रेससँग विप्लव समूहले गठबन्धन गरेको थियो। 

तर, कांग्रेस–एमालेसँगको गठबन्धनका बाबजुद विप्लव समूहले थवाङ्गमा विजय हासिल गर्न सकेन। २०७४ को स्थानीय तह निर्वाचनमा उसले विजय हासिल गरेको थवाङ्ग– १ मा समेत उसले २०७९ को स्थानीय तह निर्वाचनमा पराजय भोग्नुपर्यो। 

यसपटकको आम निर्वाचनमा भने रोल्पामा माओवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ। तालमेल अनुसार प्रतिनिधि सभामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार छन्।

रोल्पा– १ मा भने माओवादी केन्द्रका जोखबहादुर महरा र रोल्पा–  २ मा नेपाली कांग्रेसका अमरसिंह पुन गठबन्धनबाट उम्मेदवार बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .