ad ad

राजनीति


चुनाव प्रचारमा हेलिकप्टरको प्रयोगबारे गम्भीर बन्न गृह मन्त्रालयलाई आयोगको निर्देशन

भौतिक उपस्थितिमा आचारसंहिता उल्लंघन कम, सामाजिक सञ्जालमा बढी
चुनाव प्रचारमा हेलिकप्टरको प्रयोगबारे गम्भीर बन्न गृह मन्त्रालयलाई आयोगको निर्देशन

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १६:७, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन्। 

आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताए।

उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए।

उनले निर्वाचन आचारसंहितामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए।

उनले भने, ‘गृहको सन्दर्भमा हेलिकप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो। अरु कामका लागि हेलिकप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला। तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए। हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि। यो त गम्भीर हो। यसमा हामी भोलि एक्शनमा जानुपर्छ। एक्शनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपी साबतिर तेर्सिने हो की? डिएसपी साबतिर तेर्सिने हो की ? हेर्ने काम त उहाँहरुको हो। त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो। त्यसको ठूलो उजुरी आइरहेको छ। यस्ता कुरामा गम्भीर बनिदिनुहोस्।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहिता बढेको बताए।

उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहिताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए।

उनले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहिता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .