नेपाली कांग्रेसका नेता तथा काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले अभिनेत्री सुहाना थापासँग मत मागेका छन्।
बिजुली बजार हाइटमा घरदैलोका क्रममा अभिनेत्री थापासँग नेता सिंहले मंसिर ४ मा हुने निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका हुन्।
जवाफमा अभिनेत्री थापाले विजयको शुभकामना दिँदै सिंहको जितका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताएकी छन्।
सुहाना अभिनेत्री झरना र निर्माता सुनिलकुमार थापाकी छोरी हुन्। नेता सिंहले अभिनेत्री सुहानाका बुवा सुनिलकुमारसँग पनि मत मागेका थिए।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ– १ मा ‘ह्याट्रिक’ गर्दै चुनाव जितेका थिए। उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराएका थिए।
मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो।
नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।
Shares
प्रतिक्रिया