राजनीति


भोट नदिने मतदातालाई पिट्ने एमाले उम्मेदवारको धम्की, आयोगले सोध्यो स्पष्टीकरण

भोट नदिने मतदातालाई पिट्ने एमाले उम्मेदवारको धम्की, आयोगले सोध्यो स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार २१:२४, काठमाडौँ

महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी महतोले आफूलाई भोट नदिए चुनावपछि देखाइदिने भन्दै मतदातालाई धम्की दिएका छन्।

गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा अन्तर्वार्ता दिने क्रममा उनले आफूलाई भोट नदिने मतदातालाई पिटिदिनेसम्मको धम्की दिएका थिए।

उनले यो धम्की एफएमबाट दिएको उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

उनलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को (थ) मा ‘निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने’ व्यवस्था रहेको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो। 

आयोगले महतोलाई स्थानीय रेडियोमार्फत मतदातालाई लक्षित गरी धम्कीपूर्ण भाषा बोलेकोमा स्पष्टीकरण सोधिएको जनाएको छ। 

के भनेका थिए? 
महतोले गौशालास्थित रेडियो जुनतारामा मैथिली भाषामा दिएको अन्तरवार्तामा भोट नदिनेलाई पिटिदिने पनि चेतावनी दिएका थिए।

'अहिले चुनावका कारण धेरै दम राखेको छु । चुनावपछि देखाइदिन्छु । हारे पनि के हुन्छ, म सबैलाई तह लगाइदिन्छु, चाहे त्यो जुनसुकै कार्य क्षेत्रको होस् । कुरा बुझ्नुभो नि, तपाईंले भोट दिनुहुन्न मलाई के फरक पर्छ, यहाँ त मेरै सरकार छ । त्यस्तो मान्छेलाई पिट्दिन भने के खुट्टा ढोगौँ। खुट्टा ढोगेर काम लाग्छ', उनले मैथिलीमा धम्की दिँदै भनेका थिए,'मलाई मत नदिनुस् तर मैले केही दिन पहिले नै गौशाला बजारमा नगरपालिका र प्रहरीलाई भन्दा म आफैँ गएर एकाध थप्पड पिटेँ। मैले चुनावका कारण धेरै धैर्य राखेको छु। चुनावपछि देखाइदिन्छु।'

महतो जनता समाजवादी पार्टी नेपाल (जसपा) मा टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए।

प्रवेश गरेलगत्तै एमालेका सचिव रघुवीर महासेठले उनलाई टिकट दिएर महोत्तरी–१ बाट उम्मेदवार बनाएका थिए। जसपाबाट उम्मेदवार बन्न अन्तिम समयसम्म तयारी गरेका महतो एमाले प्रवेश गरेर चुनावी मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad