राजनीति


सुटुक्क नेपाल आएर फर्किए रुसका उपविदेशमन्त्री

सुटुक्क नेपाल आएर फर्किए रुसका उपविदेशमन्त्री

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १६:४४, काठमाडौँ

रुसका उपविदेशमन्त्री अलेक्जेण्डर पानकिन एक साता नेपाल बसेर फर्किएका छन्। 

कुटनीतिक स्रोतका अनुसार अलेक्जेण्डर उनकी पत्नीका साथ अक्टोबर ३१ मा नेपाल आएका थिए। उनी निजी भ्रमणमा आएर गतसाता नयाँ दिल्लीतर्फ लागेका हुन्। 

‘उनी विशुद्ध व्यक्तिगत भ्रमणमा नेपाल आएका थिए। त्यसैले यहाँ उनले कुनै राजनीतिक भेटघाट गरेनन्’ काठमाडौंस्थित रुसी दूतावासका एक अधिकारीले नेपालखबरसँग भने। 

नेपाल बसाईमा रुसका उपविदेशमन्त्री अलेक्जेण्डर र उनकी पत्नी पोखरा र लुम्बिनी पुगे। परराष्ट्र मन्त्रालयका अधिकारीहरुले चाहीँ उनको भ्रमणबारे अनविज्ञता दर्शाए। ‘एक साताअघि उनी आएको हामीले पनि सुनेका हौँ। तर उनको भ्रमणको सहजीकरण हामीले गरेका होइनौँ’ मन्त्रालयका एक अधिकारीले भने। 

उपविदेशमन्त्री अलेक्जेण्डर रुसका वरिष्ठ कुटनीतिज्ञ हुन्। सन् २०१७ यता रुसको विदेश मन्त्रालयमा उपविदेशमन्त्री रहेका अलेक्जेण्डर दक्षिण एसिया मामिलाका जानकार मानिन्छन्। उनी सन् १९८५ मा रुसको विदेश मन्त्रालयमा प्रवेश गरेका थिए। 

रुसले युक्रेनमा सैन्य हमला गरेको एकवर्ष पुग्नै लाग्दा त्यहाँका उपविदेशमन्त्री नेपाल र भारतको गोप्य यात्रामा आएका हुन्। एकवर्ष यता संयुक्त राष्ट्रसंघीय मंचमा भएका अधिकांश मतदानमा नेपाल रुसको विपक्षमा उभियो भने भारत तटस्थ रह्यो।

भारतले युक्रेन—रुस संकटमा रुसको पक्षमा खुला रुपमा उभ्याएको छैन। तर घुमाउरो रुपमा उसले लिएका नीतिले रुसलाई सहज बनाएको छ। नेपाल चाहीँ रुसले युक्रेनमा गरेको सैन्य हमलाको विपक्षमा छ। 

रुसी कलाकार समूह नेपालमा 
रुसी कलाकारको एक समूह नेपाल भ्रमणमा आएको छ। उक्त समूहले आगामी शुक्रबार आर्मि अफिसर्स क्लवमा रुसी नाच ‘ओब्राज’ देखाउने कार्यक्रम छ। 

रुसका ६ पर्यवेक्षक चुनावमा आउने 
मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनमा रुसका ६ जना पर्यवेक्षक सहभागी हुने भएका छन्। स्रोतका अनुसार उनीहरु नोभेम्बर १६ का दिन नेपाल आउने तय भएको छ।

युरोपेली युनियन लगायत विभिन्न संस्थाले नेपालमा पर्यवेक्षक खटाउनेछन्। तर अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको संस्था कार्टर सेन्टर यसपाली पर्यवेक्षणमा नआउने सरकारी अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .