नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन्।
आफू सांसद भएमात्रै कांग्रेसभित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाई थियो।
पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्याए।
त्यसका लागि काठमाडौं क्षेत्र नम्बर ४ का अगुवाहरुले आफूलाई जिताउनका लागि बाँकी समय लागिदिनुपर्ने महामन्त्री थापाको अनुरोध थियो।
महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा निर्वाचन लड्न पाउने भएकाले त्यसका लागि आफूलाई निर्वाचित गराउन सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे। उनले आफूलाई सांसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीतिलाई पूरै सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
थापाले भने, ‘सब जनाले ठूल्ठूलो बदलाव ल्याउने भन्नु भएको छ। एउटा संसदीय राजनीतिक पद्धति छ। त्यो पद्धतिबाट निर्वाचन क्षेत्रबाट सांसद जितेर जान्छ। कोही प्रधानमन्त्री निर्वाचित हुने होइन। यहाँ त सांसद निर्वाचित भएर जाने हो। अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ। अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दावी गर्न पाउँछ। त्यो निर्वाचन लड्नै कोही तयार छैन यहाँ। अनि, त्यो निर्वाचन लड्दाखेरी न बल्ल दावी होला। मेरो मतदातालाई गएर तपाइँले यो कुरा बताइदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन्। भनिदिनुपर्नेछ–कुरा बुझाई दिनुपर्नेछ।’
महामन्त्री थापाले अबको निर्वाचन पछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरुले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थानै नरहने चेतावनी समेत दिए। जनप्रतिनिधिहरुले अब पनि मतदाताहरुमाथि निर्वाचनमा गरेको बाचा अनुसार काम नगरे उनीहरुले फेरि चुनाव लड्न नपाउने पनि उनले बताए। महामन्त्री थापाले सत्तारुढ गठबन्धनको आगामी निर्वाचनपछि बहुमत आउने दाबी गर्दै त्यसपछि पाँच वर्षसम्म एकतावद्ध भएर जनताको भावना अनुसार काम गर्न प्रतिवद्ध हुनुपर्ने पनि बताए।
महामन्त्री थापाले नागरिकमा निराशा छाएको भन्दै उनीहरुलाई आशा जगाउने गरी काम गर्न नसकिए आक्रोश छाउने र मुलुक बर्बाद हुने बताए।
Shares

प्रतिक्रिया