ad ad

राजनीति


‘नो नट अगेन’ भन्दा सभ्य भाषा प्रयोग गर्नू, अँध्यारो कोठाबाट दुष्प्रचार नगर्नू : प्रमुख निर्वाचन आयुक्त

‘नो नट अगेन’ भन्दा सभ्य भाषा प्रयोग गर्नू, अँध्यारो कोठाबाट दुष्प्रचार नगर्नू : प्रमुख निर्वाचन आयुक्त

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १६:२७, काठमाडौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन्। 

निर्वाचन आयोगले सोमवार कलाकारहरुसँग गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारलक्षित मिथ्या सूचना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरे। 

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्नेकुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अध्याँरो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हाने आयोगले कारबाही गर्ने चेतावनी दिए।

उहाँले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराए। 

थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरु राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरुको ध्यानाकर्षण गराएको बताए।


उनले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताए। थपलियाले अँध्यारो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा आमनागरिकलाई उम्मेदवारको सही सूचना दिन अग्रसर हुन सुझाव दिए।

‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्र हत्या गर्नेकुरा, मिथ्या सूचना दिनेकुरा, दुष्प्रचार गर्नेकुरा र घृणास्पद अभिव्यक्ति दिनेकुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन। हामी विभिन्न जातजाति, क्षेत्र, सम्प्रदाय, उमेर समूहका छौँ। निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुरालाई राखेर, कसैलाई कुनैपनि किसिमले लाञ्छित गर्न पाइँदैन', उनले भने, 'गालीगलौज गर्न पाइँदैन हामीले भनेका हौँ। अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो । यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो, त्यसकारण यहाँले भनेजस्तै भाषामा सिधै भन्ने हो भने यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ।'

प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता कडाई गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको गुनासो गरे। 

उनले निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिवद्ध रहेको बताए। थपलियाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत रुपमा सम्पन्न गर्न कलाकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै निर्वाचनसम्बन्धी सूचना प्रचारप्रसार गरिदिन आग्रह गरे। 

प्रमुख आयुक्त थपलियाले कलाकारहरुले आचारसंहिताको उल्लंघन नगर्ने कुरामा आयोग विश्वस्त रहेको पनि बताए। उनले लोकतन्त्रलाई जोगाउने आन्दोलनमा पुनः एकपटक निर्वाचन अभियानको सडकमा कलाकारलाई देख्न पाउने आशामा आयोग रहेको स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .