ad ad

राजनीति


‘निर्वाचन बिथोल्ने’ विप्लवको धम्कीपछि आयोगले थाल्यो छलफल

एक नेता भन्छन् : हामी सक्रिय बहिष्कारको पक्षमा छौँ
‘निर्वाचन बिथोल्ने’ विप्लवको धम्कीपछि आयोगले थाल्यो छलफल

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १५:५९, काठमाडौँ

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउने जनाएको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसम्वद्ध केही नेताहरुले निर्वाचन बिथोल्न सक्ने अभिव्यक्ति दिइरहेका बेला आयोगले यसमा सचेत रहेको जनाएको हो। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताएका छन्। 

उनले विप्लव नेतृत्वको नेकपाको नाम उच्चरण नगरी कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए। 

नेताहरुको उक्त अभिव्यक्तिपछि थप कडा सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि उनले जानकारी दिएका छन्। 

‘जुन राजनीतिक समूह र उसका नेताहरुले निर्वाचनको समयमा हुन सक्ने दंगाहरुबारे दिएका अभिव्यक्तिप्रति गम्भीर रुपमा लिएर छलफलमा छौँ', उनले भने, 'अब हामी त्यहीअनुसार सुरक्षा योजनाको पुनरावलोकन गर्छौं। अब कडा सुरक्षा व्यवस्थासहितको योजना कार्यान्वयन हुन्छ।'

उनले नेताहरुको धम्कीपूर्ण अभिव्यक्ति आइरहे पनि निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन नदिने वाचा गरे। 'यसमा हामी सचेत छौँ,’ उनले भने, 'सुरक्षा योजनामा पनि आवश्यक पुनर्मूल्यांकन गरेर लागु गर्न तयार छौँ।'

आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि गुनासो आउन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत जनाएको छ। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढ्ने बताए।

यसअघि बुधबारै गृहमन्त्री बालकृष्ण खाँणले कुनै समूहले निर्वाचनमा भाग नलिन पाउन भए पनि बिथोल्ने अधिकार नरहेको बताएका थिए।

बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचनमा बाधा गरेर जनताले नेता चुन्ने अधिकार खोस्न नपाइने बताएका थिए। 

बिथोल्ने होइन, बहिष्कार
निर्वाचन बहिष्कारको योजनाबारे विप्लव नेतृत्वको नेकपा एक नेताले कुनै निर्णय नभएको बताएका छन्। 

उनका अनुसार पार्टीको कपिलवस्तुमा असोज अन्तिम साता भएको महाधिवेशनले नै सक्रिय बहिष्कारको पक्षमा उभिने निर्णय लिइसकेको छ।

'कुन नेताले कहाँ के भन्छ त्यो पार्टीको धारणा हुन सक्दैन', उनले भने, 'अहिले हामी मंसिर ४ को निर्वाचन बहिष्कारको पक्षमा छौँ। यो दलाल संसदीय व्यवस्थाको पक्षमा हुने निर्वाचनको औचित्य नभएकाले आममतदातालाई पनि बहिष्कारको पक्षमा उभिन भन्छौँ। तर बिथोल्ने, अवरोध गर्ने योजना छैन।'

बहमुतको अभियान
उता विप्लव नेकपाबाटै छुट्टिएर धर्मेन्द्र बाँस्तोला नेतृत्वमा बनेको नेकपा (बहुमत) ले देशव्यापी चुनाव बहिष्का र अवज्ञा कार्यक्रम चलाउने भएको छ। 

पार्टी सचिवालयस्तरीय केन्द्रीय स्कुलिङपछि काठमाडौँमा बसेको सचिवालय बैठकले दलाल संसदीय व्यवस्थाले गर्ने कथित प्रदेश र संघको चुनाव अवज्ञा आन्दोलन अघि बढाउने निर्णय लिएको थियो। 

नेकपा (बहुमत), नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल, माओवादी कम्युनिस्ट पार्टीसहित चार वामपन्थी पार्टीले देशव्यापी निर्वाचन बहिष्कार/अवज्ञा सभा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .