नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पु¥याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ ।
दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन सङ्ख्या १२ लाखबाट २० लाख पु¥याउने लक्ष्य लिएको हो । नेपालमा सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएको सरकारी तथ्याङ्क छ । कोभिड–१९ महामारीका कारण विदेशी पर्यटक आगमनदर खुम्चियो । महामारीले सबैभन्दा बढी प्रभावित बनाएको यस क्षेत्रलाई पुरानै लयमा फर्काउने लक्ष्यसहित कांग्रेसले सङ्कल्पपत्र ल्याएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणमा आठ महिनामा हवाई मार्ग भएर कूल तीन लाख २६ हजार ६७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने कांग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पु¥याउने र प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पु¥याउने लक्ष्य लिइएको छ ।
पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जनघनत्व भएका उदीयमान एशियाली राष्ट्रबाट पर्यटक भित्र्याउन व्यापक बजारीकरण गरिने छ भने हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने नीति कांग्रेसले सङ्कल्पपत्रमा उल्लेख गरेको छ । स्थापित तथा उदीयमान गन्तव्यसम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने छ भने पर्यटकको धेरै चहलपहल हुने स्थान सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने छ ।
त्यसैगरी सरकारी र सार्वजनिक नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत संस्कृतिलाई कलात्मकरुपमा सौन्र्दयकरण गरिने छ । वातावरणमैत्री व्यवसायका रुपमा पर्यटन प्रवद्र्धन गर्दै दिगो विकासको पदमार्गमा अघि बढ्न सामुदायिक वनको विस्तार र पुरातात्विक सम्पदास्थलको संरक्षण गरिने जनाइएको छ ।
पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता साहसिक गतिविधिमा पथ प्रदर्शक तथा भरियाका रुपमा काम गर्ने जनशक्तिका लागि दुर्घटना बिमा गरिने छ । विभिन्न स्थानमा रहेका तर प्रयोगमा नआएका विमानस्थल तथा अन्य खाली रहेका सार्वजनिक जग्गा पर्यटकीय गतिविधि विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा उपयोग गरिने नीति लिएको छ । नेपालको हवाई सेवालाई थप सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षासम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्ने प्रतिबद्धता जनाइएको छ । रासस
Shares

प्रतिक्रिया