राजनीति


गगन थापालाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

गगन थापालाई आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १९:४२, काठमाडौँ

निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। 

थापाले देश फैलिएको डेंगी संकटविरुद्ध अभियान चलाउने भनेर सार्वजनिक रुपमाा दिएको अभिव्यक्तिसहितको अडियो/भिडिओ फेला परेपछि दोस्रो स्पष्टीकरण सोधिएको हो।

यसअघि आयोगले डेंगीबारे नै दिएको अभिव्यक्तिलाई लिएर गत कात्तिक ६ गते थापालाई पहिलो पटक स्पष्टीकरण सोधेको थियो। 

उनले त्यसको जवाफ दुई दिनपछि निर्वाचन आयोगमा पठाएका थिए। पहिलो स्पष्टीकरणको जवाफ आएको केही दिनमै डेंगीलाई लिएर अर्को अभिव्यक्ति दिएपछि थापालाई दोस्रो स्पष्टीकरणका लागि पत्र पठाइएको हो। 

लामखुट्टेको टोकाइबाट फैलिने डेंगी महामारी नियन्त्रणका लागि कार्यक्रम या अभियान चलाउन परे आयोगको सहमति चाहिने जनाएको छ। निर्वाचन आचारसंहिता लागिसकेकाले उम्मेदवार र दलहरुले त्यस्ता कार्यक्रम आफूखुसी ल्याउन नपाउने कानुनी व्यवस्था छ।

‘निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउँछु भनेजस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन?', आयोगले थापालाई सोधेको छ, 'किन जानीजानी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्न उद्यत हुनुभएको हो?,’ 

गगनलाई दोस्रो पटक सोधिएको स्पष्टीकरणमा के छ?

  • निर्वाचनको सम्मुखमा तपाईँले अभियान चलाउँछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन?
  • निर्वाचनका प्रक्रियाहरु अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लाग भइसकेको अवस्थामा विपद् तथा महामारी आईपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरु ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईँ किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लङ्गन गर्न उद्यत हुनुभएको हो? 
  • आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे समेतका निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी पाउने नै हुँदा निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो? 

के भनेका थिए थापाले? 
महामन्त्री थापाले यसअघि आफ्नो निर्वाचन क्षेत्रमा नि:शुल्का डेंगी परीक्षण तथा परामर्श लिएर आउने सन्देशसहितको विवरण सामाजिक सञ्जालमा हालेका थिए।  

‘फेरि पनि काठमाडौं क्षेत्र नं. ४ का वासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ।’ 

यसअघि कात्तिक ६ मा उक्त व्यहोराको ट्वीट गरिएको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको थियो। त्यही कुरालाई लिएर थापाले फेरि अर्को अभिव्यक्ति दिएपछि आयोगले दोस्रो स्पष्टीकरण थापासँग सोधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नु पर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .