नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ज्ञान प्राप्त गरेको भन्दै वर्तमान गठबन्धनमा शंका नगर्न आग्रह गरेका छन्।
सत्तारुढ पाँच दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग एकता गर्दा ओलीबाट ज्ञान प्राप्त भएको बताएका हुन्।
‘मलाई एमालेसँग सहकार्य गरेर के पाउनुभयो? भनेर धेरै साथीहरुले व्यंग्य पनि गर्नुभयो। मलाई धेरै साथीहरुले प्रतिकात्मक प्रश्न पनि गर्नुभयो,’ प्रचण्डले भने, ‘मैले ज्ञान प्राप्त गरेर आएको छु। यो ज्ञान गठबन्धनका लागि महत्वपूर्ण हुन्छ भनेँ। त्यो साँच्चै देखिएको पनि छ’
उनले संविधान र राजनीतिक परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताए। गठबन्धनले देश विकास गर्छ भन्ने विश्वास जनतालाई दिलाउने प्रचण्डले दाबी गरे।
‘यो ठूलो लडाईं छ। हामी अझै परसम्म लड्नु छ। यो गठबन्धन पहिला जस्तो हुने हो कि भनेर धेरै शंका पनि हुँदैछ,’ प्रचण्डले भने, ‘मैले भनेको छु मैले केपीसँग मिलेर ज्ञान प्राप्त गरेर आएको छु। ज्ञानी भएर आएपछि फेरि त्यही गल्ती त दोहोर्याउँदिन।’
त्यो ज्ञान गणतन्त्र जोगाउने, आन्दोलनका उपलब्धि जोगाउने अस्त्र बनेको प्रचण्डको भनाई छ।
Shares

प्रतिक्रिया