ad ad

राजनीति


एक्स सूर्य किरण–१४ को समापनमा भारतले पठायो मेजर जेनरल गुरुङ

एक्स सूर्य किरण–१४ को समापनमा भारतले पठायो मेजर जेनरल गुरुङ

दीपक खरेल
पुस १, २०७६ मंगलबार ५:५४,

प्रतिबिद्रोह, प्रतिआतंकबाद र जंगल वारफेयर सम्बन्धी नेपाल–भारत संयुक्त सैन्य अभ्यासको १४औं श्रृंखला समापनमा भारतीय सेनाका मेजर जेनरल गोपाल गुरुङ सहभागी भएका छन्। उनी अव्जर्भर (पर्यवेक्षक) का रुपमा नेपाल आएका हुन्।

नेपालमा एउटा गण तहमा आयोजना भएको नेपाल–भारत संयुक्त सैन्यअभ्यास एक्स सूर्य किरणको १४औं श्रृंखला सेनाको ब्याटल स्कुल सालझण्डीमा समापन भएको हो।

यसपटक भारतीय स्थल सेनाका ३ सय सैनिक अधिकृत र जवान समावेश भएका थिए। यस्तै नेपालबाट समेत सोही सख्यामा सैन्य अधिकृत र जवान सहभागी भएका हुन्।
संयुक्त सैन्यअभ्यास एक्स सूर्य किरण १४औं श्रृंखला बलाधिकृत रथी शरदकुमार गिरी र भारतीय सेनाका गुरूङले साेमबार समापन गरेका हुन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त सैन्यअभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो।

यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ ।

सैनिक ब्याटल स्कुल रुपन्देहीको सालझण्डीमा मंसिर १७ देखि संचालन भएको थियो। संयुक्त सैन्य अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी सिताराम खड्काले शुभारम्भ गरेका थिए।
एक्स सूर्य किरण प्रतिविद्रोह तथा जंगल वारफेयर, प्राकृतिक विपत्ती र प्रतिआतंकबादमा हेलिकोप्टरको समेत प्रयोग गरी संचालन हुने सैन्य अभ्यास हो।

military exercise

नेपाल र भारतमा वर्षेनी आलोपालो गरि सञ्चालन भइरहेको अभ्यास अघिल्लो वर्ष भारतमा भएको थियो। जसमा पहिलो पटक ९ जना महिला अधिकृत र जवानको सहभागिता थियो। नेपालमा सम्पन्न एक्स सूर्य किरणको १२औं श्रृखलामा महिला अधिकृत र जवानको सहभागिता रहेपनि भारतमा पहिलो पटक सहभागीता रहेको हो।

संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जंगलमा गर्नुपर्ने युद्धकला सम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अभ्यास गर्नेछन्। यस अभ्यासले नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुनेछ।

नेपाल–भारत बीचको संयुक्त सैन्य अभ्यास एक्स सूर्य किरण २०६७ सालबाट सुरुवात भएको हो। सुरुवातमा सानो संख्यामा दुबै देशका सैन्य अधिकृत र जवानको सहभागिता रहँदै आएको यो अभ्यास अहिले करिब–करिब एउटा गण तहमा हुन थालेको छ।

नेपालले भारत बाहेक अमेरिका र चीन लगायतका दौत्य सम्बन्ध कायम रहेका मित्र राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

यसैबीच नेपाल भ्रमणमा रहेका भारतीय सेनाका मेजर जेनरल गुरुङले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .