कारोबार


प्रदेश ५ मा नेपाल भ्रमण वर्ष शुभारम्भ भव्य बनाइने

प्रदेश ५ मा नेपाल भ्रमण वर्ष शुभारम्भ भव्य बनाइने

प्रकाश न्यौपाने
पुस १, २०७६ मंगलबार ५:५३,

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय कार्यक्रमको प्रदेश पाँचमा भव्य उद्घाटन गरिने भएको छ। आगामी पुस १६ गते अर्थात् जनवरी १ का बर्दियाको ठाकुरद्वाराबाट भव्य शुभारम्भ गरिने भएको हो। सोही दिने मुलुकमा नेपाल भ्रमण वर्ष सुरु हुँदै छ।

काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्दै छिन्। प्रदेश पाँचमा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय समितिका सहसंयोजक माधब नेपालले बताए।

‘पर्या पर्यटन तथा जंगलसफारीका लागि महत्वपूर्ण मानिने बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आकर्षण मानिन्छ। यसैले हामीले यहीबाट प्रदेशस्तरीय कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम बनाएका हौं’, उनले भने।

यो निकुञ्जमा पाटे बाघ, एक सिंगे गैंडा, जरायो, चित्तल, चितुवा, घोडगधा, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत छन्। जलचरहरुमा घडियाल गोही, मगर गोही, सोंस र थरिथरीका माछा छन्। यसले गर्दा यहाँ पर्यटक आकर्षित छन्।

नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले मुलुककै ७ वटै प्रदेशमा पर्यटनमन्त्रीको संयोजकत्वमा प्रदेश स्तरीय समिति गठन गरेर प्रदेश स्तरीय उद्घाटन कार्यक्रम गर्दै छ।

प्रदेश ५ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी संयोजक र पर्यटन व्यवसायी माधब नेपाल सहसंयोजक रहेको समिति गठन गरी कामलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ। लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ सरकारले संघीय सरकारको कार्यक्रमलाई पनि भव्य रुपमा मनाउने गरी तयारी थालेको हो।

उद्घाटन कार्यक्रममा विभिन्न भाषाभाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गरिने पर्यटन मन्त्रालयका अधिकृत गणेश घिमिरेले बताए। उनकाअनुसार रोल्पाको मगर नाच, दाङ र बर्दियाको थारु नाच, अवधी नाच, पँचे बाजा समेत प्रदर्शन गरिने छ।

उद्घाटन समारोहमा स्थानीय तहमा समेत भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवद्र्धन समितिमार्फत माग गर्ने निणर्य समेत गरिएको छ। समितिको सचिवालय बैठकले संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम पर्यापर्यटनको केन्द्र मानिने बर्दियालाई छनौट गरेको हो।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका ५/५ जना सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुखलाई निमन्त्रणा गरिसकिएको मन्त्रालयले जनाएको छ।

भ्रमण वर्ष शुभारम्भका दिन विहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गरिने छ।

भ्रमण वर्षको अवसरमा बाँके जिल्लाका होटलहरुले प्याकेजमा आवस तथा खानाको व्यवस्थापन समेत गर्ने भएका छन्।

होटल व्यवसायी संघ प्रदेश अध्यक्ष भाष्कर काफ्लेले भ्रमण वर्षको सुरुवातमा २ हजार २० रुपैयाँमा एक रात दुईदिनको प्याकेज उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। नेपालका सातैवटै प्रदेशले भ्रमण वर्ष अवधिमा विभिन्न कार्यक्रम गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .