प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं–२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन्।
काठमाडौं–२ मा गठबन्धनले आइतबार काँडाघारीमा गरेको प्रशिक्षण कार्यक्रममा देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताए। उनले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास आफूलाई नभएको देउवाको भनाइ थियो।

‘ओनसरी घर्ती अत्यन्तै साहसी महिला हुनुहुन्छ। उहाँले कुशलताका साथ सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो’, देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो।’
देउवाले माओवादी केन्द्रबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पार्टीको आशिर्वाद नखोजेको उल्लेख गरे। देउवाले ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रशंसा गरे।
देउवाले ओनसरीलाई जिताउन कांग्रेस नेता कार्यकर्ता र काठमाडौं क्षेत्र नम्बर–२ का मतदातालाई अपिल गर्दै उनले सो क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे। फरक प्रसंगमा देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको बताए।
Shares

प्रतिक्रिया