निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानबिन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउनेगरी मिलाइएको बताए।
आइतवार निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो। सोमबार अपरान्ह ३ बजेसम्म त्यसमाथि दावीविरोध र उजुरीको समय तोकिएको थियो।
न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लामा विद्युत र टेलिफोन अवरुद्ध भएकाले मनोनयन भएका उम्मेदवारहरुको तथ्यांक आउन बाँकी बताए।
‘जिल्लामा हिजो मनोनयन दाखिला भयो। अब मनोनयन दाखिलाको काम टुंगिएको छ। त्यसका तथ्यांक प्राप्त भएको छ। कर्णालीका जिल्लाहरुमा अझै इन्टरनेट र टेलिफोन अवरुद्ध भएकाले सिस्टममा पोष्टिङ हुन सकेको छैन', उनले भने, 'आज ३ बजेसम्म दावी, विरोधी र उजुरी गर्ने कार्यक्रम थियो। यो सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुन्छ। सम्बन्धित निर्वाचन अधिकृतले टुंगो लगाउनुपर्छ। गाह्रो, अप्ठ्यारो भए आयोगसँग सम्पर्क गर्न सक्नु हुन्छ। नभए उहाँहरु आफैँले यो काम गर्नु हुन्छ।’
आयोगले उम्मेदवारीहरुमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वत: रद्द हुने पनि बताएको छ। आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।
Shares

प्रतिक्रिया