नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यतिबेला कुनै बेलाका आफ्ना सहकर्मी पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध सुधार अभियानमा लागेका छन्।
प्रचण्डका लागि गोरखा क्षेत्र नम्बर २ छाडेर काठमाडौं ७ मा छोरी मानुषीका लागि माओवादीको समर्थन लिन सफल बाबुरामले आइतवार उम्मेदवारी दिन गोरखा पुग्दा प्रचण्डलाई साथ दिए।
प्रचण्डसँगै जुलुसमा पनि सहभागी भएका उनी प्रचण्डसँगको सम्बन्ध सुधार अभियान चलाउँदै नयाँ नयाँ तर्क गरिरहेका छन्।
यसैक्रममा उनले आफूहरुको चर्को आलोचना भइरहेका बेला सोमबार प्रचण्डसँगको सम्बन्धलाई लिएर नयाँ तर्क अघि सारेका छन्।
उनले आफू र प्रचण्डबीचको सम्बन्ध बुझ्न धेरैलाई कठिन हुनु स्वभाविक भएको बताएका छन्।
'प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठिन हुनु स्वाभाविक छ', उनले भनेका छन्, 'तर जीवन र जगतको 'युनिटी अफ अपोजिट्स' र 'युनिटी-स्ट्रगल ट्रान्सफर्मेसन' को नियम बुझ्नेलाई खीर खाए जत्तिकै सजिलो छ।'
उनले जनयुद्ध पनि एकता र संघर्षकै बीचबाट सफल भएको तर्क गरेका छन्। 'जनयुद्ध त्यही सम्बन्धबाट सफल भएको थियो', उनले भनेका छन्, 'अबको समृद्धि अभियान त्यसैबाट सफल हुन्छ।'
Shares

प्रतिक्रिया