राजनीति


विप्लवको बन्दः देशभर कहाँ के भयो?

विप्लवको बन्दः देशभर कहाँ के भयो?

नेपालखबर
असार १०, २०७६ मंगलबार ४:३०,

काठमाडौंमा आज सार्वजनिक यातायात कम चलेका छन् भने बन्दका दिन ‘अप्रिय घटना’ हुनसक्ने भन्दै धेरैजसो शैक्षिक संस्थाले पठनपाठन बन्द गरेका छन्।

सार्वजनिक गाडी कम चले पनि निजी सार्वजनिक सवारीसाधन भने बाक्लै चलेका छन्।

यस्तै देशका अन्य भागमा पनि सार्वजनिक यातयात, बजार तथा शैक्षिक संस्थामा बन्दको प्रभाव पर्दा जनजीवन प्रभावित भएकाे छ।

बन्दका क्रममा काठमाडौं उपत्यकासहित मुलुकभर दुई दर्जनभन्दा बढी ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्। तर धेरै ठाउँका शंकास्पद वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार काठमाडौंबाट १ तथा कास्कीबाट एक जना पक्राउ परेका छन्। अहिलेसम्म कतै क्षति भएको खबर नआएको प्रवक्ता पोखरेलले बताए।

उपत्यकाका विभिन्न स्थानमा शंकास्पद वस्तु
काठमाडौंको कीर्तिपुरको नयाँ बजार गेटनजिक शंकास्पद वस्तु फेला परेको छ। तर उक्त वस्तु बम नभएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएपी छेदीलाल कामतीले जानकारी दिए। नेपालखबरसँग उनले भने, ‘रातो कपडाले बेरिएको वस्तु खोलेर हेर्दा मिनरलवाटरको बोतरमा माटो भरिएको पाइयो।’

यस्तै जावलाखेलमा भेटिएको शंकास्पद वस्तु पनि बम नभएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्रसिंह धानुकले उक्त वस्तु विद्यार्थीको झोला भएको बताए। जावलाखेल खेल मैदानअगाडि होटलको सटरमा भेटिएको उक्त बम भन्ने आशंकाले डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

यस्तै भक्तपुरमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

पोखराका तीन स्थानमा शंकास्पद वस्तु
पोखराका तीन ठाउँमा बम भेटिएका छन्। विजयपुरको पुलपारि ओरालोमा प्रेसरकुकर बम फेला परेको हो। यस्तै पोखरा महानगरपालिका लेखनाथको हमाल चोकमा पनि सकेट बम फेला परेको प्रहरीले जनाएको छ। बमलाई नेपाली सेनाले निस्क्रिय बनाएको छ। यस्तै पोखरा–१७ ड्यामसाइडमा पनि शंकास्पद वस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ।

मोरङ र झापमा बम
मोरङमा पनि प्रेस कुकर बम फेला परेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा रातो कपडाले बेरेर राखिएको उक्त बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल पुगेको छ।
यस्तै, झापाको माइखोलामा शंकास्पद वस्तु फेला परेको छ। बम भएको आशंकामा नेपाली सेना घटनास्थलतर्फ गएको छ।

रामेछापमा विस्फोट
रामेछाप सदरमुकाम मन्थलीनजिकै ग्यास सिलिन्डरर पड्किएको छ। बिहान २ बजेतिर मन्थली बसपार्कभन्दा केही माथि पाखामा उक्त विस्फोट भएको हो। घटनास्थल बसोवास क्षेत्रभन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

नुवाकोटमा मेयरको घरमा बम
नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ। सोमबार राति मेयर सञ्जु पण्डितको विदुर-९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो।

उक्त बिहान मंगलबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको प्रहरीको आशंका छ।

काभ्रेका केही स्थानमा शंकास्पद वस्तु
काभ्रेका पनि केही स्थानमा शंकास्पद वस्तु फेला परेका छन्। पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा दुईवटा प्रेसरकुकर बम भेटिएका हुन्। उक्त बम नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .