ad ad

राजनीति


एमाले महासचिव पोखरेलले चलाएको हल्लाले कांग्रेस नेता पोखरेललाई अप्ठ्यारो

एमाले महासचिव पोखरेलले चलाएको हल्लाले कांग्रेस नेता पोखरेललाई अप्ठ्यारो

नेपालखबर
असोज २३, २०७९ आइतबार १५:३२, काठमाडौँ

उम्मेदवारी दर्ताका दिन आइतबार दिउँसो कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले आफ्नो फेसबुकको वालमा लेखे, ‘म २०७९ को प्रदेश तथा संघको निर्वाचनमा उम्मेदवार भएको छैन। निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने सबै उम्मेदवारहरुले जनताको मत जित्न गालीगलौज छाडी भावी योजनाका साथ प्रचार–प्रसार गर्नुहुन अनुरोध गर्दछु।’  

एकीकृत समाजवादीको भागमा परेको दाङ्ग– १ बाट डा. पोखरेलले स्वतन्त्र उम्मेदवारी दिने र एमालेले समर्थन गर्ने भ्रामक हल्ला फैलिएपछिको स्पष्टीकरण थियो डा. शेखर कोइराला पक्षीय कांग्रेस केन्द्रीय सदस्य डा. पोखरेलको उक्त फेसबुक स्टाटस। 

२०७४ को निर्वाचनमा प्यूठानबाट प्रतिनिधि सभाको प्रत्यासी रहेका डा. पोखरेल यसपटक पनि गृहजिल्ला प्यूठानमै उम्मेदवारका आकांक्षी थिए। तर, सत्ता गठबन्धनबाट प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले टिकट पाएपछि पोखरेल उम्मेदवारीबाट बञ्चित भए। 

२०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ पाएभन्दा १० हजार बढी मत प्राप्त गरेका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलले यसपटक टिकट नपाउने स्थिति सिर्जना भएपछि असन्तुष्ट थिए। उनको यही असन्तुष्टिलाई आधार बनाउँदै एमाले पंक्तिले उनी दाङ्ग– १ मा एमालेको तर्फबाट स्वतन्त्र उम्मेदवार हुने हल्ला चलाएको थियो।

एमालेबाट टिकट पाएकी शान्ता चौधरीलाई ब्याक गराएर डा. पोखरेललाई एमालेले सघाउने हल्ला खासगरी प्यूठान एमालेको पंक्तिले चलाएको थियो। प्यूठानबाट एमाले उम्मेदवार बनेका सूर्य थापालाई निर्वाचनमा सहज हुने वातावरण सिर्जना गर्न यस्तो हल्ला चलाइएको थियो। 

महासचिव शंकर पोखरेलकै हवाला दिएर एमालेको ‘ब्याकिङ्ग’ मा कांग्रेस केन्द्रीय सदस्य डा. पोखरेलले दाङ्ग– १ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको हल्ला चलाइएको थियो। 

एमाले पंक्तिबाटै यस्तो हल्ला चलाइएपछि र एमाले निकट केही अनलाइनमा यस्तो अफवाह फैलाइएपछि दाङ्ग– १ बाट टिकट पाएकी चौधरी त अप्ठेरोमा पर्ने भइन्, कांग्रेस केन्द्रीय सदस्य डा. पोखरेलपनि अप्ठेरोमा परे।
त्यहीकारण आगामी निर्वाचनमा संघ र प्रदेश दुबैतिर आफू उम्मेदवार नरहेको प्रष्टीकरण दिनुपर्ने स्थितिमा डा. पोखरेल पुगे।  

डा. पोखरेलले फेसबुक स्टाटसमार्फत् आफू उम्मेदवार नबन्ने प्रष्टीकरण दिएपछि भने एमाले महासचिव पोखरेल अप्ठेरोमा परेका छन्।
तर, उनले कांग्रेसको डा. शेखर कोइराला–गगन थापा समूहसँग डा. पोखरेल एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्ने समझदारी भएको, तर कांग्रेसको उपरोक्त समूहसँगको समझदारी भंग भएको प्रष्टीकरण दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .