लमजुङबाट प्रतिनिधि सभाको उम्मेदवारी पाएका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्ग र लमजुङ ‘ख’ बाट प्रदेश सभाको टिकट पाएका संविधान सभा सदस्य (२०७०) जमीन्द्रमान घले दुबैले उम्मेदवारी अस्वीकार गर्ने संकेत गरेका छन् ।
काठमाडौँबाट गृहजिल्ला जाँदै गरेका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका गुरुङ्गले लमजुङ्ग पुगेपछि निकटस्थहरुसँग सल्लाह गरेर थप निर्णय गर्ने बताएका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नेगरी लमजुङ ‘ख’ को प्रदेश सभामा प्रतिस्पर्धा गर्न खोजेका गुरुङ्गलाई जबर्जस्ती प्रतिनिधि सभाको टिकट थमाइएको भन्दै पृथ्वी र जमीन्द्रमान दुबै असन्तुष्ट बनेका हुन् ।
मुख्यमन्त्री बन्नेगरी प्रदेश सभामा प्रतिस्पर्धा गर्न चाहेका गुरुङ्गले २०७० मा लमजुङ– १ बाट संविधान सभामा निर्वाचित जमीन्द्रमान घलेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन चाहेका थिए । घले पनि प्रतिनिधि सभाकै उम्मेदवार बन्ने योजनामा थिए ।
तर, खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन चाहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुङ्गलाई प्रदेश सभाको साटो प्रतिनिधि सभाको टिकट थमाए भने प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्न चाहेका घलेलाई प्रदेश सभामा जानेगरी लमजुङ्ग ‘क’ को टिकट दिए ।
दुबैको चाहना विपरित टिकट वितरण गरिनुलाई गुरुङ्ग–घले पक्षले एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको षडयन्त्रका रुपमा बुझेका छन् ।
प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने अपेक्षा विपरित प्रदेश सभाको टिकट दिइएपछि घलेले आइतबार विहानै फेसबुकमार्फत् ‘संविधान सभाको सदस्य भइसकेको आफूलाई प्रदेश सभाको टिकट भिडाएर अपमान गरिएको’ भन्दै आक्रोस व्यक्त गरेका थिए ।
जिल्लाका एमाले कार्यकर्ताहरुको दबाबपछि घलेले फेसबुकबाट त्यो स्टाटस हटाइसकेका छन् । तर, उनको असन्तुष्टि रोकिएको छैन ।
‘अहिलेपनि उहाँ प्रदेश सभाको टिकट अस्वीकार गर्ने पक्षमा हुनुहुन्छ’ लमजुङ्ग एमाले स्रोतले भन्यो, ‘पृथ्वीसुब्बा काठमाडाँैबाट लमजुङ्ग आउँदै हुनुहुन्छ, उहाँ आएपछि दुईजनाले सल्लाह गरेर आवश्यक निर्णय लिनुहुनेछ ।’
स्रोतका भनाइमा, उपमहासचिव गुरुङ्गपनि प्रतिनिधि सभामा उम्मेदवारी नदिने मनस्थितिका साथ लमजुङ प्रस्थान गरेका छन् ।
‘उहाँ लमजुङ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवारी दिने गरी काठमाडौँबाट प्रस्थान गर्नुभएको छ’ स्रोतले भन्यो, ‘आफू लमजुङ्ग ‘ख’ बाट प्रदेश सभाको उम्मेदवार बन्ने, घलेलाई प्रतिनिधि सभामा उठाउने र लमजुङ्ग ‘ख’ मा यसअघिका प्रदेश सभा सदस्य धनन्जय दवाडीलाई नै दोहोर्याउने उहाँको योजना बुझिन्छ ।’
एमाले अध्यक्ष ओलीले भने प्रतिनिधि सभामा गुरुङ्ग, लमजुङ ‘क’ मा घले र लमजुङ्ग ‘ख’ मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई टिकट दिने निर्णय गरिसकेका छन् ।
प्रतिनिधि सभा छाडेर प्रदेश सभामै उम्मेदवार बन्ने गुरुङ्ग उपरोक्त योजनामा सफल भए भने लमजुङ्ग ‘ख’ को टिकट प्राप्त गरेका जिल्ला अध्यक्ष अधिकारी यसपटकपनि प्रतिस्पर्धाबाट बञ्चित हुनेछन् ।
लामो समय चुनावी प्रतिस्पर्धाबाट बञ्चित भएका जिल्ला अध्यक्ष अधिकारीलाई उम्मेदवारी बनाउनुपर्ने माग गर्दै अघिल्लो महिना लमजुङ एमालेको प्रतिनिधि मण्डलले गोप्य रुपमा एमाले अध्यक्ष ओलीसँग भेट गरेको थियो ।
उपमहासचिव गुरुङ्गका कारण जिल्ला अध्यक्ष अधिकारी अन्यायमा परेको महसुस आफूले पनि गरेको बताउँदै ओलीले यसपटक अन्यायमा पर्न नदिने आश्वासन दिएका थिए ।
आश्वासन अनुसार, ओलीले गुरुङ्गलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएर अधिकारीलाई प्रदेश सभा ‘ख’ को उम्मेदवार बनाए पनि यो निर्णयबाट गुरुङ्ग असन्तुष्टमात्र बनेका छैनन्, प्रतिनिधि सभामै उम्मेदवारी नदिने योजनामा छन् । लमजुङ्ग पुगेर उनले प्रदेश सभा ‘ख’ मै उम्मेदवारी दिने प्रयास गर्नेछन् ।
तर, लामो समयदेखि प्रतिस्पर्धाको अवसर नपाएको अधिकारीपनि उम्मेदवारीबाट पछि हट्ने मानसिकतामा छैनन् । ‘अध्यक्ष अधिकारीका लागि लमजुङ्ग ‘ख’ मा टिकट आइसकेको छ’ अधिकारी निकट स्रोतले भन्यो, ‘गुरुङ्ग उपमहासचिव भएकाले आफ्ना लागि प्रदेश सभाकै टिकट ल्याए छुट्टै कुरा, नत्र गुरुङ्गले फकाउँदैमा अधिकारी ‘कन्भिन्स’ हुने स्थितिमा छैनन् ।’
टिकट हेरफेर गरेर लमजुङ ‘ख’ बाट प्रतिस्पर्धा गर्नेगरी उपमहासचिव गुरुङ्ग उम्मेदवार बन्ने हो भने जिल्ला अध्यक्ष अधिकारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउनु पर्ने हुन्छ । तर, घले आफै उम्मेदवार बन्न चाहेकाले जिल्ला अध्यक्ष अधिकारीका लागि उनले प्रतिनिधि सभा छाड्ने सम्भावना छैन ।
२०५४ मा उदीपुर गाविसको अध्यक्ष निर्वाचित जिल्लाअध्यक्ष अधिकारीले त्यसयता प्रतिस्पर्धाको अवसर पाएका छैनन् ।
गत स्थानीय तह निर्वाचनमा बेशीशहर नगरपालिकाको मेयरको दावेदार रहेका अधिकारीको साटो दोहोर्याएर गुमानसिंह अर्याललाई नै टिकट दिइएपछि लमजुङ्गमा उपमहासचिव गुरुङ्गप्रति असन्तुष्टि चुलिन थालेको हो ।
Shares

प्रतिक्रिया