ad ad

राजनीति


विवेकशील साझा पार्टीद्वारा ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज

दस्तावेजमा असहमत नेताहरूसँग तत्काल संवाद गर्ने निर्णय
विवेकशील साझा पार्टीद्वारा ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज

प्रकाशचन्द्र परियार


नेपालखबर
असोज १५, २०७९ शनिबार १८:२, काठमाडौँ

विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय समितिमा पेस गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेको छ। 

पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ‘विचारभन्दा माथि देश’ दस्तावेज विवादास्पद र घातक भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।

उक्त दस्तावेज लेख्ने मिश्र भने आफ्नो समूहसहित केही दिनअघि मात्र वरिष्ठ उपाध्यक्ष हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरिसकेका छन्।

मिश्रको ‘विचारभन्दा माथि देश’ दस्तावेजकै कारण विवेकशील साझा पार्टीभित्र भाँडभैलो मच्चिएको थियो भने संयोजक मिलन पाण्डेको समूह अलग्गिएको थियो। 

त्यो दस्तावेज खारेज गरेसँगै अब दस्तावेजमा असहमत केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारका समस्या समाधान गर्ने निर्णय विवेकशील साझा पार्टीले गरेको छ।

पार्टीका प्रवक्ता परियारले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी बैठकले पार्टीभित्र देखापरेको वैचारिक असहमतिका कारण विगतदेखि नै राजीनामा दिएका, असन्तुष्ट भएर निष्क्रिय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरूलाई विवादस्पद र घातक दस्तावेज ‘विचारभन्दा माथि देश’ खारेज गरिसकिएकाले पार्टीमा पुन: सक्रिय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपिल गरेको छ।’

राजसंस्था पुनःस्थापना, संघीयता खारेज र धर्म निरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने उल्लेख मिश्रको दस्तावेज ‘विचारभन्दा माथि देश’ पुस्तकका रूपमा समेत प्रकाशन भइसकेको छ।  

शुक्रबारको बैठकले वर्तमान केन्द्रीय समितिमा रहेका केही नेता पार्टी हितविपरीतका गतिविधिमा लागेको भन्दै उनीहरूलाई तत्कालै स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय पनि गरेको विवेकशील साझा पार्टीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .