ad ad

राजनीति


११ निर्वाचन क्षेत्र, जहाँ टुट्न सक्छ गठबन्धन

११ निर्वाचन क्षेत्र, जहाँ टुट्न सक्छ गठबन्धन

सागर न्यौपाने
असोज ७, २०७९ शुक्रबार २१:११, काठमाडौँ

सत्ता गठबन्धन दलले प्रतिनिधिसभाका १६५ सीटमा तालमेल मिलाउने प्रयास गरिरहेका छन्। यसबारे कार्यदलमा दिनहुँजसो छलफल चलिहेको छ। यस क्रममा केही सिट यस्ता देखिएका छन्, जहाँ कुन दललाई टिकट दिने भन्नेमा शुरुबाटै विवाद छैन। तर, केही सिटचाहिँ यस्ता छन्, जहाँ गठबन्धन नै टुट्ने हो कि भन्ने स्थिति देखिएको छ।

उदाहरणका लागि– डडेलधुरा, चितवन ३, रौतहट १ र सप्तरी २ कुन पार्टीलाई दिने भन्ने कार्यदलमा शुरुदेखि नै विवाद छैन। किनभने, यी ठाउँहरु शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवले रोजेका निर्वाचन क्षेत्र हुन्।

मूूलतः ०७४ सालको चुनावमा जुन पार्टीले जितेको हो, सो ठाउँ उसैलाई छाडिदिने मोटो सहमति गठबन्धनभित्र भएको नेताहरु बताउँछन्। यसो गर्दा विगतमा एमालेले जितेर अहिले एकीकृत समाजवादीतिर लागेका सांसदका स्थानहरु माधव नेपाल नेतृत्वको पार्टीले स्वतः पाउनुपर्ने हो। तर, त्यहाँ कांग्रेस र माओवादीले ती क्षेत्रमा पनि आफ्नो दाबी नछाड्दा समस्या आएको छ।

जस्तै– भवानी खापुङले जितेको तेह्रथुममा कांग्रेसले दाबी गरेको छ। माधव नेपालले जितेको काठमाडौं २ पनि कांग्रेसले छाड्न मानेको छैन। डोटीमा प्रेम आले कड्किएपछि बल्लतल्ल कांग्रेस पछि हटेको छ। जसपाले जितेका मधेसका अधिकांश सिटमा पनि यस्तै ‘ओभरल्यापिङ’ को समस्या छ।

माधव नेपाल पक्षले आफूहरु एमालेमै छौं जस्तो गरी दम्भ देखाएको र ३० भन्दा बढी सिटमा दाबी गर्नाले समयमै सहमति जुट्न नसकेको कांग्रेस र माओवादी दुबै दलका नेताहरुको आरोप छ। एउकीकृत समाजवदी र जसपाका नेताहरु चाहिँ कांग्रेसले दम्भ देखाएको बताउँछन्।

यही आरोप–प्रत्यारोपका बीचमा केही निर्वाचन क्षेत्रहरु यस्ता देखिएका छन्, जहाँ सत्ता गठबन्धनबीच चुनावी तालमेल नै नहुने हो कि जस्तो अवस्था देखिन्छ। त्यसरी मिल्न गाह्रो रहेका निर्वाचन क्षेत्रहरु यी हुन्–  

धनकुटा : सुनील, रकम र हेमराजको दाबी
अघिल्लो निर्वाचनमा एमालेले जितेको धनकुटामा एउटा संघीय सिट छ। यहाँ एकीकृत समाजवादीले दाबी गरेको छैन। तर, सत्ता गठबन्धनका तीनवटै दलको दाबी छ। सत्तापक्षको दाबी नमिलेकाक कारण धनकुटामा गठबन्धन भत्किने सम्भावना देखिएको छ।

धनकुटा सूर्यबहादुर थापाको लिगेसी रहेको जिल्ला हो। यहाँबाट सांसद बन्ने लक्षका साथ सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा राप्रपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। र, उनी गठबन्धनका तर्फबाट टिकटका प्रमुुख दाबेदार हुन्।  

तर, जनता समाजवादी पार्टी (जसपा) ले पनि यसपटक कुनै हालतमा धनकुटा आफूले पाउनुपर्ने अडान राखेको छ। जसपाबाट पूर्वमन्त्री एवं पूर्वसांसद रकम चेम्जोङ टिकटका दाबेदार हुन्। सिट बाँडफाँट गर्ने कार्यदलमा समेत रहेका चेम्जोङ सुनील थापालाई कुनै पनि हालतमा नछाड्ने अडानमा छन्।

त्यसैगरी पूर्वसभासद एवं माओवादीका युवा नेता हेमराज भण्डारी पनि संघमा उठ्ने तयारीमा छन्। जिल्ला पार्टीले भण्डारीको नाम सर्वसम्मत सिफारिस गरिसकेको छ। भण्डारीले गठबन्धनबाट आफूलाई टिकट नदिइए स्वतन्त्र भए पनि उठ्ने चेतावनी दिइरहेको स्रोतको भनाइ छ।   

२०७४ को चुनावमा धनकुटाबाट नेकपा एमालेका राजेन्द्रकुमार राई विजयी भएका थिए। यसपालि पनि उनी नै चुनावी मैदानमा उत्रँदैछन्।

एमालेका सांसद राईले ०७४ मा ३७ हजार ३३३ मत ल्याउँदा सुनील थापाले जसपासँगको गठबन्धनमा २६ हजार ८७४ मत पाएका थिए। त्यसबेला थापा राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए। अहिले उनी कांग्रेसमा छन्।

सत्तापक्षीय तीनै दलका जिल्ला नेताहरुको कुरा सुन्दा धनकुटामा गठबन्धन लगभग टुटिसकेको छ। तर, जसपाका एक नेताको दाबी के छ भने शेरबहादुर देउवाले सुनील थापालाई समानुपातिकमा राखेर रकम चेम्जोङमा सहमति जुटाउने सम्भावना बढेको छ। गठबन्धनका एक नेता भन्छन्– त्यसो भयो भने माओवादी बाहिरिन्छ।  

काठमाडौं २ : दुई महिलाको दाबी
अघिल्लो चुनावमा एमालेबाट माधवकुमार नेपालले जितेको काठमाडौं २ मा अहिलेसम्म रोचक दृश्य देखिएको छ। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी तीनै दलले यही क्षेत्रमा रुचि देखाएका छन्।

शंखरापुर नगरपालिकाको १ देखि ९, कागेश्वरी–मनोहरा नगरपालिकाको ४ देखि ९ र काठमाडौँ महानगरपालिकाको ९ र ३२ नम्बर वडा यो क्षेत्रमा पर्छ।

सत्ता गठबन्धनभित्र यसअघि जितेका क्षेत्र सोही दलले पाउने मोटामोटी सहमति बनेका कारण काठमाडौँ–२ मा एकीकृत समाजवादीको बलियो दाबेदारी हुनु स्वभाविकै छ। यहाँबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम एकल सिफारिसमा परेको छ। तर, उनी आफै सो क्षेत्र छोडेर रौतहट १ मा जान खोजेका छन्।

माधव नेपालले यो क्षेत्र छोड्न लागेको चर्चा चलेपछि माओवादी र कांग्रेसले यहाँ दाबी गरेका छन्। कांग्रेसबाट डा. माधवी भट्टले काठमाडौं २ मा दाबी गरेकी छिन् भने माओवादीले पूर्वसभामुख ओनसरी घर्तीको नाम सिफारिस गरेर पठाएको छ।

२०७४ मा तत्कालीन एमालेमा हुँदा माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०२ मत ल्याएका थिए। त्यस्तै विवेकशील साझाका डा. सूर्यराज आचार्यले ७ हजार ४३६ मत ल्याएका थिए।

त्यसबेला दोस्रो भएको कांग्रेसले यसपटक काठमाडौं २ दाबी गरेको हो। तर, माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा पूर्वसभामुख ओनसरीलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने गरी सिफारिस गरिएपछि काठमाडौं २ मा त्रिपक्षीय दाबी परेको छ। तथापि, माधव नेपालको पार्टीले दाबी छाडेको र माओवादीले दाबी नछाडेको कांग्रेस नेताहरु बताउँछन्।

गोरखा २ : बाबुराम भर्सेस नारायणकाजी
गोरखा क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी केन्द्र (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीकै चिन्ह लिएर चुनाव लड्न खोजेका छन्। तर, सो क्षेत्रमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दाबी गरिरहेका छन्। यहाँ माओवादी र नेसपाबीच प्रतिस्पर्धा देखिन्छ।

त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नाम पनि गोरखा २ बाट सिफारिस भएको छ। स्थानीय तहमा ११ पालिकामध्ये ९ पालिकामा माओवादी केन्द्रले एकलौटी जितेकाले प्रचण्डलाई सो क्षेत्रमा लैजान त्यहाँको माओवादी संगठनले चाहेको छ।

२०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई हराउँदै बाबुराम भट्टराई विजयी भएका थिए। भट्टराईले कांग्रेससँग तालमेल गरेका थिए।

गोरखा दुईमा देखिएको विवाद कसरी मिलाउने भन्ने प्रचण्डको हातमा छ। राष्ट्रियसभाको सदस्य रहेका नारायणकाजीलाई चुनाव नलडाउनु एउटा विकल्प हुन सक्छ। तर, बाबुरामलाई व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि प्रचण्डकै काँधमा छ।

प्युठानमा कसलाई?
गठबन्धनमा राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ। तीमध्ये बाग्लुङको एउटा निर्वाचन क्षेत्र चित्रबहादुर केसीलाई दिने कुरामा सत्ता गठबन्धनभित्रत्र सहमति देखिए पनि प्युठानमा जित्ने उम्मेदवार चाहिन्छ भन्दै कांग्रेसले पनि दाबी गरिरहेको नेताहरु बताउँछन्। त्यस्तै, माओवादीले पनि प्युठानबाट वामदेव गौतमलाई चुनाव लडाउने प्रस्ताव गरेको छ। तर, जनमोर्चाले दाबी छाडेको छैन। जनमोर्चाले प्युठानबाट निवर्तमान सांसद दूर्गा पौडेलको नाम सिफारिस गरेको छ।   

प्युठान राष्ट्रिय जनमोर्चालाई दिने कुरामा गठबन्धनबीच सहमति जुटेको नेताहरु दाबी गर्छन्। तर, माओवादीको चिन्ह लिएर चुनाव लड्न तयार भएका वामदेव गौतमले पनि प्यूठान नै मागेका छन्। त्यसकारण यो क्षेत्रमा पनि सहमति जुटिसकेको छैन।

२०७४ को प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाले जितेको एउटा मात्र निर्वाचन क्षेत्र हो प्युठान। त्यसबेला जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले कांग्रेस उम्मेदवार डा. गोविन्दराज पोखरेललाई पराजित गरेर चुनाव जितेकी थिइन्। ४७ हजार पाँच सय १४ मत पाएर पौडेलले चुनाव जित्दा कांग्रेसका पोखरेलले भने ३१ हजार दुई सय ८६ मत मात्र ल्याएर पराजित बनेका थिए। अहिले पोखरेलले पनि चुनाव लड्न चाहेका छन्।

अहिले प्युठानमा कांग्रेसले बलियो दाबेदारी गरेको छैन, तर पौडेल र गौतममध्ये कसले टिकट पाउने निश्चित पनि भइसकेको छैन। अहिलेसम्म पौडेलले नै पाउने बलियो सम्भावना रहेको नेताहरु बताउँछन्।

प्युठानमा माओवादीका कृष्णध्वज खड्काको पनि दाबी छ। एमालेबाट भने सूर्य थापा लड्ने पक्ककापक्की जस्तै छ। 

मोरङमा ४ र ५ मिल्न बाँकी
मोरङका कुल ६ वटा निर्वाचन क्षेत्रमध्ये चार वटामा लगभग सहमति जुटिसकेको नेताहरु बताउँछन्। तर, ०७४ मा माओवादीले जितेका क्षेत्र नम्बर ४ र ५ मा भने सहमति जुट्न सकेको छैन।

मोरङ क्षेत्र नम्बर १ मा कांग्रेसका डिगबहादुर लिम्बु, २ मा डा. मीनेन्द्र रिजाल, ३ मा सुनील शर्मा र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाको नाममा कुनै विवाद नरहेको नेताहरु बताउँछन्। तरत, यसअघि माओवादीका अमनलाल मोदीले जितेको क्षेत्र नम्बर ४ र शिवकुमार मण्डलले जितेको क्षेत्र नम्बर ५ मध्ये एउटामा कांग्रेसको दाबी छ भने एउटामा जसपाको दाबी छ। माओवादीले दुबै क्षेत्रमा दाबी गरिरहेको छ।  

एमालेले मोरङ १ मा घनश्याम खतिवडा, २ मा ऋषि पोखरेल, ३ मा भानुभक्त ढकाल र ४ मा विनोद ढकाललाई उठाउने भएको छ। ६ मा लालबाबु पण्डितको नाम चर्चामा छ भने ५ मा टुुंगो लागेको छैन।

२०७४ को प्रतिनिधि सभा चुनावमा मोरङ ४ माओवादी केन्द्रले जितेको थियो। माओवादीका नेता अमनलाल मोदीले  एमालेको समेत साथ पाएर ३३ हजार पाँच सय २९ मत ल्याई कांग्रेस नेता महेश आचार्यलाई हराएका थिए। आचार्यले २६ हजार आठ सय मत पाए।

यसअघि हारेकाले आचार्य सो क्षेत्र आफूले पाउनुपर्ने अडानमा छन्। अघिल्लो चुनावमा जितेकाले यसपटक आफैले जितेको क्षेत्र राख्ने माओवादीको अडान छ। गठबन्धनमा सिटबाँडफाँटमा कुरा मिल्न यो क्षेत्रले पनि समस्या पारेको छ। यदि सहमति जुटेछ भने पनि यी क्षेत्रमा समस्या हुनसक्ने चिन्तामा गठबन्धनका नेताहरु छन्।

मोरङ ५ को समस्या पनि यस्तै छ। ०७४ को चुनावमा माओवादीका शिवकुमारले एमालेको समेत साथ पाएर २२ हजार ९४५ मत ल्याएर जित्दा कांग्रेसका अमृत अर्यालले १९ हजार १५३ मत ल्याएका थिए। जबकि यहाँ जसपाको मत कांग्रेसकै हाराहारीमा छ। ०७४ को चुनावमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीबाट राजकुमार यादवले १८ हजार ६४९ मत पाएका थिए। माओवादी भन्दा बलियो रहेका कारण जसपाले पनि यस क्षेत्रबाट आफ्नो दाबी नछाडेको हो।

मोरङका चारवटै सिट लिएको कांग्रेसले क्षेत्र नम्बर ४ र ५ माओवादी र जसपालाई छाडेन भने यी क्षेत्रमा पनि गठबन्धन भत्कने खतरा टरिसकेको छैन।

झापा १ : राम कार्की र विश्वप्रकाशको दाबी
माओवादी केन्द्र र नेपाली कांग्रेस दुबैले दाबी गरेको क्षेत्र हो, झापा–१। दाबेदार छन्, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका सचिव राम कार्की। झापा– १ मा कार्कीले ०७४ को प्रतिनिधि सभा चुनावमा शर्मालाई पराजित गरेका थिए । कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएर विजयी हुँदा शर्माले ३३ हजार तीन सय १० मत ल्याएका थिए।

यसपटक शर्माले सो निर्वाचन क्षेत्र नछोड्ने बताइरहेका छन्। तर, माओवादीले पनि सो क्षेत्र नछोड्ने अडान लिएको छ। यही कारण झापा–१ मा गठबन्धनबीच नै सहमति गराउन कठिन देखिन्छ। यहाँ माओवादी कि कांग्रेस भन्ने वादविवाद चल्ने देखिन्छ।

तथापि कांग्रेस नेताहरु माओवादीले महामन्त्री विश्वप्रकाशलाई यो क्षेत्र छाडिदिने दाबी गर्छन्।

सिन्धुपाल्चोक १ : अग्नि र मोहनको पुरानो द्वन्द्व
सभामुख अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्र हो सिन्धुपाल्चोक–१। ०६४, ०७० र ०७४ मा सोही क्षेत्रबाट विजयी भएका सापकोटा यसपटक पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। ०७४ बाहेक माओवादीको एक्लो प्रयासले सो क्षेत्र जितेका सापकोटालाई मंसिर ४ गते हुने चुनावमा छोड्न तयार छैनन् कांग्रेस नेता मोहनबहादुर बस्नेत।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा २०७४ को चुनाव झण्डै ११ हजार मतले हारेका बस्नेत यो पटक उठ्ने अड्डी कसेर बसेका छन्।

सापकोटाले  ४० हजार पाँच सय चार मत ल्याई संविधान जारी पछिको पहिलो प्रतिनिधि सभा चुनाव जित्दा कांग्रेसका बस्नेतले २९ हजार सात सय ९८ मत ल्याएका थिए । पार्टीले टिकट नदिए उनले विद्रोह गर्ने चेतावनी दिइसकेका छन्। टिकट नपाएको अवस्थामा बस्नेतका कारण सिन्धुपाल्चोकमा केही तनाव हुने देखिन्छ।

धादिङ १ : माओवादी र समाजवादीको दाबी
धादिङ क्षेत्र–१ मा नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्र दुबैको दाबी छ। बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल दुबै सो क्षेत्रबाट चुनाव लड्न चाहन्छन्। २०७४ मा पाण्डे र जम्कट्टेल दुबै प्रदेश सभामा उठेर विजयी भएका थिए।

०७४मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले कांग्रेसलाई पराजित गर्दै सो क्षेत्र जितेका थिए। ४९ हजार १ सय २१ मत ल्याएर संघीय सांसद जितेका त्रिपाठीसँग प्रतिस्पर्धा गर्न यसपटक दुबै वामपन्थी दलका पाण्डे र जम्कट्टेल तयारीमा छन्।

सोलुखुम्बु : माओवादी नछोड्ने, कांग्रेस लबिइङमा
सोलुखुम्बुमा माओवादी केन्द्र र कांग्रेस दुबै दलको दाबी छ। यसअघिको चुनावमा जितेकोले माओवादीले आँफैले पाउनुपर्ने अडान लिएको छ। कांग्रेस भने यसपटक गठबन्धनमा भएकोले मिलाउनुपर्ने र सोलुखुम्बु छोड्नुपर्ने अडानमा छ।

२०७४ को प्रतिनिधि सभामा कांग्रेसका बलबहादुर केसीलाई हराउँदै माओवादी केन्द्रका हेमकुमार राई विजयी बनेका थिए। राईले २० हजार ७४७ मत ल्याई विजयी हुँदा केसी १७ हजार २९४ मत ल्याई पराजित बने।

एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बु नछोड्न दबाब दिन केहीदिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमन्त्री समेत रहेका उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगेर भव्य कार्यक्रम गरेका थिए। माओवादी नछोड्ने र कांग्रेसले पनि दाबी गर्ने भएकोले यसपटक यो क्षेत्रमा पनि सजिलै कुरा मिल्ने देखिदैँन।

चितवन १ : कांग्रेस र एकीकृत समाजवादीको दाबी
चितवन १ मा कांग्रेसभित्रै तीव्र प्रतिस्पर्धा छ। सो क्षेत्रमा उठ्नको लागि कांग्रेसबाट ६ जनाको नाम सिफारिस भएको छ। कांग्रेसभित्रै तीव्र प्रतिस्पर्धा मात्र होइन, नेकपा एकीकृत समाजवादीले पनि सो क्षेत्र दाबी गरेको छ।

नेकपा एकीकृतका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टीले चितवन १ पाउनुपर्ने बताए। २०७४ को चुनावमा सो क्षेत्रबाट पाण्डेले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई हराएका थिए।

सुरेन्द्र पाण्डेले ५० हजार ८ सय ९६ मत ल्याई विजयी हुँदा कांग्रेसका बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए। त्यसो त गठबन्धनका दलहरुले सिट संख्याको सहमति गरेसँगै विवाद साम्य हुने बताएका छन्।

त्यसो त काठमाडौं ७, सुनसरी १, भोजपुर र मधेस प्रदेशका केही क्षेत्रमा गठबन्धनबीच कुरा मिल्न सकेको छैन। ती क्षेत्रहरुमा कांग्रेस र जसपाबीच बढी विवाद देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .