नेकपा (एमाले) का नेता तथा साहित्यकार रघुजी पन्तले नेपालमा आदिवासी नभएको दाबी गरेका छन्।
शुक्रबार प्रगतिशील लेखक संघले आयोजना गरेको ‘प्रगतिशील दृष्टिमा हाम्रा चाडपर्वहरू’ विषयक संघको ५८औँ परिसम्वाद कार्यक्रममा धारणा राख्दै संघका पूर्वअध्यक्षसमेत रहेका पन्तले सो कुरा बताएका हुन्।
‘नेपालमा आदिवासी कोही पनि छैनन्। शेर्पाहरु नेपाल आएको ५०० वर्ष भयो तर बाहुन क्षेत्रीहरु १७०० वर्षअघिदेखि काठमाडौंमा बस्दै आएका तथ्यहरु छन्’ पन्तले प्रश्न गरे, ‘अनि बाहुन क्षेत्री आदिवासी नहुने तर शेर्पाहरु कसरी आदिवासी हुन्छन्?’
तामाङहरुको नयाँ वर्ष तिब्बतीय संस्कृति भएको, दूर्गा पूजाको संस्कृति पश्चिम बंगालको संस्कृति भएको उदाहरण दिँदै उनले नेपालमा सांस्कृतिक अतिक्रमण बढ्दै गैरहेको बताए। साथै प्रकृतिसँग जोडिएका संस्कृतिहरुलाई वैज्ञानिकरण गर्दै जानुपर्ने धारणा राखे।
पन्तले नेपालका परम्परा, संस्कृति तथा चाडपर्वहरुको मौलिकताको रक्षा गर्दै यसलाई वैज्ञानिक रुप दिनुपर्ने आवश्यकता पनि औँल्याए।
पन्तले ‘हिन्दू धर्म भित्रका जातीय विसंगतिलगायतका विकृतिहरुलाई समाधान नगर्ने हो भने इसाइकरणको प्रक्रियालाई रोक्न नसकिने’ बताए।
प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षता, महासचिव डा.देवी दुलाल क्षेत्रीको सञ्चालनमा अगाडि बढेको परिसम्वाद कार्यक्रममा संघका उपाध्यक्ष तथा परिसम्वाद कार्यक्रमका संयोजक समीर सिंहले विषयवस्तुमाथि प्रष्ट पारेका थिए।
परिसम्वाद कार्यक्रममा आरसी न्यौपाने, डा.धनप्रसाद सुवेदी, लोकबहादुर थापा, तेजविलास अधिकारी, डा.कौशिला रिसाल, रामचन्द्र खतिवडा, इश्वरी शर्मा लगायतले पुरक टिप्पणी गरेका थिए।
प्रतिक्रिया