ad ad

राजनीति


फरक क्षेत्रका दर्जन अनुहारले लेख्दै छन् कांग्रेसको घोषणापत्र

फरक क्षेत्रका दर्जन अनुहारले लेख्दै छन् कांग्रेसको घोषणापत्र

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०७९ बिहिबार १८:४, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्र तयार गरिरहेको छ। 

घोषणा पत्र निर्माणका लागि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४२ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन गरेको छ। 

समितिको पहिलो बैठकले अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको संयोजकतवमा ‘घोषणापत्रको प्रारम्भिक मस्यौदा समिति’ गठन गरेको छ। योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेलाई भावी अर्थमन्त्रीका रुपमा हेरिन्छ। 

कांग्रेसको ‘घोषणापत्र तयारी समिति’ मा साहित्यकार श्रवण मुकारुङ पनि सदस्य छन्। ‘बिसे नगर्चीको बयान’ का स्रष्टा मुकारुङले लेखेको कविताले दोस्रो जनआन्दोलनमा सडक आन्दोलन तताउन योगदान पुर्याएको थियो। 

घोषणा पत्रमा उनले ‘सडकको भावना प्रतिनिधित्व’ गर्ने कांग्रेसले जनाएको छ।  

त्यस्तै नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दास पनि समितिका सदस्य छन्। कांग्रेसका अनुसार उनले नेपालको खेलकुद पहिचान र उद्योग सन्दर्भमा खेलकुद जगतको टिमको प्रतिनिधित्व गर्नेछन्। 

ओस्कारमा मनोनीत नेपाली फिल्मका निर्देशक मीन भामलाई पनि कांग्रेसले ‘घोषणापत्र तयारी समिति’ सदस्य बनाएको छ। उनी पिछडिएको कर्णाली प्रदेशको मुगु जिल्लाको विकट गाउँका अन्तर्राष्ट्रिय पहिचान बनाइरहेका नेपाली युवा हुन्। 

भामको लेखन र निर्देशन रहेको चलचित्र ‘कालो पोथी’ सन् २०१७ मा विश्व प्रसिद्ध पुरस्कार ओस्कारको मनोनयनमा परेको थियो। घोषणा पत्र समितिमा भामले साहित्य, रंगमञ्च र सिनेमाको प्रतिनिधित्व गर्नेछन्।

चितवनको खेती किसानीदेखि युरोपको युनिभर्सिटीसम्म डा. संजय महतो थारु पनि समितिमा सदस्य छन्। उनी चितवनको सौराहामा खेती किसानीमा संलग्न थारु समुदायका युवा हुन्। 

डा. महतो राजनीतिक समाजशास्त्रमा विधावारिधि गरेका तथ्यांक विश्लेषण विज्ञसमेत हुन्। उनी युरोपको कोपनहेगन युनिभर्सिटीमा ‘ग्लोबल डेभलपमेन्ट’ विषयमा फिल्ड रिसर्च कोअर्डिनेटरको कार्य समेत गर्दै आएका छन्। 

समितिमा समग्रमा तथ्यांकको तथा विषयगत रूपमा कृषि क्षेत्रको संयोजन गर्ने कांग्रेसले जनाएको छ। 

अमेरिकी जीवन त्यागेर नेपाल फर्केका युवा दिपेश घिमिरे समाजशास्त्री हुन्। उनी केही वर्ष अमेरिकी जीवन बिताएर श्रीमती र बच्चासहित नेपाल फर्किएका छन्। 

हाल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र प्राध्यापन गर्दै आएका घिमिरेलाई पनि कांग्रेसले घोषणा पत्र निर्माणमा लगाएको छ। 

जापानको सोका युनिभर्सिटीमा ‘विकास अर्थशास्त्र’ मा विधावारिधी गरिरहेका घिमिरेले समितिमा विश्वभर छरिएको नेपाली डायस्पोराको भावना संयोजन गर्ने बताइएको छ।  

मधेशी महिलाको शिक्षा र जीवनमा विधावारिधि गरेकी डा. प्रीति मण्डल पनि समितिमा छन्। सिरहाकी युवा डा. प्रीतिले मधेशी महिलाको भावना र सम्भावनालाई घोषणा पत्रको समितिमा प्रतिनिधित्व गर्ने कांग्रेसले जनाएको छ।  

कर्णालीको भूगोल र भावनाको प्रतिनिधित्व गराउन कांग्रेसले नेतृ रंगमती शाहीलाई घोषणा पत्र निर्माणमा लगाएको छ। उनी कर्णालीको विकासलाई सदैव केन्द्रीय मुद्दा बनाएकी हुम्लाकी अभियन्ता हुन्।

 ‘काठमाडौंमा धूलो छैन, मेरो विरोध गर्न विरोधीहरुले मास्क लगाएका हुन्’ भन्ने अभिव्यक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि निवर्तमान प्रतिनिधिसभा सदस्य शाहीले ओलीलाई आफ्नो स्कुटीमा पछाडि बसेर काठमाडौंको सडक घुम्न चुनौती दिएकी थिइन्। 

फर्स्ट टाइम भोटरको प्रतिनिधित्व गराउँदै कांग्रेसले २२ वर्षीय युवा विकल राईलाई पनि समितिमा राखेको छ। उनी सामाजिक क्षेत्रमा क्रियाशील नेपाली युवाको साझा संगठन ‘एसोसिएसन अफ युथ अर्गनाइजेसन’ नेपाल (आयोनं) का केन्द्रीय अध्यक्ष हुन्। 

किराँती युवा विकलले कांग्रेसको घोषणा पत्र तयारी समितिमा देशभरका ‘फस्ट टाइम भोटर’हरुको मुद्दा र भावनाको प्रतिनिधित्व गरिरहेका छन्। 

सामाजिक रुपान्तरणको मुद्दा बोकेर प्रकाश लामिछाने घोषणा पत्र तयारी समितिमा सहभागी भएका छन्। अघिल्लो वर्ष कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘सामाजिक रुपान्तरणका लागि नवीन बहस’को कार्यक्रम ‘ऐना’ को रिसर्च हेड थिए। 

घोषणापत्रको समितिमा नेपाली समाजमा रहेका अनेकौँ सामाजिक विसंगतिको ‘रुट कज’ अध्ययन एवं अन्त्य गर्ने सोच, संकल्प र समयावधि बारे समाजको भावना र दृष्टिकोणको प्रतिनिधित्व गर्दै छन्।

कांग्रेसले घोषणापत्रमा अपांगता क्षेत्रको भौतिक र भावनात्मक प्रतिनिधित्व गराउन भोजराज श्रेष्ठलाई सदस्य बनाएको छ। एक अध्ययनअनुसार नेपालमा ५ लाख भन्दा बढी नागरिकहरु शारीरिक रुपले अपांग स्थितिमा बाँचिरहेका छन्। 

ह्विल चेयरमा बसेर आफ्नो जीवन चलाइरहेका श्रेष्ठ अपांगता भएका नेपाली नागरिकको सम्मानित जीवनका लागि संघर्षरत एक अभियन्ता हुन्। उनले घोषणापत्र निर्माण समितिमा आफ्नो समुदायको विचार र भावनाको प्रतिनिधित्व गर्ने कांग्रेसले जनाएको छ। 

अल्पसंख्यकको मुद्दामाथि विधावारिधीको दृष्टिकोण प्रतिनिधित्व गर्दै डा। विश्वविभु घिमिरे कांग्रेसको घोषणा पत्र निर्माणमा जुटेका छन्। पूर्वी नेपालमा रहेका राजवंशी समुदायमाथि विधावारिधि गरेका डा. घिमिरेले घोषणा पत्र समितिमा अल्पसंख्यकहरु मथिको गहिरो अध्ययनको प्रतिनिधित्व गर्दै छन्। 

स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गराउन कांग्रेसले डा. अञ्जनी झालाई घोषणा पत्र निर्माणमा खटाएको छ। उनी डा. गोविन्द केसीका तर्फबाट विगतमा सरकारसँग वार्ता गर्ने टिमका सदस्य हुन्। डा. झा नेपाल मेडिकल काउन्सिलका पूर्व अध्यक्ष पनि हुन्।

इन्जिनियरिङ क्षेत्रको प्रतिनिधित्व गराउँदै कांग्रेसले डा.ई हरि दर्लामी मगरलाई समिति सदस्य बनाएको छ। मगर समुदायका युवा डा. दर्लामी नेपाल इन्जिनियर्स एसोसिएसनको गत निर्वाचनबाट राष्ट्रिय अध्यक्षमा विजयी भएका थिए।

माइती नेपालकी प्रमुख सीएनएन हिरोका रूपमा विश्वप्रसिद्ध अनुराधा कोइराला पनि कांग्रेसको घोषणा पत्र लेखनमा छन्। 

उनले महिलाको मुद्दा घोषणा पत्रमा समेट्न सघाउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .