राजनीति


कालापानीबाट भारतीय फौज हटाउन संसदीय समितिको निर्देशन

 कालापानीबाट भारतीय  फौज हटाउन संसदीय समितिको निर्देशन

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १०:२७,

संसदीय समितिले नेपाली भूभागको रुपमा रहेको लिम्पियाधुरालाई समावेश गरेर नेपालको नयाँ नक्सा तत्काल जारी गर्न निर्देशन दिएको छ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै समितिले नेपाली भूमिको रक्षाका लागि लिम्पियाधुरा, लिपुलेख र कालापानीमा रहेका भारतीय सुरक्षा फौज फिर्ता समेत सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै बैठकले भारतको अतिक्रमणमा परेको नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अबिलम्ब वार्ता गरी समस्या समधान गर्न समेत निर्देश गरेको छ।

बैठकमा सांसदहरुले नेपालको भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाको कालापानीसमेतका क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई सहजरूपमा आवतजावत गर्न बाटो र अन्य सेवासुविधाको उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो क्षेत्रलगायत अन्य सीमा क्षेत्रमा सुरक्षा पोष्ट विस्तारका लागि सशस्त्र प्रहरी बलको दरबन्दी बढाउन लागेको जानकारी दिए। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सीमा विवाद समाधानका लागि सरकारको पहल सकारात्मकरूपमा अघि बढेको अवगत गराउँदै सो क्षेत्रका सम्पूर्ण नेपाली भूमि समेटेर शीघ्र नयाँ नक्सा जारी गर्ने बताए।

समिति सभापति पवित्रा निरौला (खरेल)को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल, समिति सदस्यहरु प्रकाशमान सिंह, मोहन बानियाँ, भीम रावल, सरिता गिरी, अग्नि सापकोटा र उमा रेग्मीले भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई सुझाब दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad