ad ad

राजनीति


अपूरो संसदीय समितिमार्फत उम्मेदवार टुंगो लगाउँदै कांग्रेस

समानुपातिकमा सिफारिस नामहरु ‘सर्ट लिस्टिङ’ का लागि फिर्ता
अपूरो संसदीय समितिमार्फत उम्मेदवार टुंगो लगाउँदै कांग्रेस

फाइल तस्बिर


केशव सावद
असोज २, २०७९ आइतबार ११:४५, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अपूरो केन्द्रीय संसदीय समितिमार्फत् आसन्न निर्वाचनका लागि उम्मेदवार टुंग्याउन लागेको छ। 

मंसिर ४ का लागि तय भएको प्रादेशिक र संसदीय निर्वाचनका लागि कांग्रेस अपूरो केन्द्रीय संसदीय समितिमार्फत् समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार टंग्याउन लागेको हो। 

कांग्रेसले निर्वाचन आयोगमा सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने तयारी गरेको छ।

आयोगले आइतबार र सोमबार गरी दुई दिन दलहरुलाई समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउन भनेको छ। 

कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार टुंग्याउन तल्लो तह हुँदै प्रदेश कार्यसमितिमार्फत् केन्द्रमा सिफारिस भएकाहरुको सूची पुनः प्रदेश कार्यसमितिमै फिर्ता पठाएको छ।

आकांक्षीहरुको सूची लामो भएका कारण नाम काटछाँट गर्न कांग्रेसले सिफारिसहरुको नामावली फेरि प्रदेश कार्यसमितिमै फिर्ता पठाएको हो। 

कांग्रेसले कसरी बाँड्छ टिकट?

कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले केन्द्रीय कार्यसमितिबाट सिफारिस नामहरु ‘सर्ट लिस्टिङ’ का लागि फिर्ता आएको जानकारी दिए। उनका अनुसार आइतबार सातवटै प्रदेश कार्यसमितिलाई उम्मेदवारहरुको सिफारिस सूची काटछाँट गर्न निर्देशन दिइएको छ।   

प्रदेश कार्यसमितिले प्रदेश संसदीय समितिको बैठकबाट समानुपातिकतर्फ सिफारिसहरुको नाम संशोधन गरेर फेरि केन्द्रीय कार्यसमितिमा पठाउने प्रदेश सभापति पुनले बताए। प्रदेशबाट संशोधनसहित सिफारिस आएपछि आइतबार नै केन्द्रीय संसदीय समितिको बैठक बस्ने सानेपा स्रोतले जनाएको छ।    

कांग्रेसले गत वैशाख ११ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट केन्द्रीय संसदीय समिति गठन गरेको थियो। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरहरूको टिकट वितरण गर्नका लागि कांग्रेसले संसदीय समिति गठन गरेको हो।   

कार्यसम्पादन समितिको उक्त बैठकमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय समिति सदस्यमा सिफारिस गरेका थिए। योसँगै कांग्रेसको केन्द्रीय संसदीय समिति १४ सदस्यीय भएको छ।

जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ जना सहमहामन्त्री र वरिष्ठ नेता पौडेल पर्दछन्।

सभापति देउवाले पौडेलबाहेक अन्य १० जनाको नाम सिफारिस गर्न बाँकी छ। यस्तै विधानअनुसार पदेन सदस्य हुने कोषाध्यक्ष पनि उनले मनोनित गर्न बाँकी छ।

कांग्रेसको केन्द्रीय संसदीय समिति २५ सदस्यीय हुन्छ। पार्टीको केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुन्छन्। यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुन्छन्। 

संसदीय समिति गठन गर्दा सभापतिले केन्द्रीय सदस्यमध्येबाट ११ जनालाई सदस्यका रुपमा प्रस्ताव गर्दछन्। सभापतिले सदस्यहरुको नाम प्रस्ताव गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखेर गर्नु पर्ने व्यवस्था छ। 

विधानअनुसार संसदीय दलको नेता संसदीय समितिको पदेन सदस्य हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .