राजनीतिको माध्यमबाट समाज परिवर्तनसँगै देश विकासको सपना बोकेर विभिन्न दलमा आवद्ध देशभरका अधिकांश नेताहरु यतिबेला संघीय राजधानी काठमाडौंमा भेला भएका छन्।
आशन्न निर्वाचनका लागि उम्मेदवारका रुपमा सिफारिस भएका उनीहरु केन्द्रमा आ–आफ्ना नेता रिझाएर टिकटको ‘लबिङ’ का लागि संघीय राजधानी काठमाडौं आएका हुन्।
जिल्लाबाट आएका नेताका कारण यतिबेला सुन्धाराका होटलहरु भरिभराउ छन्। पार्टी कार्यालयदेखि केन्द्रीय तहका नेताहरुका घरहरु पनि जिल्लाबाट आएका नेताहरुको भिडभाड देखिन्छ।
जिल्लाबाट आएका नेताहरु आफू सिफारिस भएको क्षेत्रमा टिकट लिएर फर्किने आश राखेर नेताका घर–घर धाइरहेका छन्। जिल्ला र प्रदेशबाट ठूलो संख्यामा आकांक्षीका रुपमा सिफारिस गरिएपछि पार्टीहरुलाई उम्मेदवार छान्न सकस छ।
दलहरु अहिले मंसिर ४ मा हुन गइरहेको प्रदेशिक र संघीय निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवार छनोटका लागि मापदण्ड बनाएर गृहकार्य गरिरहेका छन्। निर्वाचन आयोगले दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न शनिबार र आइतबार (असोज २ र ३ गते) दुई दिन समय दिएको छ।
आयोगले उम्मेदवारको बन्दसूची छानविन गरी आवश्यकताअनुसार सच्याउनका लागि दलहरूलाई असोज ४ गते सूचना दिने कार्यतालिका बनाएको छ। उक्त कार्यतालिका बमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्न पाउनेछन्।
यस पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि ६८ दलहरुले निवेदन आयोगमा बुझाएका छन्।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा गरिएको व्यवस्था बमोजिम दलहरुले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ बढीमा ११० र कम्तीमा ११ जना उम्मेदवारको नाम सूचीकृत गरेर आयोगसमक्ष बुझाउनुपर्दछ।
तर, दलहरुले समानुपातिक प्रणालीको बन्दसूचीमा उम्मेदवारका रुपमा आयोगमा नाम पठाएका सबै नेताहरु भने प्रतिनिधिसभा सदस्य बन्न सम्भव हुँदैन। ठूला तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ११० जनाको दरमा नाम बन्दसूचीमा समावेश गरे पनि बढीमा ४० जनामात्रै निर्वाचित हुने सम्भावना देखिन्छ।
बन्दसूचीमा २२७३, निर्वाचित ११०
२०७४ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले बन्दसूची आयोगमा बुझाएका थिए। बन्दसूची बुझाएका दलका तर्फबाट ११० सिटका लागि २ हजार २७३ उम्मेदवार थिए।
जसमध्ये नेकपा एमालेबाट ४१, नेपाली कांग्रेसबाट ४०, नेकपा माओवादी केन्द्रबाट १७, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट ६ र तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट ६ जना समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
Shares
प्रतिक्रिया