सत्तारुढ पाँच दलीय गठबन्धनमा प्रत्यक्षतर्फको भागबन्डा नमिलेपछि नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले समानुपातिक उम्मेदवारहरूको बन्दसूची तयार पार्ने प्रक्रिया अघि बढाएको छ।
बैठकले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तयार गर्न पार्टी प्रदेश समितिहरुले बिहीबारभित्र प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेश गर्नुपर्ने भएको छ।
उक्त बैठकले समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहोर्याउने र भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकालाई प्राथमिकता नदिने निर्णय लिएको छ।
त्यस्तै गरी केन्द्रमा सूची पेश गर्दा सम्बन्धित प्रदेश समितिको बैठकले अनिवार्य निर्णय गरेकै हुनै पर्ने शर्त पनि पार्टी पदाधिकारीहरुले बनाएका छन्।
क्षेत्र बाँडफाँट बाँकी
प्रचण्डको सचिवालयले गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँटबारे सकारात्मक दिशामा छलफल भइरहेको जनाएको छ।
तर बुधबार आएको समाचार जस्तो सबै क्षेत्र मिलिनसकेको पनि उल्लेख गरिएको छ।
'यसबारे अनावश्यक भ्रमित नहुन पनि आग्रह छ। समानुपातिक प्रतिनिधित्व सूची पेश गरिसकेपछि आगामी असोज ४ गते गठबन्धनको बैठकले क्षेत्र बाँडफाँट टुंगो लगाउने समझदारी बनेको छ', प्रचण्डको सचिवालयले भनेको छ।
Shares

प्रतिक्रिया