राजनीति


युरोपेली आकाशमा नेपाली वायुसेवा उड्ने वातावरण बनाइदिन फ्रान्सेली सांसद टोलीसँग आग्रह

युरोपेली आकाशमा नेपाली वायुसेवा उड्ने वातावरण बनाइदिन फ्रान्सेली सांसद टोलीसँग आग्रह

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १६:६, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिहीबार भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्याएको योगदानको उनले प्रशंसा गरे।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए।

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणको आदान–प्रदानले विद्यमान सम्बन्धलाई गति दिने विश्वास व्यक्त गरे।

‘दुवै देशका संसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन्। यस्ता उत्कृष्ट अभ्यासहरू र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौँ’ उनले भने, ‘दुवै संसदमा नेपाल–फ्रान्स संसदीय समूह गठन भएकोमा म खुसी व्यक्त गर्न चाहान्छु।’ 

अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे। उनले कोभिड–१९ महामारीसँग लड्दा नेपाललाई फ्रान्सले गरेको चिकित्सा सहयोगका लागि धन्यवाद व्यक्त गरे। 

‘नेपालको खोप अभियानमा कोभ्याक्स् सुविधामार्फत फ्रान्सको सहयोग प्राप्त गरेका छौं’ उनले भने।

दुई देशबीच व्यापार, पर्यटन र पूर्वाधारका क्षेत्रमा थप सहयोगको प्रशस्त सम्भावना रहेको अध्यक्ष तिमिल्सिनाले बताए।

‘युरोपियन आकाशमा नेपाली वायुसेवा उड्न पाइरहेको छैन, यहाँहरूमार्फत समन्वय गरेर नेपाली जहाज उड्ने वातावरण बन्नेछ भन्ने विश्वास गरेको छु’ उनले भने।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साल्मोनले नेपालमा गरिएको आतिथ्यतामा लागि आभार व्यक्त गरे। उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले संयुक्त रुपमा प्रयास गर्नुपर्ने, फ्रान्सले गरेको पर्यापर्यटन अभ्यासबारे जानकारी गराउँदै नेपालको लागि सो सम्बन्धमा सहयोग गर्न तत्पर रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad