राजनीति


जीएमआरसँगको सम्झौता तत्काल खारेज गरियोस् : भीम रावल

जीएमआरसँगको सम्झौता तत्काल खारेज गरियोस् : भीम रावल

नेपालखबर
भदौ २२, २०७९ बुधबार १६:१२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जीएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैँले अगाडि बढाउन पनि आग्रह गरे। 

उनले विगतमा गरिएको सर्तहरू उल्लंघन गर्ने, नेपालको राष्ट्रिय हित विपरित हुने गरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौता रद्द गरेर नेपाल सरकार आफैँले वित्तिय व्यवस्थापन गरेर सो आयोजना अघि बढाउनुपर्ने स्पष्ट पारे। 

नेता रावलले भने, ‘जीएमआर कम्पनीले माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई निर्माण नगरी लामो समयसम्म ओगट्दै सम्झौताको उल्लंघन गर्दै नेपाललाई क्षति पुर्याउनुको साथै राष्ट्रिय हितमा आँच पु¥याएकाले यो सम्झौता तत्काल खारेज गरियोस्। उक्त आयोजनालाई जनसहभागिता र नेपाल सरकारको लगानीमा अगाडि बढाइयोस्। नेपालको सबैभन्दा राम्रो र उत्पादित विद्युतको मूल्य तुलनात्मक रुपमा कम हुने माथिल्लो कर्णाली जलविद्युत आयोजनामा संलग्न सम्झौता विपरित वित्तिय व्यवस्थापनको म्याद फेरि थपिनु आपत्तिजनक छ।’ 

रावलले थपे, ‘सम्झौता अनुसार जीएमआरसँगको सम्झौता रद्द गरी सो आयोजनालाई अनिश्चयको भुमरीबाट जोगाईयोस्। नेपाल सरकार आफैँले जनताका सहभागिता समेतमा वित्तिय व्यवस्थापन गरी सो आयोजनाको काम अगाडि बढाओस्। कुनै एउटा विदेशी कम्पनीको सामू नझुकी सम्झौताहरूको सर्तहरू पालना गरी, गर्न लगाई राष्ट्रिय हितको संरक्षण गरियोस।’  

नेता रावलले सम्झौता विपरितका गतिविधिमा संलग्न सो कम्पनीसँग पटकपटक झुक्ने काम गरिरहेको भन्दै सरकारको पनि कडा आलोचना गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad