ad ad

राजनीति


काठमाडौं ७ : रामवीर एमालेको सिफारिसमै परेनन्, राजेन्द्र श्रेष्ठदेखि मानुषीसम्म दौडमा

काठमाडौं ७ : रामवीर एमालेको सिफारिसमै परेनन्, राजेन्द्र श्रेष्ठदेखि मानुषीसम्म दौडमा

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १९:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको समेत साथ पाएपछि नेकपा एमालेका उम्मेदवार रामवीर मानन्धरले २०७४ को संसदीय निर्वाचनका काठमाडौं क्षेत्र नम्बर ७ बाट सजिलै जित निकालेका थिए। 

काठमाडौंको उत्तरी काँठ क्षेत्रमा बलियो पकड बनाएका रामवीरले त्यसबेला १८ हजार १०२ मत ल्याउँदै प्रतिनिधिसभामा सिट पक्का गरेका थिए। 

वाम गठबन्धन गरेपछि माओवादीको समेत भोट थपिँदा उनी ८ हजारभन्दा धेरै मतले विजयी भएका थिए। उनीसँग पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रमबहादुर थापाले १००७९ मतमा चित्त बुझाएका थिए। 

तर, २०७४ को निर्वाचनमा उपत्यकामा एमालेको बलियो उपस्थिति देखाउन भूमिका खेलेकामध्ये एक सांसद रामवीरलाई एमालेको क्षेत्रीय कमिटीले मंसिरको निर्वाचनका लागि सिफारिस सूचीमै पारेन।

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका क्रममा काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितलाई हराउन खेलेको भूमिकालाई लिएर पार्टी नेतृत्व उनीसँग रुष्ट छ।

स्थानीय निर्वाचनको प्रचार चलिरहेका बेला एमाले सांसदकै हैसियतमा रामवीर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारसमेत छिरे। त्यस्तै कांग्रेस उम्मेदवार सिर्जना सिंहको चाक्सीबारीस्थित निवास छिरेर पनि उनले गोप्य वार्ता गरे।

रामवीरको शंकास्पद भूमिकाबारे एमालेको स्थानीय नेतृत्वले बालकोट पुगेर उतिबेलै अध्यक्ष केपी शर्मा ओलीलाई रिपोर्टिङ पनि गरेको थियो। तर ओलीले रामवीरलाई कारबाही गर्दा तत्काल चुनावी परिणाममा असर पर्ने भन्दै रोकेका थिए। 

त्यसबेला एमालेको कारबाहीबाट जोगिएका रामवीरलाई एमालेले मंसिर ४ को आमनिर्वाचनका लागि स्थानीय कमिटीको सिफारिसबाटै 'आउट' गरिदिएको छ।

क्षेत्रीय कमिटीले सिफारिसमै नपारे पनि आफू एमालेबाटै फेरि प्रतिनिधिसभामा उठ्ने जिकिर उनले गर्दै आएका छन्। 

'सिफारिसमा छुट्दैमा केही बिग्रिएको छैन', उनले भने, 'म फेरि पनि यही क्षेत्रबाट प्रतिनिधिसभामै उठ्ने हो।'

एमालेबाट को को? 
रामवीरलाई तलैबाट छुटाएको एमालेले काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई भने काठमाडौं ७ र ९ बाट उम्मेदवारका रुपमा सिफारिस गरेको छ। 

एमालेले क्षेत्र नम्बर ७ बाट यसअघि ललितपुरलाई राजनीतिक केन्द्र बनाएका रघुजी पन्तसहित पाँच जनाको नाम सिफारिस गरेको छ। 

यस क्षेत्रमा दाबी गरेका पाँचै नेताको नाम सिफारिस भएको हो। रामवीरलाई छुटाइएको यस क्षेत्रमा रघु पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, विपी ढकाल र श्याम घिमिरे रहेका छन। शाक्य काठमाडौंका पूर्व मेयर पनि हुन्। 

अन्य दलबाट दौड 
सत्ता गठबन्धनमा रहेको जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठ पनि यो पटक काठमाडौं ७ बाट उठ्न चाहन्छन्। 

उनले त्यसका लागि सामाजिक सञ्जालमार्फत प्रचार नै थालिसकेका छन्। कांग्रेस, माओवादी र एकीकृत समाजवादीको पनि साथ पाएकाले उनी यो पटक टिकट लिएर जित निकाल्ने दाउमा छन्। 

तर उनले ताकेको काठमाडौं ७ मा जनता समाजवादीको उपस्थिति भने कमजोर रहेको रिपोर्ट स्थानीय तहको परिणामले देखाएको छ।

यहाँ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा जसपाबाट वडाध्यक्षका उम्मेदवारले २ सय मत पनि कटाउन सकेका थिएनन्। 

यो क्षेत्रबाट लड्न तयार रहेको सन्देश संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रेष्ठले फेसबुकमार्फत दिएका हुन्। 

उनले फेबुकमा 'संघीयता सुशासन समृद्धि र समाजवाद' नारासहित जनता समाजवादीको छाता चुनाव चिह्न लिएर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा उठ्न तयार रहेको बताएका छन्। 

श्रेष्ठले यो क्षेत्रबाट यसअघि एमालेमै हुँदा मात्रै जितेका थिए। एमाले छाडेर संघीय समाजवादीमा लागेका उनी दुई पटक हारिसकेका छन्। तर उनी यो पटक कमजोर जनाधार भए पनि गठबन्धनको बलमा चुनाव जित्ने दाउमा लागेका हुन्। 

श्रेष्ठले दाबी गरेको यो क्षेत्रमा स्थानीयको नतिजा अनुसार कांग्रेस सबैभन्दा बलियो छ। त्यसपछि एमाले बलियो देखिएको छ। २०७४ मा एमालेले जितेर राप्रपा दोस्रो भएको यो क्षेत्रमा कांग्रेसले दाबी गर्ने सम्भावना कमजोर छ। 

मानुषी यमी पनि तयार
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रकी हिसिलाले एमालेका राजेन्द्रलाई हराएकी थिइन्।  

त्यसपछि राजेन्द्र २०६९ सालमा अशोक राईसँगै एमाले छाडेर उनी संघीय समाजवादीतिर लागेका थिए।

रोचक के छ भने राजेन्द्रलाई हराएकी हिसिला पुत्री मानुषी यमी भट्टराई पनि यही क्षेत्रबाट उठ्ने दौडमा छिन्। 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पुत्री मानुषीलाई यहाँबाट प्रतिनिधिसभामा लैजान लविङ गरिरहेका छन्। 

माओवादीसँग मिलेर चुनाव लड्ने निर्णय गरिसकेको बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई सत्ता गठबन्धनले स्वीकारेमा यो क्षेत्रमाथिको दाबी रोचक हुनेछ।

एमालेसँग भिड्नका लागि यो क्षेत्रमा कमजोर जनाधार भएका दलका एक उम्मेदवार खडा हुने अवस्था छ।

बाबुराम भट्टराईले जनता समाजवादी छाडेर नयाँ पार्टी बनाएको महिना पनि पूरा भएको छैन। यस्तोमा पुत्रीलाई उनले अघि सार्दा सत्ता गठबन्धनकै सहारा लिनुपर्ने बाध्यता छ। 

बाबुराम आफैँ भने गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा जान तयार छन्। गोरखामा यो पटकको स्थानीय तह निर्वाचनमा माओवादीले बलियो पकड बनाउन सफल भएपछि उनी प्रचण्डसँग मिलेर जित्ने तयारीमा छन्। 

तर, यता मानुषीलाई भने बाबुरामले काठमाडौं ७ बाट उठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ। बौद्धिक नेतृका रुपमा दरिने उनले टिकट पाएमा गठबन्धनले साथ दिएको अवस्थामा कांग्रेस र माओवादीको भोटले जित्नुपर्ने बाध्यता छ।

अर्कातिर पछिल्लो समय नेपालमा युवा र स्वतन्त्रको लहर चलेकाले त्यसका आधारमा पनि काठमाडौंका मतदाताको भोट तान्ने विश्वास मानुषीमा छ।

'गठबन्धनको साथ लिएर नै मानुषी काठमाडौं ७ बाट उठ्ने हो', उनीनिकट नेपाल समाजवादीका एक नेताले भने, 'त्यसो नभएमा एक्लै जित्न हाम्रो पार्टी नयाँ भएकाले सजिलो छैन। तर पनि यसबारे गठबन्धनसँग छलफल भइरहेको छ।' 

छैन राप्रापको दाबी 
२०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं ७ मा दोस्रो भएको थियो। एमालेका रामवीर विजयी हुँदा यहाँ  पराजित राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रमबहादुर थापाले १००७९ मत ल्याएका थिए।

यो पटक राप्रपाले एमालेसँग मिलेर चुनावी मैदानमा जाने तयारी गरेको छ। राप्रपाका एकजना पदाधिकारीका अनुसार २०७४ मा उत्साहजनक भोट आएको काठमाडौं ७ मा पार्टीको दाबी छैन।

राप्रपाले पनि यहाँ दाबी छाडेको अवस्थामा अब एमालेसँग गठबन्धनका साना दलका एक उम्मेदवारले प्रतिस्पर्धा गर्नुपर्ने छ। यस्तोमा यो क्षेत्रमा कांग्रेसको भोट नै निर्णायक हुने देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .