नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुलाई हेप्न थालेको गुनासो गरेका छन्।
पार्टीनिकट युवा संघ नेपालको महाकाली-मेची युवा जागरण अभियानलाई बुधबार काठमाडौंमा शुभकामना दिने क्रममा नेपालले यस्तो भनेका हुन्।
उनले सम्बोधनका क्रममा भ्रष्टाचारीलाई जोगाउने र साँठगाँठ गर्ने काम आफूहरुलाई मान्य नहुने बताएका छन्।
'हामीले भ्रष्टाचार समाप्त गर्न चाहेका हौँ', उनले भने, 'त्यसकै लागि अहिले हामी पाँच दलीय गठबन्धनसँग हातेमालो गर्न खोजेका छौँ।'
नेपालले पाँच दलीय गठबन्धनलाई आफूहरुले जसरी अघि बढाउन खोजियो, त्यस्तो हुने लक्षण नदेखिएको पनि बताएका छन्।
'गठबन्धन गर्दा हाम्रो पार्टीलाई जुन हिसाबले अघि बढाउन खोजेका छौँ', उनले भने, 'हामीलाई कसैले पनि नजरअन्दाज नगरून्। जम्मै सिट आफूले लिएर उब्रेको सिट हामीलाई दिने काम नगर्नू।'
उनले गठबन्धनले हेपिरहेमा आफूहरु एक्लै बढ्न तयार रहेको पनि बताए। 'हामी गठबन्धनसँग सति जाने कुरा त गर्दैनौँ। त्यस्तै पर्यो भने हामी एक्लै अघि बढन् सक्छौँ', उनले भने, 'सबैलाई फाइदा हुन्छ भने गठबन्धन हुन्छ। तर हामी कसैको सत्ताको भर्याङ हुन सक्दैनौँ।'
Shares

प्रतिक्रिया