राजनीति


भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

तस्बिर: राजन काफ्ले


नेपालखबर
भदौ ११, २०७९ शनिबार १७:५१, काठमाडौँ

नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ।

शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिने निर्णय गरेको हो। सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधि सभा र सम्बन्धित प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ। एमालेले उम्मेदवार छनौटको मापदण्ड पनि तय गरेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए।

एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भएँ भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ।

‘सम्बन्धित क्षेत्रको क्षेत्रीय कमिटीले सम्बन्धित क्षेत्रको उम्मेदवार सिफारिस गर्ने। एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने, प्रदेशसभा निर्वाचनको उम्मेदवार पनि सोहीअनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गर्ने। गरिएको सिफारिसमा सम्बन्धित कमिटीको अन्य राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्ने। सिफारिसमाथिको अन्तिम निर्णय केन्द्रले गर्ने,’ गुरुङले भने।

 

एमालेले निर्वाचन परिचालनमा युवाहरुलाई समेट्ने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ। अनेरास्ववियू, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघका आबद्ध युवाहरुलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको एमालेले जनाएको छ। बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको गुरुङले जानकारी दिए।

गुरुङका अनुसार बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ। बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानबिनन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो। त्यसैगरी पार्टीको केन्द्रिय अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोगले पनि बैठकमा आ–आफ्नो कामको प्रगति विवरण बैठकमा प्रस्तुत गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .