ad ad

राजनीति


एकीकृत समाजवादीका यी नेता, संघीय संसदको उम्मेदवार पक्का

एकीकृत समाजवादीका यी नेता, संघीय संसदको उम्मेदवार पक्का

सागर न्यौपाने
भदौ ७, २०७९ मंगलबार २१:३०, काठमाडौँ

पाँचदलीय गठबन्धनबीच मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटको गृहकार्य जारी छ। कुन दलले कति सिट पाउने निश्चित भइसकेको त छैन तर, गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने केही नेताहरु र उनीहरुको निर्वाचन क्षेत्र भने टुंगो लागेको छ।

गठबन्धनमा प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० सिट बाँडफाँट भइसकेको छैन। त्यही भएर समाजवादीले पाउने संख्या पनि यकिन छैन।

तर, समाजवादीले पाउने केही सिट र त्यसका उम्मेदवार भने निश्चित भइसकेको नेताहरुले बताएका छन्। जसमध्ये १३ निर्वाचन क्षेत्र र त्यसका उम्मेदवार समाजवादीबाट निश्चित छ।

कुनै कारण परिस्थितिमा फेरबदल नभए तिनै नेताहरु मंसिर ४ को चुनावमा उम्मेदवार बन्नेछन्।

९ भदौ २०७८ मा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेको हो। एमालेका १३ प्रत्यक्ष र ११ समानुपातिक सांसद माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टीमा खुलेका थिए।

त्यसमध्ये प्रत्यक्षबाट चुनाव जितेका १३ जनाको उम्मेदवारी निश्चित भएको एकीकृत समाजवादीका एक उच्च पदाधिकारीले नेपालखबरलाई बताए।

ती नेताका अनुसार अध्यक्ष नेपाल र सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को निर्वाचन क्षेत्र परिवर्तन हुँदैछ।

सम्मानित नेता झलनाथ खनालसहित ११ जनाले २०७४ मा जितेकै स्थानबाट उम्मेदवारी पाउने समझदारी जुटिसकेको ती नेताले दाबी गरे।

२०७४ मा प्रत्यक्षबाट चुनाव जित्ने मेटमणि चौधरी, दाङ–१, भवानीप्रसाद खापुङ–तेह्रथुम, विरोध खतिवडा–मकवानपुर २, कृष्णलाल महर्जन– ललितपुर–२,  जीवनराम श्रेष्ठ–काठमाडौं ८, हिराचन्द्र केसी– दाङ ३ र प्रेमबहादुर आले डोटीबाट जितेका थिए।

यस्तै सोमप्रसाद पाण्डे–पाल्पा २, गोपालबहादुर बम मुगु, धनबहादुर बुढा डोल्पाबाट २०७४ को चुनाव जितेका हुन्।

उनीहरु सबैले एकीकृत समाजवादीबाट उम्मेदवारी पाउने निश्चित भएको नेताहरु बताउँछन्।

पहिलेको चुनावमा प्रत्यक्षबाट चुनाव जित्ने सबैलाई मंसिर ४ को चुनावमा उम्मेदवार बनाउन एकीकृत समाजवादीले तयारी गरेको छ।  

‘पहिले जुन दलले जितेको क्षेत्र छ, त्यसमा जित्ने दललाई दिने समझदारी गठबन्धनमा जुटिसकेको छ,’ नेपालखबरसँग ती पदाधिकारीले भने, ‘हाम्रो दलमा भएका १३ प्रत्यक्ष सांसदको निर्वाचन क्षेत्र त्यही हुने निश्चित छ, एक दुईजना सांसदको परिवर्तन हुनसक्छ।’

२०७४ मा काठमाडौं क्षेत्र–२ बाट जितेका अध्यक्ष नेपाल यसपटक रौतहट जाने तयारीमा छन्।

उनी २०७० मा उनले रौतहट १ र काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। तर, एउटा निर्वाचन क्षेत्र छोड्नुपर्ने भएपछि उनले रौतहट छोडे।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीको सबैभन्दा बलियो अवस्था रौतहटमै देखियो।

त्यही भएर अध्यक्ष नेपालले यसपटक रौतहट–१ जाने मुड बनाएका छन्। स्थानीय तहमा सो क्षेत्रबाट एकीकृत समाजवादीले १९ हजार ६९८ पाएको थियो। जबकि कांग्रेसले १६ हजार ९२८ पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीले १२ हजार ६२ मत पाएर तेस्रो स्थानमा रह्यो।

स्थानीय तहको परिणाम अनुसार रौतहटमा एमाले ७ हजार ३८५ मतसहित छैटौँ स्थानमा छ।

यस्तै, निर्वाचन फेरबदल हुने अर्का नेता हुन् कृष्णकुमार श्रेष्ठ। २०७४ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर सिंहदरबार पुगेका श्रेष्ठ यसपटक सो क्षेत्र बदल्नुपर्ने दबावमा छन्।

त्यसो हुँदा उनी तनहुँ–१ छोडेर बारा–४ जान सक्छन्। तर, यसका लागि उनले गठबन्धनबीच सहमति हुनुपर्ने सर्त राखेका छन्।

समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुरानै क्षेत्र इलाम–१ बाट उठ्ने निश्चित भएको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘हाम्रा केही नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट उठ्नुहुन्छ,’ खतिवडाले नेपालखबरसँग भने, ‘अन्य नेताहरुको हकमा सिट संख्या टुंगो लागेपछि तय हुन्छ।’

अर्का पदाधिकारीका अनुसार एकीकृत समाजवादीले यसपटकको प्रतिनिधि सभा चुनावमा पदाधिकारीमध्येबाट कम्तीमा पाँच जनालाई उम्मेदवार बनाउने निश्चित छ।

सचिव रामकुमारी झाँक्रीले गुल्मी–२ मा उम्मेदवारी दिने सम्भावना छ। उनी निर्वाचन क्षेत्रमै अहिले खटिएकी छन्।

यस्तै उपमहासचिव डा. विजय पौडेल, जगन्नाथ खतिवडा पनि यसपटक प्रत्यक्षमा टिकट पाउने नेता हुन्।

‘पार्टीको पदाधिकारीबाट पिकअप गर्नुपर्ने केही नेताले यसपटक अवसर पाउनुहुनेछ,’ एक नेताले भने, ‘कतिले पाउने भन्ने सिट संख्या टुंगो लागेपछि निश्चित हुन्छ।’

जगन्नाथ खतिवडा

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख र प्रवक्ता रहेका खतिवडा २०५६ का सांसद हुन्। त्यसयता उनी संसद प्रवेश गर्न पाएका छैनन्।

२०६४ मा आफ्नो भागमा परेको क्षेत्रबाट शम्भु थापालाई उठाएको उनी बताउँछन्।

२०७० को दोस्रो संविधान सभा चुनावमा उनी कांग्रेससँग पराजित भएका थिए। अहिले उनको क्षेत्र रहेको उदयपुर २ मा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुरेशकुमार राई सांसद छन्।

२०७४ मा राईले प्रत्यक्षबाट चुनाव जितेकोले सो क्षेत्र एकीकृत समाजवादीले पाउने÷नपाउने निश्चित छैन। त्यसो हुँदा खतिवडाको उम्मेदवारी प्रत्यक्ष कि समानुपातिक भन्ने पनि प्रष्ट छैन।

डा.विजय पौडेल

डा. पौडेल २०६४ को पहिलो संविधानसभा सदस्य हुन्। उनको निर्वाचन क्षेत्र नै निश्चित छैन। पार्टीमा राम्रो चिन्तन गर्न सक्ने नेता भएकोले यसपटक उनलाई उम्मेदवार बनाउने नेताहरु बताउँछन्।

यसबाहेक पदाधिकारीमा रहेका राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एकजनाले टिकट पाउने निश्चित भएको नेताहरु बताउँछन्।

उता मधेस प्रदेशबाट यसपटक कम्तीमा तीनजनाले संघीय संसदमा प्रत्यक्ष चुनाव लड्न पाउनेछन्। सत्रुधन महतो, रामचन्द्र यादव र धर्मनाथ साह चर्चामा छन्। समावेशी मिलाउँदा नाम हेरफेर हुन सक्नेछ।

त्यसबाहेक अन्य नेताहरुमध्ये प्रदेश १ बाट कम्तीमा १ जना सिंहदरबार प्रवेश गर्न पाउनेछन्। अहिलेसम्म राजेन्द्र राईको पनि नाम छ। तर, प्रत्यक्षमा उनको निर्वाचन क्षेत्र निश्चित छैन। किनकी उनको निर्वाचन क्षेत्र रहेको भोजपुरमा एउटा मात्र क्षेत्र छ। त्यसमा माओवादी केन्द्रका सुदन किरातीले जितेका थिए।

गठबन्धनले २०७४ को प्रतिनिधि सभा जितेका दललाई नै सोही क्षेत्र दिने सहमति गरिसकेको छ। यसैले भोजपुर माओवादीले नै पाउने देखिन्छ।

केही अग्रज, पुराना नेताहरुको व्यवस्थापन गर्न र प्रतिनिधि सभामा पनि उनीहरुलाई सहभागी गराउने विषयमा समेत गठबन्धनभित्र समझदारी बनिसकेको छ।

निर्वाचन क्षेत्र निश्चित भएपछि एकीकृत समाजवादीका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा खटिन थालेका छन्।

रामकुमारी झाँक्री

अहिले समानुपातिक सांसद रहेकी उनी एकीकृत समाजवादीको सचिव हुन्। गुल्मी २ बाट उम्मेदवारी दिने उनले घोषणा गरिसकेकी छिन्।

यसबाहेक समाजवादीले यसपटक सुवास कर्माचार्य, कास्कीका श्रीनाथ वराल लगायतका पुराना नेताहरुलाई पनि सिंहदरबार ल्याउन चाहेको छ। तर उनीहरुलाई ल्याउन समाजवादीले पाउने सिट टुंगो लाग्नुपर्छ।

कसरी पुग्छन् ३३ प्रतिशत महिला?

एकीकृत समाजवादीले ३३ प्रतिशत महिला सहभागिता पूरा गर्न समानुपातिकको सहारा लिन सक्ने एक पदाधिकारीले बताए।

‘हामीले प्रत्यक्षमा पाउने सिट संख्यालाई हेर्दा निकै थोरै महिला उठाउन सक्छौ,’ ती नेताले भने, ‘समानुपातिकमा महिला नेता मात्र ल्याएर ३३ प्रतिशत सहभागिता सुनिश्चित गराउँछौँ।’

तर, समाजवादीले समानुपातिक मत कति पाउँछ यकिन छैन। नयाँ दल बनेपछि पहिलो पटक प्रतिनिधि सभामा भाग लिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .