ad ad

राजनीति


बालेन्द्रले इन्द्रजात्रामा बोलाए उत्तर कोरियादेखि अमेरिकासम्मका मेयर

बालेन्द्रले इन्द्रजात्रामा बोलाए उत्तर कोरियादेखि अमेरिकासम्मका मेयर

सन्तोष घिमिरे
साउन ३१, २०७९ मंगलबार १५:५७, काठमाडौँ

काठमाडौँ उपत्यकामा आगामी २४ भदौमा हुने इन्द्र जात्राका लागि काठमाडौँ महानगरपालिकाले विश्वका २५ सहरका मेयरहरुलाई निम्तोपत्र पठाएको छ।

महानगरसँग भगिनी सम्बन्ध स्थापित भएका सहर तथा सार्क मुलुकका राजधानी–सहरका मेयरहरुलाई इन्द्रजात्रामा भाग लिन निम्तो पठाइएको हो।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले विदेशस्थित नेपाली दूतावासहरुमार्फत पत्राचार गरी विदेशी सहरका मेयर तथा उपमेयरलाई इन्द्रजात्राको अवलोकनका लागि निम्तो पठाएको महानगरका अधिकारीहरुले जानकारी दिए।   

स्रोतका अनुसार, परराष्ट्रमार्फत पत्राचार नगरी सिधै सम्बन्धित मुलुकका राजदूतावासमार्फत मेयरहरुलाई निमन्त्रणा पठाइएपछि विदेशस्थित नेपाली राजदूतावासहरुले परराष्ट्र मन्त्रालयसँग परामर्श मागेका छन्।

मेयर बालेन्द्र शाहको सचिवालयका प्रमुख सुदर्शन भट्टराईले इन्द्रजात्रालाई विदेशमा अझ बढी चिनाउन विदेशी सहरका मेयरलाई निम्तो पठाइएको जानकारी दिए।   

‘यसलाई महानगरको कल्चरल डिप्लोमेसीभन्दा हुन्छ। यसरी बाहिरबाट पाहुनाहरुलाई निम्त्याउँदा मुलुकको सांस्कृतिक परम्परालाई विदेशमा चिनाउन टेवा पुग्छ’, भट्टराईले नेपालखबरसँग भने, ‘इन्द्रजात्रामार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा हामीले गरेका छौँ।’ 

महानगरले निमन्त्रणा गरेकाहरुमा ऊसँग भगिनी सहर सम्बन्ध स्थापित भएका विदेशी सहरका मेयर तथा उपमेयरहरु छन्। 

महानगरले इन्द्रजात्रामा विदेशी सहरका मेयर तथा उपमेयरलाई निमन्त्रणा गर्नेबारे  परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराइसकेको छ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार विदेशमा इन्द्रजात्राको अझ बढी प्रचार–प्रसार होस् भन्ने उद्देश्यले विश्वका विभिन्न सहरका मेयर तथा उपमेयरलाई निमन्त्रणा दिइएको हो।   

महानगर र भगिनी सम्बन्ध स्थापित भएका विदेशी सहरका मेयर तथा उपमेयरलाई इन्द्रजात्रामा सहभागी भइदिन निमन्त्रणा पत्र पठाइसकेको काठमाडौँ महानगरपालिकाले कहाँ—कहाँबाट सहभागिता हुन्छ, त्यसको जानकारी भने पाइसकेको छैन।

मानन्धरका अनुसार, निम्तो पाउनेहरुमा चीन, जापान र अमेरिकाका विभिन्न सहरका मेयर–उपमेयर छन्।   

निवर्तमान मेयर विद्यासुन्दर शाक्यले पहिलोपटक सन् २०१९ मा विदेशी सहरका मेयर तथा उपमेयरलाई इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा दिएका थिए। 

‘पूर्वमेयरले शाक्यले थाल्नुभएको अभ्यासलाई निरन्तरता दिँदै मेयर बालेन शाहले विदेशी सहरका मेयर तथा उपमेयरलाई निम्तो पठाउनुभएको हो’, प्रवक्ता मानन्धरले भने, ‘सन् २०२० र २०२१ मा पनि विदेशी सहरका मेयर तथा उपमेयरलाई बोलाउने भनिए पनि कोरोना संक्रमणका कारण सकिएन।’ 

विदेशी सहरका मेयरलाई सम्बोधन गरी पठाइएको निमन्त्रणा पत्रमा महानगरका मेयर बालेन्द्र शाहको हस्ताक्षर छ।

निमन्त्रणा पत्रमा नेपाल आउने विदेशी सहर का मेयरको टोलीलाई चार रात पाँच दिनका लागि काठमाडौंमा बस्दाको होटल खर्च र यातायात खर्च बेहोर्ने उल्लेख   छ। तर विदेशी सहरका मेयरको टोलीले आउने जाने हवाई टिकट खर्च भने आफैंले व्यहोर्नुपर्नेछ।

प्रस्तावित कार्यक्रम तालिकाअनुसार विदेशी मेयर तथा उपमेयरलाई इन्द्रजात्रा अवलोकन गराउनुका अतिरिक्त बसन्तपुर, ललितपुर र भक्तपुर दरबार र कीर्तिपुरका सांस्कृतिक सम्पदाको अवलोकन भ्रमण गराइनेछ।

२३–२८ भदौसम्म काठमाडौँमा रहँदा उनीहरुलाई परम्परागत सांस्कृतिक नाच देखाउने पनि कार्यक्रम छ।

महानगरले छिमेकी चीनका सातवटा, अमेरिकाका चारवटा, भारतका दुईवटा  सहरका मेयरलाई निम्तो पठाएको हो। जापान, श्रीलंका, पाकिस्तान, बेलारुस, बंगलादेश, उत्तर कोरिया, जापान, दक्षिण कोरिया, भुटान र माल्दिभ्सका एक—एक सहरका मेयरलाई पनि निम्त्याइएको छ। 

निमन्त्रणा गरिएकाहरुमा चीनका सियान, ल्हासा, सेन्जेन, लान्चौ, छन्तु, नान्जीन र जिन्जाउ, अमेरिकाका युजिन, रोचेस्टर, फ्रेडेरिस्कवर्ग र बोल्डर लगायत मासुमोतो (जापान), मिन्स्क (बेलारुस), याङ्गुन (म्यानमार), प्योङ्याङ् (उत्तर कोरिया), वाराणसी र पूर्वी दिल्ली (भारत), मेड्रिड (स्पेन), सोल (दक्षिण कोरिया), ढाका (बंगलादेश), इस्लामावाद (पाकिस्तान), थिम्पु (भूटान), काबुल (अफगानिस्तान), माले (माल्दिभ्स) र कोलम्बो (श्रीलंका) छन्।

तालिवानलाई पनि ‘मान्यता’
महानगरले निमन्त्रणा पठाएका नगर र मेयरको सूचीमा संकटग्रस्त मुलुक अफगानिस्तानको काबुलका मेयर तथा उपमेयरले पनि निम्तो पाएका छन्। एक बर्षअघि सत्तामा आएको तालिवान शासनलाई नेपाल सरकारले भने मान्यता दिएको छैन।

अन्तर्राष्ट्रिय समुदायबाट एक्लिरहेको तालिवान शासनअन्तर्गतको काबुलका मेयरलाई निम्तो पठाइदिएका छन्।

संघीय शासन प्रणालीमा परराष्ट्र सम्बन्ध सञ्चालन केन्द्र सरकारका कामभित्र पर्छ। मातहतका सरकारी निकायहरुले केन्द्र सरकारले लिएको परराष्ट्र नीति प्रतिकूल हुने गरी कामकारबाही गर्न पाउँदैनन्।

यसअनुसार, महानगरले इन्द्रजात्रामा विदेशी मुलुकका मेयरलाई डाक्नुअघि परराष्ट्र मन्त्रालयसँग परामर्श लिनु आवश्यक हुन्थ्यो। तर महानगरले त्यस सम्बन्धमा परराष्ट्रसँग समन्वय गरेको देखिँदैन।

‘महानगरले निम्तो पठाउनुअघि हामीलाई यसबारेमा जानकारी दिएन। यदि पहिले जानकारी आएको भए हामीले अफगानिस्तानका मेयरलाई निम्ता नपठाउन भन्ने थियौँ’, परराष्ट्रका एक अधिकारीले भने।

यसबाहेक नेपालका अन्य पाँचवटा महानगरपालिकाका मेयर–उपमेयरलाई पनि इन्द्रजात्राको निम्तो दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .