ad ad

राजनीति


मंसिरपछि संसदमा कति युवा छिर्लान्?

मंसिरपछि संसदमा कति युवा छिर्लान्?

केशव सावद
साउन २६, २०७९ बिहिबार १४:१९, काठमाडौँ

आम निर्वाचनको समय जति नजिकिँदैछ, त्यति नै ‘बूढा नेता’लाई हराउने र युवालाई संसदमा जिताएर पठाउने चर्चा चल्न थालेको छ। राजनीतिक दलको महाधिवेशनमा होस् वा चुनाव, सधैं युवा नेतृत्वको चर्चा चल्ने गरेको छ।

समय–समयमा सत्ताको नेतृत्व गर्दै आएका ठूला दलहरूको महाधिवेशनमा युवा नेतृत्वको विशेष चर्चा हुने गरेको छ। केही महिनाअघि सम्पन्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका महाधिवेशनमा युवा नेतृत्वको बहस तीव्र रुपमा चलेको थियो।

आसन्न संसदीय निर्वाचनमा कति प्रतिशत युवा प्रतिनिधिसभामा पुग्लान्? संसदमा पुरानै नेताहरुको वर्चश्व हुन्छ कि नयाँ अनुहार पुग्लान्? चुनाव नजिकिएसँगै यो विषय पनि बहसमा तानिएको छ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र युवा महानगर र उपमहानगरमा विजयी भएपछि स्वतन्त्र युवा पनि संसदमा पुग्न तँछाड–मछाडमा लागेका छन्।

काठमाडौँ महानगरको प्रमुखमा र्यापर बालेन्द्र शाहको अकल्पनीय जितबाट हौसिएर टेलिभिजन एंकर रवि लामिछाने त स्वतन्त्रका नाममा पार्टी नै दर्ता गरेर संसद प्रवेशका यात्राका लागि देश दौडाहमा लागिसकेका छन्।

यस्तै केही युवा स्वतन्त्र उम्मेदवारी दिएर पुराना दलका पुराना नेताहरुको संसद यात्रा रोक्ने दाउमा लागेका छन्। सरकारले संघीय र प्रादेशिक निर्वाचन घोषणा नगर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य पाँचजना पूर्वप्रधानमन्त्री विरुद्ध समाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलिसकेको छ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ को नाममा विभिन्न पार्टीका ६ शीर्ष नेताहरुको तस्बिर एकसाथ राखेर आसन्न निर्वाचनमा पराजित गर्नैपर्ने भनेर प्रचार–प्रसार थालिएको छ। 

प्रष्टरुपमा कोही व्यक्ति सार्वजनिक नभएर अथवा नखुलेर चलाइएको ‘नो नट अगेन’ अभियानका नाममा सामाजिक सञ्जालमा विभिन्न खाताहरु खोलिएका छन्। ती खाताबाट ‘अबको निर्वाचनबाट स–सम्मान विदा गरौँ’ भन्दै शीर्षनेताहरुका तस्बिर दिनानुदिन पोष्ट हुँदै आएका छन्।

आगामी संसदमा पुग्ने सम्भावित युवा अनुहारहरुको चर्चा गरौं–

गगन थापा

कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन लड्ने तयारीमा छन्। उनले २०७४ मा एमालेका राजन भट्टराईलाई झण्डै साढे ३ हजार मतले पराजित गरेका थिए।   

महामन्त्री थापा २१ हजार ५५८ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा भट्टराईले १८ हजार १४० ल्याएका थिए। उक्त क्षेत्रबाट विवेकशील साझा पार्टीका उम्मेदवार सबुना बस्नेतले ३ हजार ४० मत प्राप्त गरेकी थिइन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा काठमाडौं–४ मा एमाले कांग्रेसभन्दा झण्डै साढे ७ सय कम मतलेमात्रै अगाडि देखिएको छ।

निर्वाचन आयोगका अनुसार एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, नेकपा एकीकृत समाजवादीले २ हजार ४१४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार २९३, नेकपा माओवादी केन्द्रले ८४४ र जनता समाजवादी पार्टी (जसपा) नेपालले ३१७ मत पाएको छ।

यसपटकको चुनावमा थापा गठबन्धनका तर्फबाट उम्मेदवार बन्दैछन् । तर, थापासँग चुनाव लड्न इच्छा गर्नेहरु धेरै निस्कने सम्भावना छ । स्वतन्त्र उम्मेदवारहरुले काठमाडौं ४ ताकिरहेका छन् । पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले त उम्मदेवारी नै घोषणा गरिसकेकी छिन् ।

विश्वप्रकाश शर्मा

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा २०७४ मा प्रतिष्पर्धा गरेको निर्वाचन क्षेत्र झापा–१ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचनमा उठ्ने तयारीमा छन्। उक्त निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग झण्डै तीन हजार मतले पराजित भएका थिए। 

शर्माले ३३ हजार ३१० मत ल्याउँदा प्रतिनिधिसभा सदस्यमा विजयी भएका कार्कीले ३६ हजार १३७ मत प्राप्त गरेका थिए। तर, भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा माओवादी झापा–१ मा कमजोर देखिएको छ।

आयोगको वेबसाइटमा राखिएको अन्तिम मत परिणामको तथ्यांकअनुसार झापा–१ मा पर्ने वडामा माओवादीका तर्फबाट उठेका अध्यक्षका उम्मेदवारले झण्डै ४ हजार मतमात्र पाएका छन्। जुन झापा–१ मा दलगत रुपमा हेर्दा चौथो मत हो।

झापा–१ मा ३१ हजार २३२ मतसहित एमाले पहिलो र २४ हजार ५९ मतसहित कांग्रेस दोस्रो स्थानमा देखिएका छन् भने तेस्रो स्थानमा रहेको राप्रपाले ५ हजार ९२२ र चौथो स्थानमा रहेको माओवादीले ३ हजार ९०५ मत पाएको छ। १ हजार २५२ मतसहित एकीकृत समाजवादी पाँचौँ दल बनेको छ।

तर, यसपटकको चुनावमा विश्वप्रकाशलाई झापा १ बाटै टिकट लिनका लागि माओवादीका राम कार्कीले दाबी छाड्नुपर्ने हुन्छ । ०७४ मा जितेको ठाउँ आफूले पाउनुपर्ने माओवादीले माग गर्दै आएको अवस्था छ । यो स्थितिमा महामन्त्री शर्माले झापा १ छाडेर क्षेत्र नम्बर ५ मा केपी ओलीसँग लड्नुपर्ने अवस्था पनि आउन सक्ने कांग्रेस नेताहरु बताउँछन् । तर, माओवादीले छाडिदिएको खण्डमा शर्माका लागि सहज क्षेत्र भनेको झापा १ नै हो ।

प्रदीप पौडेल

कांग्रेस नेता प्रदीप पौडेल पार्टीको १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट महामन्त्रीका उम्मेदवार थिए। महामन्त्रीमा पराजित भएपछि पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित पौडेलले आशन्न संसदीय निर्वाचनमा गृहजिल्ला तनहुँको २ नम्बर क्षेत्रबाट उठ्ने आकांक्षा राखेका छन्।

२०७४ को प्रदेशसभा निर्वाचनमा उनी तनहुँ–२ ‘क’ मा माओवादी उम्मेदवार आशा कोइरालासँग मात्र ५ मतले पराजित भएका थिए। नेता पौडेलले १६ हजार ६२१ म्त ल्याउँदा विजयी कोइरालाले १६ हजार ६४६ मत प्राप्त गरेकी थिइन्।

२०७४ कै प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–२ बाट एमालेका केदार सिग्देल ३२ हजार ९२४ मतसहित विजयी भएका थिए। कांग्रेसका उम्मेदवार शंकर भण्डारी २९ हजार ६४५ मतसहित उपविजेता बनेका थिए।

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार तनहुँ–२ मा ३० हजार ९६२ मतसहित पहिलो स्थानमा देखिएको छ। उक्त क्षेत्रमा पर्ने वडाहरुमा कांग्रेसले अघि सारेका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतअनुसार ३० हजार ६०६ मतसहित दोस्रो बनेको छ। माओवादी ६ हजार ८३६ मतले तेस्रो दल बन्दा एकीकृत समाजवादीले १ हजार २५२ र राप्रपाले ९५५ मत पाएका छन्।

योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराई फेरि पनि गृहजिल्ला ताप्लेजुङबाट निर्वाचन लड्ने सुरसारमा छन्। २०७४ मा पनि उनी ताप्लेजुङबाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

उक्त निर्वाचनमा भट्टराईले कांग्रेसलाई साढे १२ हजार मतले पराजित गरेका थिए। २९ हजार ४७९ मतसहित उनी प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा कांग्रेस उम्मेदवार केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए। तर, त्यसबेला भट्टराईलाई माओवादीको साथ थियो, अहिले माओवादीले कांग्रेससँग गठबन्धन बनाएको अवस्था छ भने एमाले आफैं फुटेको छ ।

स्थानीय तह निर्वाचनको मत परिणामले ताप्लेजुङमा एमाले एक्लै बलियो देखाएको छ। वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा ताप्लेजुङमा एमालेले २४ हजार २९५ मत प्राप्त गरेको छ। यहाँ कांग्रेसको पक्षमा १८ हजार २८४, माओवादीको पक्षमा ४ हजार ४९७, एकीकृत समाजवादीको पक्षमा १ हजार ३०८ र जसपाको पक्षमा ९२३ मत देखिएको छ।

महेश बस्नेत

एमालेका युवा नेता महेश बस्नेत भक्तपुर–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी  माओवादीको समेत भोट पाएर यही क्षेत्रबाट विजयी भएका थिए।

बस्नेत ३६ हजार ४१२ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले १८ हजार ६८७ मत पाएका थिए।

भक्तपुर–२ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) उम्मेदवार अनुराधा थापामगरले ५ हजार ४७१ मत ल्याएकी थिइन्। 

स्थानीय तह निर्वाचनको मत परिणामले भने भक्तपुर–२ मा कांग्रेस बलियो देखाएको छ। २५ हजार ७६४ मतसहित कांग्रेस एक्लै पहिलो दल देखिँदा दोस्रो स्थानमा देखिएको एमालेको पक्षमा २४ हजार २८६ मत खसेको छ।

भक्तपुर–२ मा नेमकिपाका वडाध्यक्षहरुले ल्याएको मत ४ हजार ९२५ छ । त्यस्तै राप्रपाका वडाध्यक्षहरुले ल्याएको मत ४ हजार १७२ छ भनजे एकीकृत समाजवादीका वडाध्यक्षहरुले ल्याएको मत १ हजार २०२ छ । माओवादीका वडाध्यक्षहरुले ल्याएको मत १ हजार ४५ देखिएको छ। यसपटक माओवादीको मत कांग्रेसमा जाने भएकाले महेश बस्नेत चुनौतीमा देखिन्छन् ।

सुदन किराती

नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किराती पहिले जितेकै भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने मनस्थितिमा छन्। २०७४ को निर्वाचनमा उनी कांग्रेसका उम्मेदवारलाई झण्डै १३ हजार मतले पराजित गरेर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

३४ हजार ३९४ मतसहित नेता किराती विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता उमेशजंग रायमाझीले २१ हजार ६९६ मत पाएका थिए।

स्थानीय तह निर्वाचनको परिणामले भने भोजपुरमा माओवादी तेस्रो दलको रुपमा देखाएको छ। स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले प्राप्त गरेको मतअनुसार एमालेको पक्षमा २७ हजार ६५६ मत झरेको थियो । त्यस्तै, कांग्रेसको २३ हजार ५९९, माओवादीको १४ हजार ७६१, एकीकृत समाजवादीको १ हजार ९४५ र जसपाको १ हजार ६४५ मत स्थानीय चुनावमा खसेको थियो।

तथापि गठबन्धन हुँदा पहिले जितेको क्षेत्र सोही दललाई छाडिदिने हो भने माओवादी नेता किरातीले नै भोजपुरमा टिकट पाउन सक्छन् ।  

बिना मगर

माओवादी केन्द्रकी युवा नेतृ बिना मगर पहिले जितेकै कञ्चनपुर क्षेत्र नं १ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ। ०७४ को निर्वाचनमा उनी यही क्षेत्रबाट विजयी भएकी थिइन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी मगरले ०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई दोब्बर मतान्तरले पराजित गरेकी थिइन्। ३८ हजार ४६७ मतका साथ उनी प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा कांग्रेस उम्मेदवार विष्टले १९ हजार २१९ मत ल्याएका थिए।

स्थानीय तह निर्वाचनको मत परिणामले कञ्चनपुर–१ मा माओवादीलाई तेस्रो स्थानमा पु¥याएको छ। आयोगका अनुसार एमाले १८ हजार ७७३ मतसहित पहिलो, कांग्रेस १८ हजार ७३२ मतसहित दोस्रो र माओवादी १५ हजार २८९ मतसहित तेस्रो भएको छ। कञ्चनपुर–१ मा एकीकृत समाजवादीले ३ हजार ५२१ र राप्रपाले २ हजार ६९२ मत पाएका छन्।

०७४ मा जितेको ठाउँ सोही दललाई दिने हो भने गठबन्धनबाट यहाँ माओवादीले टिकट पाउने र बीना नै उम्मदेवार बन्ने माओवादी नेताहरु बताउँछन् ।

रामकुमारी झाँक्री 
युवा नेतृ झाँक्री नेकपा एकीकृत समाजवादीकी नेतृ हुन्। उनी समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य हुन्। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिबाट उदाएकी झाँक्री १९ औँ सम्मेलनबाट अध्यक्ष बनेकी थिइन्। 

२०६२/०६३ को जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए। 

जनआन्दोलनबाट चर्चामा आएकी झाँक्री विद्रोही नेतृको रूपमा परिचित छिन्। २०७५ मा तत्कालीन नेकपाको केन्द्रीय सदस्य बनेकी झाँक्रीले तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन्।

राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजाँदै गरेको तस्बिरका कारण चर्चामा आएकी थिइन्। 

उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने चर्चा छ। तर, झाँक्रीले निर्वाचन लड्ने निर्वाचन क्षेत्र भने निश्चित भइसकेको छैन।

स्वतन्त्रले कटाउला त ‘थ्रेस होल्ड’?

प्रतिनिधिसभामा दलीय हैसियत पाउनका लागि तीन प्रतिशत ‘थ्रेस होल्ड’ कायम गरिएको छ। दलीय हैसियत पाउनका लागि एक सिट प्रत्यक्षसमेत जित्नुपर्छ।

तीन प्रतिशत मत नल्याउने र एक सिट प्रत्यक्ष निर्वाचन नजित्नेले दलीय हैसियत पाउँदैनन्। तीन प्रतिशत पनि मत नल्याउनेको समानुपातिक मतको कुनै अर्थ रहँदैन।

समानुपातिकतर्फको मत सदुपयोग गरेर प्रतिनिधिसभामा दलीय हैसियत बनाउन रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी’ खोलेका छन्। तर, उनले आफू कुन क्षेत्रबाट कुन प्रणालीअन्तर्गत निर्वाचन लड्ने भन्ने बारे अझैसम्म केही खुलाएका भने छैनन्। 

यस्तै सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। तत्कालिन विवेकशील नेपाली दलका संस्थापक मध्येमा पर्ने बम कांग्रेस नेता प्रकाशमान सिंहले ‘हयाट्रिक’ गरिसकेको क्षेत्रबाट स्वतन्त्ररुपमा निर्वाचन लड्ने घोषणा गरेका हुन्।

बम २०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निःशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा सक्रिय थिए।

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलबाट काठमाडौँ महानगर प्रमुखमा उठेकी रञ्जु दर्शना पनि आसन्न संसदीय निर्वाचनमा  काठमाडौँ ५ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्।

उनले रोजेको निर्वाचन क्षेत्र विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्र हो। यो क्षेत्रबाट २०७४ मा एमालेका नेता ईश्वर पोखरेल २३ हजार २९ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत १३ हजार १६९ मतका साथ उपविजेता बन्दा स्वर्गीय थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए।

काठमाडौं महानगरपालिकाका वडा नं. २, ३, ४ र ५, बूढानिलकण्ठ नगरपालिकाकाका वडा नं‍ ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाका वडा नं‍ २, ३, ४, ५, ६ र ७ लाई काठमाडौं क्षेत्र नम्बर ५ मा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .