ad ad

राजनीति


१६५ क्षेत्रको शक्ति सन्तुलन : कांग्रेस ७६ सीटमा अगाडि, एमाले ७१

माओवादी ८, जसपा ५ र एकीकृत समाजवादीको १ स्थानमा अग्रता
१६५ क्षेत्रको शक्ति सन्तुलन : कांग्रेस ७६ सीटमा अगाडि, एमाले ७१

केशव सावद
साउन २४, २०७९ मंगलबार २०:३५, काठमाडौँ

सरकारले आगामी मंसिर ४ गते प्रदेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोग तयारीमा जुटिसकेको छ। सत्तारुढ पाँचदलीय गठबन्धनले आशन्न निर्वाचनमा पनि स्थानीय चुनावमा जस्तै चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन्।

पाँच दलीय गठबन्धनले निर्वाचनका लागि सिट बाँडफाँट गर्न गत शुक्रबार ११ सदस्यीय कार्यदल बनाएर तयारी अघि बढाएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ। 

कार्यदलमा सिटौलासँगै महामन्त्री गगन थापा र केन्द्रीय सदस्यसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलको सदस्य छन्। जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मालाई कार्यदलको सदस्य बनाइएको छ।

गठबन्धनका शीर्षनेताहरुले कार्यदललाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन भनेका छन्। कार्यदलको दोस्रो बैठक साउन २६ गते अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

पहिलो बैठकमा सहभागी कार्यदलका एक सदस्यका अनुसार पार्टीमा आन्तरिक छलफल गरेर आगामी बैठकमा आ–आफ्ना दाबी पेस गर्ने समझदारी कार्यदलका बीचमा भएको छ।

दलहरु आशन्न संघीय र प्रादेशिक निर्वाचनका लागि सिट बाँडफाँट गर्न रातदिन आन्तरिक हिसाब–किताबमा व्यस्त छन्। सत्ताको नेतृत्व गरिरहेको कांग्रेस २०७४ को निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने पक्षमा देखिएको छ।

०७४ को शक्ति सन्तुलन
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सीटमध्ये नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, तत्कालीन संघीय समाजवादी फोरमले ११, तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र अन्य दलले ५ सिटमा जितेका थिए।

गत चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएकाले दुबै दलले फाइदा पाएका थिए। एक्लाएक्लै लडेका भए एमाले माओवादीले यति सीट जित्ने अवस्था थिएन।

स्थानीय चुनावको वडागत मत
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध माओवादी र कांग्रेसबीच गठबन्धन बन्यो। स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा कांग्रेस र एमालेको शक्ति झण्डै बराबरी देखिएको छ।

निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस ७६ र एमाले ७१ निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। माओवादी केन्द्र ८, जनता समाजवादी पार्टी (जसपा) ५ र नेकपा एकीकृत समाजवादी १ निर्वाचन क्षेत्रमा मात्रै अगाडि देखिएका छन्।

कांग्रेसले सत्ता गठबन्धनमा भित्र्याउन पहल गरिरहेको दल लोकतान्त्रिक समाजवादी पार्टी गत स्थानीय चुनावको मत परिणामको आधारमा (लोसपा) नेपाल २, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) १ र नागरिक उन्मुक्ति पार्टी १ निर्वाचन क्षेत्रमा अगाडि छन्।

रोचक के छ भने काठमाडौं क्षेत्र नम्बर १ मा वडाध्यक्षले जितेको मतका आधारका कांग्रेस पहिलो र एमाले दोस्रो देखिए पनि वडाध्यक्ष नै नजितेका बालेन्द्र शाहले पाएको मत कांग्रेस र एमालेको भन्दा बढी देखिन्छ। यो स्थितिमा आगामी चुनावमा काठमाडौं १ बाट स्वतन्त्रले नजित्ला भन्ने अवस्था छैन।

वडाअध्यक्षको मतका आधारमा कांग्रेसको अग्रता देखिएका निर्वाचन क्षेत्र
अछाम–१, अछाम–२, इलाम–२, ओखलढुंगा, कञ्चनपुर–२, कञ्चनपुर–३, कपिलवस्तु–१, कपिलवस्तु–२, काठमाडौँ–१, काठमाडौँ–३, काठमाडौँ–६, काठमाडौँ–७, काठमाडौँ–८, काठमाडौँ–९, काठमाडौँ–१०, काभ्रे–१, कास्की–१, कैलाली–३, कैलाली–४, कैलाली–५, गोरखा–१, जुम्ला, झापा–३, डडेल्धुरा, डोटी, तनहँ–१, दाङ–१, दैलेख–१, धनुषा–१, धनुषा–२, धनुषा–३, धनुषा–४, धादिङ–२, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–२, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–१, नुवाकोट–१, नुवाकोट–२, पर्सा–२, पर्सा–३, पर्सा–४, बर्दिया–२, बाँके–१, बाँके–२, बाँके–३, बारा–१, बारा–२, भक्तपुर–२, महोत्तरी–४, मोरङ–५, मोरङ–६, रसुवा, रामेछाप, रुपन्देही–१, रुपन्देही–२, रुपन्देही–३, रौतहट–२, रौतहट–४, ललितपुर–१, ललितपुर–२, ललितपुर–३, सप्तरी–१, सप्तरी–४, सर्लाही–१, सर्लाही–२, सर्लाही–४, सल्यान, सिन्धुपाल्चोक–१, सिनधुली–१, सिरहा–१, सुनसरी–१, सुनसरी–४, सुर्खेत–१, सोलुखुम्बु, स्याङ्जा–१ र स्याङ्जा–२।

एमाले अगाडि देखिएका क्षेत्रहरु
अर्घाखाँची, इलाम–१, उदयपुर–१, उदयपुर–२, कञ्चनपुर–१, कपिलवस्तु–३, काठमाडौँ–२, काठमाडौँ–४, काठमाडौँ–५, काभ्रेपलाञ्चोक–२, कास्की–२, कास्की–३, कैलाली–२, खोटाङ, गुल्मी–१, गुल्मी–२, चितवन–१, चितवन–२, चितवन–३, जाजरकोट, झापा–१, झापा–२, झापा–४, झापा–५, तनहुँ–२, ताप्लेजुङ, तेह्रथुम, दाङ–२, दाङ–३, दार्चुला, दैलेख, धनकुटा, धादिङ–१, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–२, पर्वत, पाँचथर, पाल्पा–१, पाल्पा–२, प्युठान, बझाङ, बर्दिया–१, बाग्लुङ–१, बाग्लुङ–२, बाजुरा, बारा–३, बारा–४, बैतडी, भोजपुर, मकवानपुर–१, मकवानपुर–२, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–२, मोरङ–३, मोरङ–४, म्याग्दी, रुपन्देही–५, रौतहट–३, लमजुङ, संखुवासभा, सर्लाही–३, सिन्धुपाल्चोक–२, सिन्धुली–२, सिरहा–३, सिरहा–४, सुनसरी–१, सुनसरी–४ र सुर्खेत–२ 

कांग्रेसका १० र एमालेका १६ निर्वाचन क्षेत्र ‘रेडजोन’मा
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कांग्रेसका ७६ मध्ये १० र एमालेका ७१ मध्ये १६ क्षेत्रमा ‘रेडजोन’ मा देखिएका छन्। कांग्रेस अगाडि देखिएका विभिन्न जिल्लाका १० निर्वाचन क्षेत्रमा एमाले हजार भन्दा कम मतले मात्रै पछाडि छ।

नेकपा एमाले अछाम–१ मा १६१, इलाम–२ मा ४५१ र काठमाडौँ–१ मा ३५४ मतले कांग्रेसभन्दा पछाडि छ। त्यस्तै, काठमाडौँ–३ मा ९१९ र काठमाडौँ–९ मा ६३४ मतले मात्रै कांग्रेसभन्दा एमाले पछाडि देखिएको छ। त्यस्तै रसुवामा ७९९, ललितपुर–३ ८३७, सिन्धुली–१ मा ४६९ र स्याङ्जा–१ म ६६५ मतले एमालेलाई कांग्रेसले पछि पारेको छ।

एमाले ‘रेडजोन’ मा रहेका क्षेत्रहरु
इलाम–१ उदयपुर–१, कञ्चनपुर–१, काठमाडौँ–४, काभ्रेपलाञ्चोक–२, चितवन–३, तनहुँ–२, तेह्रथुम, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–३, रुपन्देही–५, सर्लाही–३ र सुर्खेत–२ एमालेको अग्रता रहेर पनि रेडजोनमा रहेका क्षेत्र हुन्। 

नेपाली कांग्रेस इलाम–१ मा ४६१, उदयपुर–१ मा ८९५, कञ्चनपुर–१ म ४१ र काठमाडौँ–४ मा ७४४ मतले एमालेभन्दा पछाडि छ। काभ्रेपलाञ्चोक–२ मा ५८, चितवन–३ मा ४२८, तनहुँ–२ मा ३५६ र तेह्रथुममा ४०१ मतले मात्रै कांग्रेस एमालेभन्दा पछाडि देखिएको छ।

एमालेले मनाङमा ३८, मुगुमा ९४५, मुस्ताङमा ३७६, मोरङ–१ मा ९५३, मोरङ–३ मा ४९४, रुपन्देही–५ मा २५७, सर्लाही–३ मा ३३४ र सुर्खेत–२ मा ९२९ मतले कांग्रेसलाई पछि पारेको छ।

यी १६ निर्वाचन क्षेत्रहरुमा मतान्तर कम रहेकाले एमालेलाई जोखिम देखिन्छ। 

माओवादीको अग्रता देखिएका क्षेत्र : कालिकोट, गोरखा–२, डोल्पा, महोत्तरी, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र हुम्ला।

अन्य दलको अग्रता रहेका क्षेत्र : पर्सा–१, महोत्तरी–३, सप्तरी–२, सप्तरी–३ र सिरहा–२ जसपाले अग्रता पाएका क्षेत्रहरु हुन्।

महोत्तरी–२ र रुपन्देही–४ मा स्थानीय चुनावमा लोसपाको अग्रता देखिएको छ। नेकपा एकीकृत समाजवादीले माधव कुमार नेपालको गृहजिल्ला रौतहट क्षेत्र नम्बर १ मा अग्रता पाएको छ।

नेमकिपाले भक्तपुर क्षेत्र नम्बर १ र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ मा स्थानीय चुनावमा वडाध्यक्षको मतका आधारमा अग्रता पाएको देखिन्छ। 

माओवादी र लोसपाका दुई–दुई क्षेत्र ‘रेडजोन’ मा, जसपा पाँचै क्षेत्रमा सुरक्षित

माओवादी केन्द्र अगाडि देखिएका ८ मध्ये दुई निर्वाचन क्षेत्रमा झिनो मतान्तरले मात्रै अगाडि छ। डोल्पामा माओवादीले ३१० र हुम्लामा ३४६ मतले मात्रै दोस्रो स्थानमा रहेको एमालेलाई पछि पारेको छ।

यस्तै लोसपाले पकड क्षेत्रझैं देखिएका महोत्तरी–२ र रुपन्देही–४ मा हजारभन्दा थोरै मतलेमात्रै कांग्रेसलाई पछारेको छ।

लोसपा महोत्तरी–२ मा ६३९ र रुपन्देही–४ मा ५९९ मतले मात्रै कांग्रेसभन्दा अगाडि छ।  

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कांग्रेस ८१ र एमाले ६६ निर्वाचन क्षेत्रहरुमा दोस्रो स्थानमा छन्।

माओवादी ९, जसपा ५, लोसपा २, एकीकृत समाजवादी र राप्रपा १–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .