ad ad

सुदूरपश्चिम


महाकाली प्रादेशिक अस्पतालमा जहिल्यै जनशक्ति अभाव

दरबन्दी २८, डाक्टर १ जना मात्रै
महाकाली प्रादेशिक अस्पतालमा जहिल्यै जनशक्ति अभाव

गोकुल जोशी
साउन २७, २०७९ शुक्रबार ८:५३, कञ्चनपुर

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका स्थानीयको स्वास्थ्य सेवा लिने एक प्रमुख गन्तव्य हो। सदरमुकाम महेन्द्रनगरमा रहेको अस्पतालले स्थापनाकालदेखि नै दरबन्दीअनुसार पूर्ण जनशक्ति पाउन सकेको छैन।  

वि.स. २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१ सालमा १०० बेड हुँदै अहिले प्रादेशिक अस्पतालमा स्तरवृद्धि गरिएको हो। 

दुई सय शय्याका लागि प्रस्ताव गरिएको अस्पतालको स्थापनाकालदेखि अहिलेसम्म ६ दशकको अवधिमा संरचना फेरिएको छ, उपकरणहरू थपिएका छन् तर जनशक्तिको अवस्था फेरिन सकेको छैन।

सुविधा सम्पन्न भौतिक संरचना भए पनि अस्पतालले स्वास्थ्य सेवाका लागि जनशक्तिको समस्या झेल्नुपरेको छ। 

५/६ महिनाअगाडि स्त्री रोग विशेषज्ञसमेत रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठको सरुवा भयो गोरखा अस्पतालमा। 

त्यसयता स्थायी दरबन्दीमा अस्पतालमा एक जना मात्रै एमडीजीपी डाक्टर छन्– अर्जुन भट्ट। उनैले अहिले महाकाली अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका छन्। 

तर महाकाली प्रादेशिक अस्पतालमा २०५४ सालको दरबन्दीअनुसार २१ जना विशेषज्ञ डाक्टरसहित २८ जनाको दरबन्दी छ।

महाकाली प्रादेशिक अस्पतालमा जहिल्यै जनशक्ति अभाव हुने गरेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्ट (किरण) ले गुनासो गरे। 

‘अहिलेसम्म दरबन्दीअनुसार कहिल्यै पूर्ण जनशक्ति पाएका छैनौं, सबैभन्दा बढी पाएको भनेको ३ जना हो’, उनले भने, ‘अहिले स्थायी दरबन्दीमा एक जना मात्रै डाक्टर छन्।’

ठूलो संख्यामा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अस्पतालले भने दरबन्दीअनुसार जनशक्ति नपाउँदा स्थानीयले स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता छ।

दरबन्दीका चिकित्सक अभावमा अस्पतालले करार र २ वर्षे छात्रवृत्तिका चिकित्सकको भरमा सेवा प्रवाह गर्नुपरेको छ।

‘दरबन्दीअनुसार चिकित्सक नहुँदा पनि सेवा रोकिएको छैन, करार र छात्रवृत्तिका चिकित्सकहरूले काम चलाइरहेका छौँ’, व्यवस्थापन समितिका अध्यक्ष भट्टले भने।

अस्पतालमा आन्तरिक करार र सरकारी छात्रवृत्ति पाएका १३/१३ जना चिकित्सक छन्। विशेषज्ञ चिकित्सकको अभावले अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन नसकेको स्थानीय बताउँछन्।

‘सरकारी अस्पतालमा डाक्टर नहुँदा भारत, धनगढी नेपालगन्ज बिरामीलाई लैजानुपर्छ’, भीमदत्त नगरपालिका–४ का स्थानीय श्रीराम भट्टले भने, ‘स्थानीय ठाउँमै विपन्न परिवारका बिरामीले उपचार पाउन नसक्नु बिडम्बना हो।’

आन्तरिक करारमा राखिएका जनशक्तिलाई तलबका लागि स्रोत जुटाउनै अस्पताललाई हम्मेहम्मे पर्ने गरेको व्यवस्थापन समितिका अध्यक्ष भट्ट बताउँछन्।

‘वार्षिक ५ करोड तलबमै जान्छ, त्यो स्रोत जुटाउन मुस्किल परेर चिकित्सकलाई तलब दिन गाह्रो परेको छ’, उनले भने, ‘प्रदेश सरकारले यसपटक ३ करोड ८८ लाख मात्रै अस्पताललाई छुट्याएको छ।’

करारका चिकित्सकको तलबका लागि अस्पतालमा बजेट थप गरिदिन प्रदेश सरकारलाई आग्रह गरिएको उनको भनाइ छ। 

‘करारका चिकित्सकहरू राम्रो सेवा सुविधा पाए अन्यत्र गइहाल्छन्, त्यस्तो अवस्थामा समस्या हुने गरेको छ’, उनले भने, ‘दरबन्दीका जनशक्ति नहुँदा अस्पतालको सेवाजस्तो हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .