गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले आगामी प्रदेश र संघको निर्वाचनबारे अनुमान लगाउन सजिलो बनाएको छ।
योपटकको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा देखिएका छन्। योपटक स्वतन्त्र उम्मेदवारी दिने लहर देखिएको छ। उम्मेदवारी दिने मात्रै होइन, जित्ने अवस्था पनि देखिएको छ ।
काठमाडौं महानगरपालिकासहित देशका केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारको जितले अबको संसदीय चुनावमा समेत प्रभाव पार्न सक्ने विश्लेषण सुरु भएका छन्। यही लहरलाई पक्रँदै स्वतन्त्र उम्मेदवारी घोषणा अभियान चल्न थालिसकेको छ । देशभरिबाट स्वतन्त्र उम्मेदवार मैदानमा उत्रन खोज्दा ठूला भनिएका राजनीतिक दलका नेताको निर्वाचन क्षेत्रमा चुनौती थपिएको छ।
अहिलेसम्म संसदीय निर्वाचनको मिति घोषणा भइसकेको छैन। संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या बढ्दो छ। तर, विवेकशीलका पूर्वनेता पुकार बम, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शना, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई, पूर्वडिआइजी रमेश खरेल, सुमन सायमी, मुकुन्द घिमिरे लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन्। बिहीबारदेखि राजनीतिमा लागेका रवि लामिछाने पनि उम्मेदवारी दिने तयारीमा छन् ।
रञ्जु दर्शनाले काठमाडौं–५ बाट लड्ने घोषणा गरेकी छिन्। पुकार बम र रमेश खरेलले काठमाडौं क्षेत्र नं १ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । यसअघि गगन थापाले जितेको काठमाडौं ४ बाट राधा पोखरेलले स्वतन्त्र उम्मदेवारी घोषणा गरेकी छन् ।
पूर्वडीआईजी रमेश खरेलले आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नेपाल सुशासन पार्टी दर्ता गरेका छन्। यद्यपि उनी पछिल्ला दिनमा भने खरेल स्वतन्त्रहरुको भेलामा देखिन थालेका छन्। पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि नयाँ पार्टी बनाएर चुनाव लड्ने तयारीमा छन् ।
स्वतन्त्र उम्मेदवारी दिएकाहरुले प्राप्त गरेको मतलाई एकै ठाउँमा जोड्ने हो भने आगामी चुनावमा अर्को राजनीतिक शक्ति उदाउने सम्भावना देखिएको छ । यही कारणले गर्दा स्वतन्त्रहरुको बेग्लै पार्टी खोल्नेबारे छलफल गर्न आउँदो असार १७ र १८ गते काठमाडौंमा स्वतन्त्र उम्मेद्वारहरुको राष्ट्रिय भेलासमेत बोलाइएको छ ।
स्थानीय चुनावमा बालेन्द्र शाह, हर्कराज साम्पाङ, गोपाल हमाल लगायतले पाएको मतलाई समानुपातिक मतमा बदल्ने हो भने केही सिट सांसदहरु प्रतिनिधिसभा र प्रदेशसभामा पुग्न सक्छन् भन्ने विश्वासका आधारमा नयाँ छलफल अगाडि बढाइएको स्वतन्त्र अभियन्ता बताउँछन् ।
०७४ को समानुपातिक हिसाब
समानुपातिक सांसद बन्नका लागि जम्मा मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने हुन्छ। ०७४ को निर्वाचनमा ४९ वटा राजनीतिक दलले समानुपातिक सांसदका लागि निर्वाचन आयोगसमक्ष बन्दसूची पेश गरेका थिए। जसमा ५ वटा राजनीतिक दलले मात्र थ्रेस होल्ड कटाएका थिए।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले थ्रेस होल्ड कटाएका हुन्।
नेकपा एमालेले ११०, नेपाली कांग्रेसले १०९, नेकपा माओवादी केन्द्रले १०९, राष्ट्रिय जनता पार्टीले ९३ र संघीय समाजवादी फोरमले १०९ जनाको नाम बन्दसूचीका लागि पठाएका थिए।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो भने माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको थियो । त्यस्तै, राजपाले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत समानुपातिकतर्फ प्राप्त गरेका थिए।
यो मतका आधारमा एमालेले ४१ जना समानुपातिक सांसद पाएको थियो । कांग्रेसले ४०, माओवादीले १७, राजपाले ६ र फोरमले ६ सिट समानुपातिकतर्फबाट हात पारेका थिए।
बालेन्द्र, हर्क र गोपालको मत कति?
स्वतन्त्र उम्मेदवारी दिएकामध्ये काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकामा गोपाल हमाल चर्चामा रहे। यी तीनैजनाले सर्वाधिक चासोमा रहेका २ उपमहानगर र १ महानगरपालिकाको बागडोर सम्हालेका छन्।
आगामी संसदीय र प्रदेशसभाको चुनावमा काठमाडौं, धनगढी र धरान लगायतका शहरमा तीनैजना मेयरले पाएको मत एउटै दलमा गयो भने त्यसले समानुपातिक सांसद जिताउन सक्छ । तर, दल दर्ता नगरी स्वतन्त्र मतका रुपमा रहने हो भने यो मतभार पुरानै दलमा मिसिने देखिन्छ ।
स्थानीय चुनावमा काठमाडौंका मेयर बालेन्द्रले ६१ हजार ७६७ मत प्राप्त गरेका छन्। धरानका स्वतन्त्र मेयर हर्क साम्पाङले २० हजार ८२१ मत प्राप्त गरेका छन्। त्यस्तै, धनगढीका मेयर गोपाल हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन्। बालेन्द्र, हर्क र गोपालको मत जोड्दा १ लाख ९ हजार ४ सय ५३ मत हुन्छ।
समानुपातिक सांसद बन्न कति चाहिन्छ मत?
०७४ को प्रतिनिधिसभा निर्वाचनमा ९५ लाख ४४ हजार ७ सय ७९ मत सदर भएको निर्वाचन आयोगको तथ्याकंमा उल्लेख छ। जसमध्ये थ्रेसहोल्ड कटाएका ५ दलको जम्मा मत ८५ लाख ४८ हजार ५९ छ।
त्यतिबेला एउटा दललाई समानुपातिक सांसद बन्नका लागि ७६ देखि ७८ हजार मत आवश्यक परेको थियो। जस अनुसार एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७, राजपाले ६ र फोरमले ६ सिट पाएको हो।
०७४ को अंकगणितका आधारमा ३१ लाख बढी मत पाएको एमालेले ४१ जना समानपातिक सांसद जितेको हिसाबका आधारमा विश्लेषण गर्दा समानुपातिकतर्फ एकजना प्रतिनिधिसभा सदस्य जित्नका लागि ७७ हजार बढी मत आवश्यक पर्छ । अर्थात थ्रेस होल्ड कटाएको दलले ७७ हजार मत कटाएको खण्डमा एकजना समानुपातिक सांसद जित्छ ।
आगामी संसदीय चुनावमा मतदाताको संख्यासमेत बढेको हुनाले प्रतिनिधिसभामा एक सिट समानुपातिक सांसद जित्नका लागि ८० हजारको हाराहारी दलगत भोट ल्याउनुपर्ने हुन सक्छ ।
यही तथ्यका आधारमा अनुमान गर्न सकिन्छ कि आगामी चुनावमा स्वतन्त्रहरुको पार्टी खुल्यो भने त्यसले देशभरिबाट पाउने सांसद सिट कति होला ।
Shares
प्रतिक्रिया