राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताएका छन्।
११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संबिधान बने पनि काम कागजमा सिमित भएको बताएका हुन्। नयाँ संविधान अनुकुल बनेका नयाँ कानुनमा मानव अधिकारका धेरै सकारात्मक बिषय भए पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए। अध्यक्ष शर्माले भने, ‘दण्डहीनता बढेको छ, महिला माथिको हिंसा बढेको छ, प्रहरीको तथ्यांक भन्छ अपराध बढेको छ यसले के देखाऊँछ भने सरकार अपराध नियन्त्रण गर्न असफलता उन्मुख छ।’
अध्यक्ष शर्माले देश संघात्मक संरचनामा गए पनि, सरकार एकात्मक नै रहेको बताए। सरकारको प्रतिबद्धता, नयाँ संबिधान र कानुन बलियो हँुदा पनि अबस्थामा परिवर्तन नहुदा नेपालको मानव अधिकार कागजमामात्र भएको बताए।
‘हामीले संघात्मक स्वरुप त ल्यायौं तर हाम्रो मन बचन कर्म एकात्मक छ। त्यसमा केही परिवर्तन भएको छैन। महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन। महिला हिंसा केही पनि घटेको छैन। महिला बेचबिखन पनि घटेको छैन। केमा गर्व गर्ने भन्दा कागजी मानव अधिकार बृहत्तर रुपमा अगाडि बढेको छ।’
कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईले संक्रमणकालिन न्याय टुंगोमा पुर्याउन सरकार र राजनैतिक दल नै अनिच्छुक रहेको आरोप लगाए। सरकार सर्वोच्च अदालतले गरेको आदेश मान्न पनि तयार नभएको उनको आरोप छ।
भेलामा मानव अधिकारमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरुको सहभागिता रहेको छ। देश भरिबाट भेला भएका मानव अधिकार कर्मिहरुले देशमा मानव अधिकार, शान्ति र लोकतन्त्रको अवस्थाको बारेमा अन्तरक्रिया गर्दै काठमाडौं घोषणा पत्र जारी गर्ने छन्।
Shares

प्रतिक्रिया