ad ad

राजनीति


म चाकडी गर्ने मान्छे होइन, माधव नेपालको जति योगदान मेरो पनि छ : रामकुमारी झाँक्री

समाजवादीभित्रै एकपछि अर्को विवाद, सम्बन्धमा तिक्तता बढ्यो
म चाकडी गर्ने मान्छे होइन, माधव नेपालको जति योगदान मेरो पनि छ : रामकुमारी झाँक्री

फाइल तस्बिर


रुपक चौलागाईं
साउन २२, २०७९ आइतबार १७:१२, काठमाडौँ

अघिल्लो वर्ष नेकपा एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता हुँदैगर्दा चर्चाको शिखरमा थिइन्-नेतृ रामकुमारी झाँक्री।

चन्द्रागिरि हिल्सबाट दल दर्ताका लागि निर्वाचन आयोग प्रवेश गर्दा झाँक्रीले माधव नेपालको हात समातेर डोर्‍याएको एउटा तस्विरले सामाजिक सञ्जाल भरिएको थियो।

नयाँ दल दर्तादेखि गठबन्धन हुँदै मन्त्री बन्दासम्म झाँक्री र नेपालबीचको सम्बन्ध बिग्रिएको खबर सुनिएका थिएनन्। तर, गत १६ असारमा जब सहरी विकास मन्त्रालयबाट आँसु झार्दै झाँक्रीले राजीनामा दिइन्, त्यसपछि यी दुई घनिष्ट नेताबीचको सम्बन्धमा तिक्तता आएको छ।

एकीकृत समाजवादीका नेताहरूका अनुसार मन्त्रालयबाट बिदा भएसँगै झाँक्री र अध्यक्ष नेपालबीच खासै कुराकानी भएको छैन। पार्टीका औपचारिक बैठकमा भने झाँक्री उपस्थित हुन्छिन्।

यही तिक्तताबीच झाँक्रीले दिएका पछिल्ला अभिव्यक्तिले यतिबेला नेकपा एकीकृत समाजवादीभित्र खैलाबैला मच्चिएको छ।

‘खै उहाँ (रामकुमारी) ले किन यस्तो बोल्दै हुनुहुन्छ, थाहा पाउन सकेका छैनौँ,’ एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे भन्छन्, ‘उहाँ पार्टीको जिम्मेवार नेता हो, तर पछिल्ला अभिव्यक्ति हेर्दा परिपक्वता देखिँदैन।’

पार्टी प्रवक्ता जगन्नाथ खतिवडा अहिले उपत्यकाबाहिर छन्। काठमाडौं आउनासाथ झाँक्रीलाई भेटेरै असन्तुष्टिबारे बुझ्ने योजना उनले बुनेका छन्।

‘नेतृत्वको आलोचना पार्टीभित्रै बसेर हुनुपर्थ्यो,’ खतिवडाले नेपालखबरसँग भने, ‘उहाँले किन यस्तो बोल्दै हुनुहुन्छ, काठमाडौँ गएर भेट गरेरै बुझ्नुछ।’

सबै राजनीतिक दल आम निर्वाचनमा होमिएका बेलामा पार्टी स्थापना भएको १ वर्षै नपुगी झाँक्रीले दिन थालेका विवादास्पद अभिव्यक्तिले भने पार्टीको आन्तरिक जीवन कमजोर बनाएको नेताहरुको बुझाइ छ।

@premchandrajha4956

माधवकुमार नेपाल

♬ original sound - premchandrajha4956

के हो विवाद?
गत १६ साउनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर विभिन्न आयोजनाको शिलान्यास गरे। टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडक लगायत करिब ४२ करोडका आयोजना शिलान्यास गरेर उनी काठमाडौं फर्किए।

आफ्नै अध्यक्षले गरेको शिलान्यासबारे एक टेलिभिजन अन्तर्वार्ताका क्रममा झाँक्रीले आक्रोश पोखिन्। बिनाबजेट, बिनायोजनाका विकासको काम शिलान्यास गरेको भन्दै उनले अध्यक्ष नेपालको आलोचना गरिन्।

पार्टीकी सचिवसमेत रहेकी झाँक्रीले अध्यक्ष नेपालको आलोचना गरेपछि मेटमणि चौधरीले नेतृत्व गरिरहेको सहरी विकास मन्त्रालय समेत यो विषयमा जोडिएको छ। मन्त्री चौधरी आफैं पनि माधव नेपालसँगै रौतहट पुगेका थिए।

त्यही दलका नेता रहेका सहरी विकास मन्त्री चौधरीले मन्त्रालयका प्रवक्तामार्फत विज्ञप्ति नै निकालेर रामकुमारीको अभिव्यक्तिको खण्डन गरेका छन्। 

मन्त्रालयको विज्ञप्ति सामाजिक सञ्जालमार्फत सेयर गर्दै मन्त्री चौधरीले भनेका छन्, ‘मन्त्रालयले आयोजनाको शिलान्यास सबै विधि प्रक्रिया (आवश्यक बजेटको व्यवस्थापन गरेर) पूरा गरेको छ। यसमा कुनै पनि मिडियाहरु भ्रममा नपर्न सबैमा अनुरोध छ।’

सहरी विकास मन्त्रालयले मात्रै नभई एकीकृत समाजवादी पत्रकार संगठनका उपाध्यक्ष विश्वमणि सुवेदीले पनि यो विषय उठाएका छन्। रौतहटमा नेपालले शिलान्यास गरेको बजेट स्वीकृति विवरण लगायतका कागजात सामाजिक सञ्जालमा सेयर गर्दै उनले भनेका छन्, 'कुरा सुनौँ–कागज हेरौँ।'

जुन पोस्टमा झाँक्रीले अन्तर्वार्तामा लगाएको आरोपको भिडिओ क्लिप र आयोजनाबारेको सामग्री पोस्ट गरेका हुन्। त्यसैमा पत्रकार सुवेदीको पोस्टमा प्रतिक्रिया जनाउँदै झाँक्रीले लेखेकी छिन्, ‘अर्थबाट श्रोत सुनिश्चितता लिन सकिन्छ तर संशोधनमा कार्यक्रम भएपछि मात्रै। संशोधन अहिले हुँदैन। अनि ठेक्का नलागी कसरी निर्माण सुरू भयो भन्ने प्रश्न हो, अझै बहस गर्दै जाँदा।’

झाँक्रीले भनेजस्तै यो विषयमाथि बहस हुँदै जाला, तर पार्टी नेतृत्वप्रति खुलेर उनले गरेको यस्तो टिप्पणीले पार्टीभित्रको आन्तरिक विवाद भने छताछुल्ल भएको छ।

झाँक्री किन असन्तुष्ट?
झाँक्रीको अभिव्यक्तिबारे एकीकृत समाजवादीका नेताहरुको फरक फरक बुझाइ छ। एक केन्द्रीय नेताका अुनसार आफूले नियम, कानुन र विधिको कुरा गरेको भन्दै उनले सचिवालयलाई जानकारी गराउने प्रयास गरेकी छिन्।

‘मैले नियम, कानुन, विधिको कुरा गरेको हुँ भन्ने सूचना गर्न खोजेको हुनुहुँदो रहेछ,’ एक सचिवालय सदस्यले भने, ‘जे कुरा पार्टीभित्र उठाउनुपर्ने थियो त्यो सार्वजनिक रुपमा उठाएर उहाँले अत्यन्तै नराम्रो गर्नुभयो।’

पार्टी विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक सुदेश पराजुली झाँक्रीले कुण्ठा पोखिरहेको बताउँछन्। ‘सत्तामा बसेर कुर्सी ढलेपछि भएका उन्मादहरु मात्रै हुन्,’ पराजुलीले नेपालखबरसँग भने, ‘निर्वाचनको मुखमा छौँ, अहिले पार्टीमा देखिएका कुण्ठाको पछि लाग्नुहुँदैन।’

रौतहटको विषयमा बुझ्दै नबुझी झाँक्रीले टिप्पणी गरेको पराजुली बताउँछन्।

त्यस्तै, झाँक्रीलाई बोलाएर आफूले छलफल गर्ने योजनामा रहेको प्रवक्ता खतिवडा बताउँछन्। उनी भन्छन्, ‘उहाँको अभिव्यक्तिपछि पार्टीका सदस्यहरुको प्रतिक्रिया धेरै नराम्रो आएको छ।’

त्यस्तै, एकीकृत समाजवादीका अर्का प्रभावशाली नेता सोमप्रसाद पाण्डे पार्टीको जिम्मेवार पदमा बसेका नेताहरु बोल्दा ध्यान दिनपर्ने बताउँछन्। ‘त्यतिको राजनीतिक छवि भएको मान्छे बोल्दा ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘उहाँको भविष्य ठूलो छ, राजनीतिक संस्कार बुझेको मान्छे किन यस्तो हुनुभयो बुझ्न सकिएन।’

पार्टीले दिनुपर्ने सम्मान झाँक्रीलाई दिइएको पाण्डेको दाबी छ। ‘आफूले हस्ताक्षर गरेर ६ महिनापछि निस्कनुपरे तयार छौं भनेर निर्णय भएको छ। त्यहाँ रुनुपर्ने हो जस्तो लाग्दैन,’ पाण्डेले भने।

रामकुमारी भन्छिन्–नेतृत्वको आलोचना नै हुँदैन भन्ने होइन

पार्टीमा तपाईंको नाम जोडिएर भएको विवाद के हो?
विवाद भएको होइन। मैले एउटा प्रशंगमा अहिले काम भइरहेका बेलामा मैले गरेका कामको प्रसंग आउँदा भनेको मात्र हो।

तर, नेतृत्वको खरो आलोचनामा उत्रनुभयो भन्ने छ नि?
नेतृत्वको आलोचना नै हुँदैन भन्ने कुरा होइन। आलोचना हुन्छ। त्यो आलोचना पनि होइन। सार्वजनिक विषय भएका कारणले एउटा प्रशंगमा हामी सुध्रने हो भनेको मात्र हुँ।

पहिलो नम्बर, कार्यक्रम छैन, कार्यक्रम भए पनि ठेक्का लाग्नुपर्छ। निर्माणको प्रारम्भ ठेक्का लागेपछि मात्र हुन्छ। कार्यक्रम नै नबनी हत्तपत्त शिलान्यास गर्नु भनेको ओली सरले गरेको जस्तो भयो मात्र भन्न खोजेको हुँ।

किनभने, अर्को कुनै राजनीतिक विषयमा भएको थिएन। यो वर्षको कार्यक्रम मैले बनाएकी हुँ भन्ने पनि उहाँहरुलाई थाहा थियो। उहाँहरुले संशोधन ल्याउँछौँ भन्नेजस्ता कुरा भए। प्रारम्भमा ठेक्का लागेर टेन्डर आह्वान भएपछि नक्सा पास हुनुपर्यो। त्यसपछि खरिद प्रक्रिया सुरु हुनुपर्यो।

खरिद प्रक्रिया ३ महिना लाग्छ। त्यसपछि टेन्डर आह्वान हुनुपर्छ। जसले टेन्डर आह्वान गर्यो, त्यो कार्यक्रमको आयोजक पनि हुन्छ। त्यसपछि बल्ल शिलान्यास हुने हो। त्यस्तो कुरा किन गरेको होला भनेर मैले भनेको हुँ। मैले सामान्य तरिकाले यो विषय भनेकी थिएँ। यत्रो ठूलो विषय बनाउने कुरा पनि होइन जस्तो लाग्छ।

मन्त्रालय छाड्ने क्रममा भावुवक रामकुमारी। तस्बिर : नेपालखबर

तर तपाईंले पार्टीभित्रको कुरा सार्वजनिक रुपमा भन्नुभयो भन्ने छ नि?
यो विषयलाई अन्ट सन्ट गरेर प्रचार गरियो। मेरो लागि यो भनिरहने विषय हो। पार्टीमा त यस्तो विषय एजेण्डा पनि बन्दैन। मैले बोलेको भएर यसलाई सेन्सेटाइज गरेर प्रचार गरिएको हो। सामान्यतयाः यस्ता विषयहरु आलोचनायोग्य नै हुन्। किनभने, केही निर्णयहरु उहाँहरुले उल्टाउनुभएको छ।

म मन्त्री हुँदा गरेका निर्णयहरु उल्टाइरहेका छन्। मैले सोही सन्दर्भमा ६/८ महिना लगाएर मान्छेले रिफर्मका कामहरु गरेका हुन्छन्, त्यसलाई फर्काएर लाने कुरा राम्रो हुँदैन भनेको हुँ।

त्यसो हुँदा बेरुजु घटाउने, समयमै काम गर्ने, गुणस्तरीय काम गर्ने लगायतका काम त जो भए पनि गर्नुपर्ने काम हो। यही विषयमा सम्बन्धित भएर यस वर्षको कार्यक्रममा मैले टिमलाई कन्भिन्स गराएर काम गरेको थिएँ। मलाई कसरी प्रोसेसमा जाने भन्ने पनि थाहा छ। यदि संशोधनमा जाने हो भने पनि मंसिर अगाडि जान मिल्दैन। संशोधनमा गएर पाइहालिन्छ भन्ने पनि छैन।

यो विषय आउनु अघिदेखि नै अध्यक्षसँग तपाईंको सम्बन्ध बिग्रिएको भन्ने सुनिन थालेको थियो। के हो यथार्थ?
सम्बन्ध केही बिग्रिएको छैन। पहिला जे थियो, त्यही नै छ। म अतिरिक्त चाकडी गर्ने मान्छे हुँदै होइन्। मैले महत्वपूर्ण कुरामा साथ दिँदै आएकी छु।

हिजो ओली सरले बनाएका साइबर स्यालको काउन्टरमा केही मान्छे खडा भएका छन्। तथ्य नबुझी आउने त्यस्ता मान्छेलाई मेरो भन्नु केही छैन। २/४ जना मान्छेहरु त्यस्ता भइहाल्छन्। केही मान्छेलाई इर्ष्या पनि होला।

अध्यक्षसँग कुरा गर्नुपरेको खण्डमा गर्छु। यदि म पदमा भएको भए सार्वजनिक रुपमा बोल्ने आँट पनि गर्दिन थिएँ होला। यो राम्रो होइन भन्ने कुरा पब्लिक पोलिसीको रिफर्मको कुरा गर्ने भएकाले भनिरहन्छु। रिफर्मको कुरा गर्ने मान्छेले पराइले गरेको कामको आलोचना गर्नेमात्र हुँदैन।

पार्टीभित्र सबैसँग हार्दिकता छ। केही दिन म आफ्ना नीजि काममा ब्यस्त भएको कारणले पनि पार्टी काममा फर्कन सकिँन। जिल्ला गएँ, आएँ। पार्लियामेन्टमा गएकै छु। पार्टीले बोलाएका कार्यक्रममा गएकै छु। अध्यक्षसँग राम्रै छ। नराम्रो भएको पनि छैन्। बरु बाहिर उहाँहरुले काउन्टर अट्याक गर्ने विषय हो।

तपाईं फेरि एमाले प्रवेशको हल्ला नि?
कोही मान्छेलाई एमालेमा गइहाल्ला, आइहाल्ला भन्ने परिरहेको छ। उहाँहरुले खोजिरहेको त्यही होला। मैले उहाँहरुले खोजेको जस्तो त गर्दिनँ। पार्टी त माधव कमरेडको जति योगदान छ, मैले पनि त्यति योगदान गरेको छु। पद पो उहाँ अध्यक्ष हुनुभयो। जोखिम त मैले पनि उहाँले जति नै बोकेर आएकी हुँ।

हामी उहाँसँगै १४ जना कारबाही हुँदा मेरो पनि भएको हो। यो पार्टी दर्ता गर्न मुख्य भूमिका खेलेकी छु। निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने क्रममा पनि म र राजेन्द्र पाण्डेले भूमिका खेलेकै हौं।

पार्टी निर्माणको मामलामा जिम्मेवारी तलमाथि भए पनि भूमिका सबैले गरेको छ। यो पार्टी बनाउनुपर्छ भन्ने सोचका साथ लागेकी छु। तलमाथि सोच्ने कुरा गलत हो।

रामकुमारीले प्रश्न उठाएपछि सहरी विकास मन्त्रालयको स्पष्टीकरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .