ad ad

राजनीति


६ शीर्ष नेतालाई हराउन ‘सोसल मिडिया ट्रायल’, कसको ताकत कति ?

नेताका लागि चुनौती बन्दैछ सोसल मिडिया
६ शीर्ष नेतालाई हराउन ‘सोसल मिडिया ट्रायल’,  कसको ताकत कति ?

केशव सावद
साउन २१, २०७९ शनिबार २२:१, काठमाडौँ

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अप्रत्यासित विजय होला भनेर ठूला दलका नेताले पूर्वानुमानसम्म गरेका थिएनन्। निर्वाचनको परिणामपछि बालेन्द्रले सामाजिक सञ्जाल प्रयोग गरेर महानगर प्रमुख जितेको दाबी नेताहरुले गरे ।   

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले त बालेन्द्रले ‘रुटिन अफ नेपाल बन्द’ लाई प्रयोग गरेर स्थानीय तह निर्वाचन जितेको सम्म भनिन्।

पार्टीको भ्रातृ संस्था नेपाल तरुण दल पर्वतले असार पहिलो साता आयोजना गरेको कार्यक्रममा आरजूले भनेकी थिइन्, ‘अहिले जति पनि स्वतन्त्र जितेका छन् नि उनीहरूले एउटा–एउटा ग्रुप परिचालन गरेर नेता बनेका हुन्। बालेन शाहको तपाईँले हेर्नुभयो सोसल मिडिया, रुटिन अफ नेपाल बन्द। अहिले म ओपनली भन्न चाहँदिनँ, उहाँले कतिमा हायर गर्नुभयो? यत्रो ठूलो आउट रिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्यो। एनालिसिस गर्यो।’

स्थानीय तह निर्वाचनमा बालेन्द्रले सामाजिक सञ्जाल प्रयोग गरेर जितेको चर्चा नसेलाउँदै अब मंसिर ४ गते संघीय र प्रादेशिक निर्वाचनमा हुन लागेको छ। आगामी चुनावमा सामाजिक सञ्जालको प्रभाव कस्तो पर्ला? यो प्रश्न अनुत्तरित छ।

आमनिर्वाचनमा सामाजिक सञ्जालको भूमिकालाई कसरी लिने भन्ने कुरा निर्वाचन आयोगको पनि टाउको दुखाइको विषय हो। दलहरुका लागि पनि यसको भूमिका टाउको दुखाइको विषय नबन्ने कुरै भएन।

मनोज गजुरेलको नयाँ रुप : जनार्दन शर्मादेखि राजपाक्षेसम्म

पूर्वप्रधानमन्त्री हराउने अभियान
सरकारले संघीय र प्रादेशिक निर्वाचन घोषणा नगर्दै प्रधानमन्त्री देउवा र अन्य ५ जना पूर्वप्रधानमन्त्रीविरुद्ध समाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलिसकेको छ। यहीबेला हास्य कलाकार मनोज गजुरेलले पनि गाईजात्राको अवसरमा ‘लाजपचे नेता’ को उपमा दिएर यिनै शीर्ष ६ नेतामाथि व्यंग्य कस्दैछन्, जसले सोसल मिडियामा चलेको अभियानलाई बल पुर्याउने देखिएको छ ।  

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ को नाममा विभिन्न पार्टीका ६ शीर्ष नेताहरुको तस्बिर एकसाथ राखेर आसन्न निर्वाचनमा पराजित गर्नै पर्ने भनेर प्रचार–प्रसार थालिएको छ।  

प्रष्ट रुपमा कोही व्यक्ति सार्वजनिक नभएर अथवा नखुलेर चलाइएको ‘नो नट अगेन’ अभियानका नाममा सामाजिक सञ्जालमा विभिन्न खाताहरु खोलिएका छन्। ती खाताबाट ‘अबको निर्वाचनबाट ससम्मान विदा गरौँ’ भन्दै शीर्ष नेताहरुका तस्बिर दिनानुदिन पोष्ट हुँदै आएका छन्।

६ शीर्ष नेताहरुको तस्बिर एकसाथ राखेर एउटा पोस्टरमा लेखिएको छ, ‘असल नेतासँग योजना हुन्छन्। बिग्रेको प्रणाली परिवर्तन गर्ने खुशी हुन्छ। द्येशका समस्या सम्बोधन गर्ने खाका हुन्छ। कमजोर नेतासँग चर्को आवाज र आदेशमात्र दिने हुकुमी शैली हुन्छ। हामीलाई मालिक हैन, देशको माली चाहिएको हो।’

‘नो नट अगेन’ अभियान समाजिक सञ्जालमा चलाइएपछि के साच्चै मुलुकको नेतृत्व गरिरहेका प्रधानमन्त्री र गरिसकेका पूर्वप्रधानमन्त्रीहरुमाथि संकट नै परेको त होइन भन्ने चर्चा–परिचर्चा हुन लागेको छ।

कस्तो छ त शीर्ष नेताहरुले निर्वाचन लड्दै आएको निर्वाचन क्षेत्रको दलगत अवस्था। हामीले यहाँ २०७४ को प्रतिनिधिसभा निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा ती निर्वाचन क्षेत्रको विश्लेषण गरेका छौँ।

 

प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवा नेपाली कांग्रेसका सभापति हुन्। उनी डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा देउवाले डडेल्धुराबाट २८ हजार ४४६ मत ल्याएका थिए। उनका चिरपरिचित प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खगराज भट्ट २१ हजार ४९८ मत पाएका थिए। डडेल्धुरामा माओवादीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो।

देउवाले निर्वाचन लड्दै आएको डडेल्धुराका स्थानीय तहका वडाध्यक्षका उम्मेदवारले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मत हेर्दा कांग्रेसका पक्षमा २१ हजार ७३५ मत देखिएको छ। यस्तै माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, नेकपा एकीकृत समाजवादीले ५ हजार ४१ मत ल्याएका छन्।

स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतअनुसार गठबन्धनमा रहेका दलको मत डडेल्धुरामा ३९ हजार ६५४ देखिएको छ।

 

पूर्वप्रधानमन्त्री ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्दै आएका छन्। उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ५७ हजार १३९ मत ल्याएका थिए। यहाँ उनलाई माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सघाएको थियो।

ओलीविरुद्ध कांग्रेसले चुनावी मैदानमा उतारेका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए। उक्त क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालले १९ सय मत पाएको थियो।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वप्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा एमालेका वडाध्यक्षहरुले ४१ हजार ६१९ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

यहाँ कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३, एकीकृत समाजवादीको १ हजार ९८८ मत देखिएको छ। वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा सत्ता गठबन्धनभन्दा एमाले एक्लैको झण्डै ७ हजार मत बढी छ।

पूर्वप्रधानमन्त्री प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने गर्दछन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले ४८ हजार २७६ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए। चितवन ३ मा माओवादीलाई एमालेले र राप्रपालाई कांग्रेसले सघाएका थिए।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्रचण्डको चुनावी क्षेत्र पर्ने वडाहरुमा खसेको मतका आधारमा एमालेको पक्षमा २९ हजार ७७१ र कांग्रेसको पक्षमा २९ हजार ३४३ मत देखिएको छ।

आयोगका अनुसार यहाँ माओवादीका वडाध्यक्षहरुले १० हजार ९४०, राप्रपाका वडाध्यक्षहरुले ६ हजार १९८, एकीकृत समाजवादीका वडाध्यक्षहरुले ५ हजार ३७ मत पाएका छन्।

आशन्न निर्वाचनमा चितवन–३ मा कांग्रेसले प्रचण्डलाई सघाउने निश्चित छ। स्थानीय तह निर्वाचनको मत परिणामअनुसार चितवन–३ मा सत्ता गठबन्धनका पक्षमा ४५ हजार ३२० मत देखिन्छ।

पूर्वप्रधानमन्त्री नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचन काठमाडौँ–२ मा लडेका थिए। उनी २७ हजार ३६६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यहाँ उनका प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुर्इंकेल १४ हजार ९०३ र विवेकशील साझाका डा। सूर्यराज आचार्य ७ हजार ४३७ मत ल्याएका थिए।

स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार काठमाडौँ–२ मा एमालेको १७ हजार ३२८, कांग्रेसको १४ हजार १२८, एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपा ७ हजार २०० र माओवादी केन्द्रको ३ हजार १३१ मत देखिएको छ। यो क्षेत्रमा सत्ता गठबन्धनको मत २५ हजार १७० देखिएको छ। 

पूर्वप्रधानमन्त्री नेपाल काठमाडौँ–२ छाडेर आशन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारीमा छन्। उक्त क्षेत्रमा गत प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का अनिल झा विजयी भएका थिए।

२१ हजार ४७२ मतसहित यादव विजयी हुँदा कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत प्राप्त गरेका थिए। यस्तै माओवादी केन्द्रका सत्यनारायण भगतले १२ हजार ३३१ मत ल्याएका थिए।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामअनुसार रौतहट–१ मा नेपालको दल एकीकृत समाजवादीले सवैभन्दा बढी मत ल्याएको छ। निर्वाचन आयोगका अनुसार एकीकृत समाजवादीले १९ हजार ६९८ मत पाएको छ।

यहाँ कांग्रेसले १६ हजार ९२८, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १२ हजार ०६२, जसपाले ८ हजार २४१, माओवादी केन्द्रले ८१९१ र एमालेले ७ हजार ३८५ मत प्राप्त गरेका छन्। पूर्वप्रधानमन्त्री नेपालले आशन्न प्रतिनिधिसभा निर्वाचन लड्ने भनिएको रौतहट–१ मा सत्ता गठबन्धनको पक्षमा ५३ हजारभन्दा बढी मत देखिएको छ।

 

पूर्वप्रधानमन्त्री खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ बट ३६ हजार ८०५ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उक्त क्षेत्रमा कांग्रेसका भुपेन्द्र कट्टेल १९ हजार ६३८ र तत्कालीन संघीय समाजवादी फोरमले २ हजार ५९ मत ल्याएका थिए।

स्थानीय तह निर्वाचनमा इलाम–१ मा वडाध्यक्षहरुले पाएको मतानुसार एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, एकीकृत समाजवादीको ९ हजार ४८१, जनता समाजवादी पार्टी (जसपा)को १ हजार ८२९, माओवादी केन्द्रको १ हजार २३५, राप्रपाको १ हजार १६९ छ। खनालको क्षेत्रमा सत्ता गठबन्धनको पक्षमा ३८ हजारभन्दा बढी मत छ। 

पूर्वप्रधानमन्त्री भट्टराई
जसपाबाट छुट्टिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गत प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उठेका थिए। उनी कांग्रेसको सहयोगमा ३१ हजार ८०७ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए। यहाँ माओवादीलाई एमालेले सघाएको थियो। 

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार गोरखा–२ मा माओवादीको २२ हजार २५०, कांग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपा ७ हजार ५०४, राप्रपाको ८७८ मत देखिएको छ।

यो चुनाव क्षेत्रमा जसपा छोडेर नयाँ दल खोलेका डा. बाबुराम भट्टराईको गठबन्धन सत्तापक्षसँग हुन्छ या एमालेसँग भन्ने स्पष्ट छैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .