ad ad

राजनीति


धरानमा प्रचण्डलाई हर्क साम्पाङको निम्तो, सांसद सुदन किरातीले भने- हामी बिग्रियौँ

धरानमा प्रचण्डलाई हर्क साम्पाङको निम्तो, सांसद सुदन किरातीले भने- हामी बिग्रियौँ

नेपालखबर
साउन २१, २०७९ शनिबार १४:७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन्। सांसद किरातीले शनिबार धरानको सरदु जलाधारक्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएका छन्। 

शनिबार विहानै जलाधार क्षेत्रमा पुगेर किरातीले वृक्षारोपण गरेका हुन्। सांसद किरातीले भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु।’ 

‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्लामा नागरिकसँग संवाद गर्दै र उनिहरुको खेत–बारीमा श्रमसमेत गर्दै आएका किरातीले भने, ‘पहिले यस्तो श्रम माओवादीहरुले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौँ।’ उनले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न पनि आग्रह गरे। 

कुराकानीको क्रममा सांसद किरातीले भने, ‘आज विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ। उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ।’

माओवादी सांसद सुदन किराती

आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिँदा समुदायसमक्ष संकट देखा पर्दै गएको किरातीले बताए। उनले बिग्रिएका राजनीतिक कार्यकर्ताहरुतर्फ इंगित गर्दै भने, ‘एकथरि मान्छेहरुले भन्ने गर्थे कि जनताहरु बिग्रिएर उपभोक्ता समितिमार्फत भ्रष्टाचार गर्छन्। तर, धरानका महान नागरिकहरुले पुष्टि गरे कि नागरिक होइन, हामी राजनीतिक कार्यकर्ताचाहिँ बिग्रिएका हौं।’

आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन्। ‘सांसदज्यू त आइदिनुभयो। अब प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्‍यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने। 

किरातीले मेयर हर्क साम्पाङलाई श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिएका छन्। 

सुदन किराती श्रमदानका लागि आएकोमा खुसी हुँदै हर्क साम्पाङले भनेका छन्–धरानको माटो छुन आउनु भएकोमा माननीय सुदन किराती ज्यूलाई धन्यवाद ! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .