माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन्। नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापान गएका हुन्।
सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापानतर्फ लागेका थिए।
केहीबेर अघिमात्र जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। अध्यक्ष प्रचण्डलाई विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेको उनको सचिवालयले जानकारी दिएको छ।
भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल, गंगा दाहाल तथा सचिवालयका अर्का सदस्य सूर्य किरण पनि छन्।
उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने जानकारी गराइएको छ।
प्रचण्ड जापान गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दिइएको छ।
जापान जानुअघि प्रचण्डले ताइवानलाई लिएर पछिल्लो अमेरिकी कदमको विरोध गरेका थिए।
अमेरिकाको नाम नलिइ उनले माओवादी केन्द्र सधैं एक चीनको पक्षमा रहेको बताउँदै त्यसविरुद्ध जाने जुनसुकै कदमको आफूहरूले विरोध गर्ने उनले जनाएका थिए।
Shares
प्रतिक्रिया